निवर्तमान मुख्यमन्त्री पाण्डे कानुनविपरित प्रदेशको गाडिमा सरर…
हेटौंडा- बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले अझै प्रदेश सरकारको गाडि फिर्ता नगरेको पाइएको छ । मुख्यमन्त्रीबाट बिदा भएको एक महिना बितिसक्दा पनि उनले कानुनविपरित प्रदेशको महिन्द्रा स्कपिर्यो गाडी प्रयोग गरिरहेका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रदेशबाट बिदा भएका उनले आफूसँगै स्कपिर्यो गाडी पनि लगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदु कार्यालयका अनुसार बा–प्र–०३–००१ झ ०११३ नम्बरको महिन्द्रा स्कपिर्यो पाण्डेले प्रयोग गरिरहेका हुन् । जब की, बागमती प्रदेशमा सवारीसाधन प्रयोग गर्न पाउने सम्बन्धि पूर्वमुख्यमन्त्रीहरुको कुनै सेवासुविधाको कानुन निर्माण भएको छैन् ।
निवर्तमान मुख्यमन्त्री पाण्डेले सवारीसाधन प्रयोग गर्न सक्ने कानुनबिनै प्रदेश सरकारको स्रोतसाधनको दुरुपयोग गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन महाशाखा प्रमुख अनुशिल सापकोटाले पूर्वमुख्यमन्त्रीहरुलाई उपलब्ध हुने सेवासुविधा सम्बन्धी कानुन नबनेको जानकारी दिए ।सेवासुविधा सम्बन्धी छुट्टै कानुन नभए पनि बागमती प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुले प्रयोग गर्ने सवारीसाधन सम्बन्धि कानुन छ । २९ भदौ २०७५ मा प्रदेश राजपत्रमा प्रकाशित सवारीसाधन तथा इन्धन सुविधा सम्बन्धि कानुनले मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।
तर, पाण्डेले राजीनामा दिएकै झण्डै दुई महिना पुग्न लागेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुखसमेत रहेका सचिव निश्चल राज पाण्डेले निवर्तमान मुख्यमन्त्री पाण्डेले लगेको सवारीसाधन फिर्ता नगरेको जानकारी दिए । ‘उहाँले एउटा स्कपिर्यो लानु भएको हो । अहिलेसम्म फिर्ता नभएको जिन्सीबाट खबर प्राप्त भएको छ । तर, हामीले सवारी फिर्ता पठाउन ताकेता गरिरहेका छौं,’ सचिव पाण्डेले भने, ‘कानुनअनुसार त्यसरी सवारीसाधन प्रयोग त गर्न पाईंदैन् ।’ पाण्डेले मुख्यमन्त्री हुँदा दुई वटा सवारी साधन प्रयोग गर्दै आएका थिए ।
उनी सार्वजनिक कार्यक्रमसँगै टाढा जानु परेको अवस्थामा हालका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल चढेको प्रदेश–३–०३–००१झ ००११ टोयटा ल्याण्डक्रुजर प्रयोग गर्थे । पाण्डेले टोयटा ल्याण्डक्रजरसँगै बा(प्र(०३(००१ झ ०११३ नम्बरको स्कपिर्यो पनि प्रयोग गर्ने गरेको मुख्यमन्त्री कार्यालयको जिन्सी शाखाले जानकारी दिएको छ । आफूले प्रयोग गर्ने दुई वटा सवारीसाधनमध्ये स्कपिर्यो उनले लगेका हुन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर सपथ लिएपछि पनि प्रदेशको मुख्यमन्त्रीमै रहेका पाण्डेले ८ पुसमा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । २५ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गठबन्धनबाट जम्मकट्टेल मुख्यमन्त्री भएपछि काम चलाउ सरकार सञ्चालन गरिरहेका पाण्डे काठमाडौं फर्किएका थिए ।
अघिल्लो सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले प्रयोग गर्ने सवारीसाधन फिर्ता ल्याउने जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो । पाण्डे नेतृत्वको सरकारको कार्यकाल सकिने बित्तिक्कै प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको आदेशमा मुख्यमन्त्री कार्यालयले सबै मन्त्रालयहरुमा सूचना जारी गरेर गाडी फिर्ता ल्याउन उर्दी गरेको थियो । तर, सबै मन्त्रालयलाई गाडीको रेखदेख गर्न निर्देशन दिने मुख्यमन्त्री कार्यालयकै गाडी प्रयोग भइरहँदा भने रोचक छ ।
बागमती प्रदेशको पहिलो कार्यकालमा तीन जना मुख्यमन्त्री भएका थिए । जसमध्ये पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले पनि कानुनविपरित आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश
३–०१–००२ झ ४७३९ नम्बरको गाडी प्रयोग गरेर पछि फिर्ता गरेका थिए । त्यतिबेला पौडेलले गाडी प्रयोग गरेर ठिक नगरेको भन्दै पत्रकारहरुसँग पाण्डे गफिने गरेका थिए । पौडेलपछि ७२ दिनका
लागि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले भने सरकारी गाडी प्रयोग गरेकी थिइनन् ।