एउटै मन्त्रालय दुई ठाउँमा सञ्चालन
हेटौंडा-बागमती प्रदेशमा एउटै मन्त्रालय दुई ठाउँबाट सञ्चालन भइरहेको पाइएको छ । प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय दुई ठाउँबाट सञ्चालन भइरहेको पाइएको हो । करिव ५ सय मिटरको दुरीमा नै रहेको फरक–फरक दुईवटा भवनमा एउटै बोर्ड राखेर मन्त्रालय सञ्चालन भइरहेको छ । विभाजित मन्त्रालय गाभिएपछि एउटै मन्त्रालय फरक फरक ठाउँबाट सञ्चालन भइरहेको छ । मन्त्रालय र कर्मचारीहरुबीच समन्वय नहुनुको साथै सरकारले पनि चाँसो नदिँदा ५ सय मिटरकै दुरीमा एउटै मन्त्रालयको बोर्ड झुण्ड्याएर फरक फरक कर्मचारीले काम गरिरहेका छन् । हेटौंडा–४ हुप्राचौरमा तत्कालिन भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र सस्ंकृति तथा पर्यटन मन्त्रालय रहेको भवनमा पुरानो मन्त्रालयको बोर्ड हटाएर अहिले ३ वटा मन्त्रालय मिलेर बनेको बोर्ड राखिएको छ । दुवै ठाउँमा बसेर कर्मचारीहरु काम गरिरहेका छन् । तर, यस विषयमा उनीहरु आफै अनविज्ञ रहेको बताउँछन् ।
गत माघ १० गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले तत्कालिन १४ वटा मन्त्रालयलाई कटौती गर्दै ११ वटामा झार्ने निर्णय गरेको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्तारोहण गरेलगत्तै मन्त्रालयको संख्या घटाउने निर्णय गरेका थिए । उनले प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा मन्त्रालयको संख्या निर्धारण कार्यदल बनाएका थिए । कार्यदलले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय, सस्ंकृति तथा पर्यटन मन्त्रालय र भुमी व्यवस्था तथा सहकारी मन्त्रालय कटौती गर्न सरकारलाई सुझाव दिएको थियो । कार्यदलको सुझाव अनुसार सरकारले यी ३ वटा मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाएको थियो । सरकारले ३ वटा मन्त्रालयलाई गाभेर पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय बनाएको दुई साताभन्दा बढि हुँदा मन्त्रालय गाभिएर एकै स्थानमा हुनुपनेमा दुई ठाउँबाट सञ्चालन भइरहेको पाइएको छ ।
बिहिबार तत्कालिन सस्ंकृति तथा पर्यटन मन्त्रालय रहेको भवनबाट मन्त्रालयका सचिव मदन कोइराला निस्किरहेका थिए । उनलाई एउटै मन्त्रालय दुईतिर किन राखियो भन्ने प्रश्न गर्दा सुरुमा उनले दुईतिर राखेको कुरा अस्वीकार गरे । ‘अहिले ३ वटा मन्त्रालय गाभिएपछि बनेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको भवन यही हो । अन्तबाट मन्त्रालय सञ्चालन भएको छैन’, उनले भने । तर,पछि पुरानो सहकारी मन्त्रालय रहेको भवनमा पनि सोहि मन्त्रालय सञ्चालन भइरहेको कुरालाई उनले झुक्किएको भन्दै स्वीकार गरे । उनले मन्त्रालय कताबाट सञ्चालन गर्ने भन्ने विषयमा कर्मचारीहरु झुक्किएको हुनसक्ने भन्दै हटाउन लगाउने बताए ।
उनको प्रतिक्रिया सुनेर सोहि मन्त्रालयको कर्मचारीहरु भने खित्का छोडेर हासिरहेका थिए । कर्मचारीहरुले गम्भिर त्रुटि भएको भन्दै स्वीकार गरे । तत्कालिन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव नारायण प्रसाद ज्ञवाली मन्त्रालय गाभिएपछि कहाँबाट सञ्चालन हुने भन्ने विषय स्पष्ट नहुँदा दुईतीरबाट सञ्चालन हुन पुगेको हुनसक्ने बताउँछन् । ‘३ वटा मन्त्रालय एक आपसमा गाभिएपछि कहाँबाट सञ्चालन हुने भन्ने भएर झुक्किएको हुनसक्छ । हामी तत्काल यहाँबाट मन्त्रालयको बोर्ड हटाउछौ’, उनले भने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले दुई स्थानबाट एउटै मन्त्रालय सञ्चालन भइरहेको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले एउटै मन्त्रालय दुई ठाउँबाट सञ्चालन गर्न नमिल्ने भन्दै एउटा मन्त्रालय हटाइने बताए ।
०७८ कात्तिक ११ गते बागमती प्रदेशमा कांग्रेसको नेतृत्वको गठबन्धनको सरकार बनेको थियो । सरकारको नेतृत्व नेकपा एकिकृत समाजवादीका उपाध्यक्षसमेत रहेका राजेन्द्र पाण्डेले गरेका थिए । ३ दलको समर्थनमा मुख्यमन्त्री बनेका उनले दलहरुबीच भागवण्डा पु¥याउनैको लागि ८ वटा मन्त्रालयलाई विभाजन गरेर १४ पु¥याएका थिए । मन्त्रालय फुटाएको भन्दै सरकारको चर्को
विरोध भएपछि वर्तमान मुख्यमन्त्रीले सत्तारोहण लगत्तै मन्त्रालयको संख्या घटाउने निर्णय गरेका थिए । तर, दलहरुबीचको सत्ता स्वार्थको कारण मन्त्रालय घटाउने र बढाउने खेल हुँदा मन्त्रालय र कर्मचारीहरु बीच असन्तुष्टि बढेको देखिन्छ । जसले गर्दा एकअर्कामा समन्वय नहुँदा एउटै मन्त्रालय दुई ठाउँबाट सञ्चलन भइरहेको छ ।