एपीएफको जीतमा खड्काको गोल निर्णायक

साझाकुरा
२०७९ फाल्गुन १, सोमबार ११:२४

हेटौंडा- हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा एपीएफले ललितपुरको सातदोबाटो क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । युवराज खड्काको निर्णायक गोलमा एपीएफ मकवानपुर गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । खड्काले फरवार्ड प्रदीप लामाको पासलाई सदुपयोग गर्दै हेडमार्फत् गोल गरे । खेलको म्यान अफ दी म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार पाए । अब एपीएफले सेमिफाइनल प्रवेशका लागि ४ फागुनमा साविक बिजेता विभागीय टोली त्रिभुवन आर्मी क्बलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसैगरी, प्रतियोगिता अन्तर्गत् आज सोमबार एनआरटी फुटबल क्लब र वीरगञ्ज युनाईटडबीच भिडन्त हुने फुटबल संघ मकवानपुरका सुनिल लोप्चनले जानकारी दिए । शनिबार भएको खेलमा आयोजक मकवानपुर–११ यसअघि नै क्वाटरफाइनल प्रवेश गरिसकेको छ । मकवानपुरले अब ५ फागुनमा सेमिफाइनल प्रवेशका लागि मना· मस्र्याङ्दीसँग भिड्ने छ । १० फागुनसम्म हुने प्रतियोगितामा आयोजक मकवानपुर–११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपीएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब, फ्रेण्ड्स क्लब ललितपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड पर्सा र एभिनियर एफसी क्यामरुनसहित १० वटा टोलीको सहभागिता छ ।

प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउने छन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडी र खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।प्रत्येक खेलका म्यान अफ दी म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा हुने प्रतियोगितामा करिब डेढ करोड खर्च हुने आयोजकको अनुमान छ । २०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलोपटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*