क्यामरुनी टोली अन्तिम चारमा

साझाकुरा
२०७९ फाल्गुन ४, बिहीबार ११:१०

हेटौंडा- हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा क्यामरुनी टोली एभिनियर एफसी अन्तिम चारमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधवार भएको खेलमा एभिनियर एफसीले पर्साको बीरगञ्ज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह चरणको खेलमा बीरगञ्ज युनाइटेडले काठमाडौंको चर्चित क्लब एनआरटीलाई हराएर अन्तिम आठमा एभिनियरसँग भेट गरेको थियो । एभिनियर एफसीको जीतमा कप्तान यानिक योह्वाना र साबाले गोल गरे । यानिकले खेलको ३५ औं मिनेटमा गोल गर्दै अग्रला दिलाएका थिए । रिचार्ड वीलशनको सर्ट पासलाई कप्तान यानिकको कडा प्रहार क्रस बार नजिकबाट जाली चुम्न पुगेको थियो । साबाले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

टिम्बाटिम्बाको स्थानमा मैदान प्रवेश गरेका साबाले पहिलो बलमै गोल गरेका हुन् । फ्रिकिक प्रहार गर्ने बेलामा टिम्बालाई परिवर्तन गरेर एभिनियरले साबालाई मैदान प्रवेश गराएको थियो । फ्रिकिक प्रहारपछि विपक्षी गोलपोष्ट ढुकेर बसेका साबाले डिबक्सभित्र पाएको बललाई सिधै पोष्टको दिशा दिएका थिए । अन्तिम आठमा जित निकाल्दै एभिनियर एफसीले ६ फागुनमा हुने हिमालयन शेर्पा र फ्रेण्डस क्लबसँगको विजेतासँग फाइनल प्रवेशका ८ फागुनमा खेल्नेछ । बुधवारको खेलका म्यान अफ दी म्याच बीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद १० हजार पाएका छन् ।

प्रतियोगिताअन्तर्गत् बिहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडी र खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । १० फागुनमा गोल्डकपको फाइनल खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*