मकवानपुरमा दूधको मुल्य १४ रुपैयाँ बढाउँदै संघ

साझाकुरा
२०७९ माघ २८, शनिबार १०:४४

हेटौंडा- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरले सरकारलाई लज्जाबोध हुने गरी दूधको मुल्य बढाउने घोषणा गरेको छ ।जिल्लाभरका दूध संकलन गरेर बिक्री वितरण गर्दै आइरहेको संघले किसानहरुलाई हाल कायम मुल्यले मर्का परेको भन्दै दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाउने तयारी गरेको हो । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कँडेलले सरकारको मुख ताकेर बस्दा किसानहरु थप समस्या परेको भन्दै संघले नै मुल्य बढाउने बताए । दुधको लागत मुल्य अनुसार हाल प्रति लिटर ३ रुपैयाँ पनि बचत नभएको भन्दै संघले कृषकको लागि आगामी फागुन १ गतेबाट दुधको मुल्य बढाउने भएको हो ।

संघले लामो समयदेखि सरकारलाई दुधको मुल्य बढाउन दबाब दिंँदै आएको तर, सरकारले सुनुवाई नगरेपछि आफैंले मुल्य निर्धारण गरेर अघि बढ्न लागेको अध्यक्ष कँडेलले जानकारी दिए । उनले संघले मुल्य निर्धारण गर्नु अगाडि सरकारले मुल्य तोक्नुपर्ने बताउँछन् । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले फागुन १ गते देखि लागु हुने गरी दूधको मूल्य वृद्धि गर्न सरकारलाई अल्टिमेटम समेत दिएको हो । संस्थागत रुपमा दुधको मूल्य वृद्धि गर्नका लागि केन्द्रीय दुग्ध सहकारी संघले सरकारसँग गरेको माग प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले एैक्यबद्धता जनाउँदै फागुन १ गते देखि लागु हुने गरी दूधको मूल्य वृद्धि गर्न अल्टिमेटम दिएको हो ।

किसानहरुलाई दुधमा आत्मनिर्भर बनाई विदेशमा समेत निर्यात गर्न सक्ने अवस्था रहेकोमा हाल दूधबाट बनेको दुग्धजन्य पदार्थ छुर्पिसमेत बाह्य मुलुकमा निर्यात भइरहेकोमा हाल कच्चा दूधको मूल्य बृद्धि नहुँदा समस्या भएको कँडेलले बताए । पशुलाई खुवाउने पराल, दाना चोकर, औषधिलगायतको मूल्य अत्याधिक वृद्धि हुँदा समस्या बढेको उनले बताए । कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनुको कारणले गर्दा फ्लस सिजनमा पनि दूध उत्पादनमा ह्रास आइरहेको उनको भनाई छ ।

निर्धारित समयमा दुधको मूल्य बृद्धि नभएमा डेरी उद्योगीहरुको समन्वयमा दूधको मूल्य बृद्धिको घोषणा गरिने संघले जनाएको हो । ‘कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई दूधमा आत्मनिर्भर बनाउन दुधको मूल्य बढाउन पर्ने भएको हो,’ अध्यक्ष कँडेल भन्छन् । संघले असोज १४ गते २९ औं साधारण सभाबाट संस्थाका प्रतिनिधिहरुबाट दुधको मूल्य अविलम्ब वृद्धि गर्र्ने निर्णय गरेर ध्यानाकर्षण गराउदाँ पनि प्रधानमन्त्री कार्यालय गम्भिर नभएको संघको आरोप छ । पशुलाई खुवाउने पराल, दाना चोकर, औषधि लगायतको मूल्य अत्याधिक बृद्धि हुनु, कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा रहेकोले हाल दुधको मूल्यवृद्धि गर्न सरकार समक्ष अनुरोध गरिएको मकवानपुर जिल्ला दुग्ध सहकारी संघले जनाएको छ ।

संघका अनुसार सरकारले यही फागुन १ गतेदेखि दुधको मूल्य बृद्धि नगरेमा कृषकहरु देशब्यापी आन्दोलनका कार्यक्रमहरु सहित सडकमा उत्रनेछन् । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.अन्तर्गत रहेका ६० वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दैनिक करिव ४० हजार लिटर दूध संकलन गरि बिभिन्न उद्योगहरुमा बिक्री बितरण गर्दै आएको छ ।संघले हाल दैनिक ११ हजार परिवारको दूध संकलन गर्दै करिव २७ लाखको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ पु¥याउँदै गरिव विपन्न किसानहरुको आयआर्जनमा टेवा पु¥याउने काम गर्दै आएको संघका ब्यवस्थापक कुमारमणि दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*