मकवानपुरमा खटिए पाँच जना ‘मिसन ग्रासरुट’ कमाण्डर

साझाकुरा
२०७९ फाल्गुन ३, बुधबार ११:३५

हेटौंडा- नेकपा एमालेले दुई महिनासम्म सञ्चालन गर्ने भएको पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत्को ‘मिसन ग्रासरुट’का लागि मकवानपुरमा पाँच जना खटिएका छन् ।
जिल्लामा खटिएका पाँचै जना बाहिरी जिल्लाका हुन् । मकवानपुरका एमाले नेता रामेश्वर राना भने धादिङ पुगेका छन् । ५ फागुनदेखि सुरु हुने ‘मिसन ग्रासरुट’ मकवानपुरको १० वटै स्थानीय तहमा सञ्चालन हुने जनाइएको छ । देशका सात प्रदेश र विशेष प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरेर अभियानको सुरुवात गरिने जनाइएको छ । बागमती प्रदेशमा सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ कमाण्डर रहेका छन् ।

अभियानका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा पार्वत गुरुङ कमाण्डर बनेर आउन लागेका छन् । जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती र बकैया गाउँपालिकामा कमलजंग दनुवार कमाण्डर बनेका छन् । मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा बालिका गिरी, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा गोविन्द दुलाल कमाण्डर भएर आउने तय भएको एमाले मकवानपुरका सचिव
नवीन सिग्देलले बताए । कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकामा कमलप्रसाद चौलागाईंलाई कमाण्डर तोकिएको छ ।

एमालेले केन्द्रीय कमिटी सदस्यहरुलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागेको हो । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका प्रदेश कमाण्डरका रुपमा तोकिएका हुन् । अभियानअन्तर्गत् मकवानपुरका १० वटै पालिका तहमा पार्टीको आन्तरिक कार्यक्रम हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*