हिमालयन शेर्पा क्वाटरफाइनलमा

साझाकुरा
२०७९ फाल्गुन ३, बुधबार ११:३३

हेटौंडा- हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंको हिमालयन शेर्पा बिजयी भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको खेलमा हिमालयन शेर्पाले सर्लाहीको बागमती युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो । शेर्पाको जीतमा विदेशी खेलाडी यामीले र निशान लिम्बुले एक–एक गोल गरे । बागमतीका लागि सनम धिमालले एक सान्त्वना गोल गरे । खेलको ३८ औं मिनेटमा यामीको गोलबाट हिमालयन शेर्पाले अग्रता लिएको थियो । यामीले डीबक्सभित्रबाट प्रहार गरेको बलियो प्रहार बागमतीका गोलरक्षक अनिष महतोको हातमा लागेर जाली चुम्न पुगेको थियो । खेलको ६३ औं मिनेटमा निशान लिम्बुले गोल गरेपछि हिमालयन शेर्पाले अग्रता दोब्बर बनाउन सक्यो ।

बागमतीका गोलरक्षक महतो बल समात्न पोष्ट छोडेर अगाडि बढेको अवस्थामा लिम्बुले बललाई जाली चुमाए । बागमतीले खेलको ६७ औं मिनेटमा एक गोल फर्काउन सक्यो । बागमतीका सनम धिमालले गोल गर्दै खेलमा फर्किने अवसरलाई कायम राखेका थिए । दिपेश चाम्लिङ राईले करिब ३० यार्ड परबाट सिधै पोष्टमा प्रहार गरेको बल क्रस बारमा लागेर फर्किएको बललाई धिमालले गल्ती नगरी गोल गरे । बागमतीले खेल बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । हिमालयन शेर्पाले ६ फागुनमा काठमाडौंको फ्रेण्ड्स क्लबसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार खेलका म्यान अफ दी म्याच हिमालयन शेर्पाका निशान लिम्बु घोषित भए ।

नगद १० हजार पाएका छन् । प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेल सकिएसँगै आज बुधबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुने जनाइएको छ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत् बुधबार क्यामरुनी टोली एभिनियर एफसी र बीरगञ्ज यूनाइटेडबीच हुनेछ । वीरगञ्ज युनाइटेडले यसअघि काठमाडौंको एनआरटी क्लबलाई हराएको थियो ।जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा बिजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउने छन् भने उपबिजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडी र खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । १० फागुनमा गोल्डकपको फाइनल खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*