पहिलो खेलमा आयोजक मकवानपुर विजयी

मकवानपुर गोल्डकप सुरु
साझाकुरा
२०७९ माघ २९, आईतवार १०:०६

हेटौंडा- हेटौंडामा शनिवारदेखि स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले निर्णायकलाई बल प्रदान गर्दै गोल्डकपको उद्घाटन गरेकी छन् । मकवानपुरमा आयोजना हुने फुटबल प्रतियोगितामध्ये सबैभन्दा ठूलो मकवानपुर गोल्डकपमा शनिवार आयोजक मकवानपुर–११ र नव जनजागृति युवा क्लब सिमराबीच प्रतिस्पर्धा भएको थियो । खेलमा मकवानपुरले सिमरालाई २–० गोलअन्तरले पराजित गरेको छ । सिमरामाथिको जितसँगै मकवानपुर क्वाटरफाइनल प्रवेश गरेको छ । तीन विदेशी खेलाडीलाई मैदान उतारेको मकवानपुरले खेलको १३ औं मिनेटमै अग्रता लिएको थियो ।

मकवानपुरका लागि प्रितम स्याङ्बोले पहिलो गोल गरे । डिबक्सभित्र सट पास खेल्दै विपक्षी खेलाडीलाई छक्याउने दाउमा रहेको मकवानपुरले सिमराका गोलरक्षक रोहन मगर लडेको मौकामा स्याङ्बोले गरेको बल प्रहार सेकेण्डर बारमा लागेर जाली चुम्न पुगेको थियो । मकवानपुरका लागि फागुराम चौधरीले दोस्रो गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा विश्व लामाले दिएको पासलाई
चौधरीले डिबक्स लाइनबाट वान टच प्रहार गर्दै बललाई पोष्टको दिशा दिएका थिए ।दुवै हाफमा नव जनजागृति क्लबमाथि हावी देखिएको मकवानपुरले आधा दर्जन गोल गर्ने सुनौला अबसर खेर फाल्यो । खेलको ७ मिनेटमा फागुराम चौधरीले डिबक्स लाइनबाट प्रहार गरेको फ्रिकिक क्रस बारमा लागेर आकाशिएको थियो । खेलको १६ औं मिनेटमा विश्ल लामाले डिबक्सभित्रबाटै गोलपोष्ट ताकेर हानेको बललाई सिमराका डिफेन्डर निरज मगरले क्लियर गरे ।

उद्घाटन खेलमा आयोजक मकवानपुरका मिडफिल्डर विदेशी खेलाडी एलियु म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार हात पारेका छन् । उद्घाटन खेलमा नव जनजागृतिका जनक कोइरालाले रेड कार्ड पाए । मकवानपुरका प्रितम स्याङ्बोले एक्लै बल अगाडि बढाउँदै गरेको अवस्थामा कोइरालाले हातमा समातेर लडाएपछि रेड कार्ड दिइएको थियो ।
मकवानपुरले अब ५ फागुनमा सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङदीसँग भिड्ने भएको छ । प्रतियोगिताअन्तर्गत् आज आइतबार एक खेल हुँदैछ । क्वाटरफाइनल प्रवेशका लागि समूह ‘बी’मा रहेको ललितपुरको सातदोबाटो क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ । सातदोबाबाटो र एपीएफबीचको विजेताले नेपाल आर्मीसँग अन्तिम चार प्रवेशका लागि ४ फागुनमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

हेटौंडाकी मेयर लामाको प्रमुख आतिथ्यता तथा आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाको सभाध्यक्षता भएको उद्घाटन कार्यक्रममा हेटौंडाका पूर्वमेयरसमेत रहेका गोल्डकपका परिकल्पनाकार हरिबहादुर महत, हेटौंडाका उपप्रमुख राजेश बानियाँ, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, भीमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठ, मकवानपुरगढीकी उपाध्यक्ष मानकुमारी पाख्रिन, हेटौंडाका वडा अध्यक्षहरु सुविन न्यौपाने, सुनिल मोक्तान, सुशिल घिमिरे, दिपक खड्का, जुना दाहाल, पेम्बा लामा, विष्णुलाल महर्जन, प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष सुर्यलाल भण्डारी, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीलगायतको आतिथ्यता रहेको थियो ।

१० फागुनसम्म हुने प्रतियोगितामा आयोजक मकवानपुर–११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा र एभिनियर एफसी क्यामरुनसहित १० वटा टोलीको सहभागिता रहेकोछ । प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् ।

प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडी र खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा हुने प्रतियोगितामा करिब डेढ करोड खर्च हुने आयोजकको अनुमान छ । २०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*