अनुभवी खेलाडी चुक्दा आर्मी क्वाटरफाइनलमै रोकियो

साझाकुरा
२०७९ फाल्गुन ५, शुक्रबार ११:०१

हेटौंडा- त्रिभुवन आर्मी पूर्वराष्ट्रिय सदस्यसमेत रहेका अनुभवी खेलाडीमाथि भर पर्दा हेटौंडामा जारी मकवानपुर गोल्डकपबाट बाहिरिएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मी अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित बन्यो । आर्मी मकवानपुर गोल्डकपको डिफेन्डिङ च्याम्पियन हो । मकवानपुर गोल्डकप तीन पटकसम्म जितेको आर्मीले क्वाटरफाइनलबाट पहिलो पटक हार व्यहोरेको छ । एपीएफसँग निर्धारित ९० मिनेटको खेलमागोलरहित बराबरी खेलेको आर्मी पेनाल्टी सुटआउटमा ४–२ गोलले चुकेको हो । आर्मीबाट सुरुवाती प्रहार कप्तान नवयुग श्रेष्ठले गरे । उनको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले एक हातले रोके ।

नवयुगपछि पेनाल्टी हान्न पुगेका दिपक गुरुङको प्रहारलाई पनि नगरकोटीले उत्कृष्ट बचाउ गरे । आर्मीका लागि टेकबहादुर बुढाथोकी र विकास खवासले मात्रै गोल गरे । पेनाल्टी सुटआउटमा चुकेका नवयुग र दिपक दुवै राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडी हुन् । पेनाल्टी सुटआउनको सुरुवातमै अनुभवी खेलाडी पठाएर शतप्रतिशत गोल निकाल्दै एपीएफलाई दबाब दिने आर्मीका प्रशिक्षक नवीन केसीको रणनीति फेल खाँदा एपीएफले उपाधि रक्षाको सम्भावना कायमै राखेको हो । एपीएफका लागि नवीन लामा, सुदीप शिकारकार, सनिश श्रेष्ठ र दिपेक हमालले गोल गरे । अब एपीएफले आज शुक्रबार हुने आयोजक मकवानपुर–११ र मनाङ मस्र्याङ्दी बीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

आर्मीबाट गोलरक्षक विकेश कुथु, कप्तान नवयुग श्रेष्ठ, दिपक गुरुङ, विकास खवास, शेशेहाङ आङदेम्बे, दिनेश हेमजङ, टेकबहादुर बुढाथोकी राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । आर्मीकै दिपेश गुरुङ अण्डर–२० राष्ट्रि टिमका पूर्वसदस्य हुन् । एपीएफमा उमेर समूहको प्रतिनिधित्व गर्दै विगतमा राष्ट्रिय टिमबाट खेलेका मणि लामा, नवीन लामा, श्याम नेपाली, सुदीप शिखाकार मैदानमा थिए । पूर्वराष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले भरिएको आर्मी निर्धारित समयमा एपीएफमाथि हावी देखिएको थियो । फिनिसिङ लाइन कमजोर रहेको एपीएफले दोस्रो हाफमा ५ जनालाई मिडफिल्डबाट खेलाएर आक्रमणको रणनीति बुनाए पनि सफल हुन सकेन् । खेल सकिए पश्चात पत्रकारहरुसँग कुरा गर्दै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले आफ्नो फिनिसिङ लाइन कमजोर रहेको स्वीकारे ।

खेलमा जति नै मिहेनत गरेपनि गोल गर्न नसकेपछि नतिजा आफ्नो पक्षमा नदेखिने भन्दै आर्मीसँगको खेल पेनाल्टी सुटआउटबाट जित्न सकेको घुमाउरो स्वीकारोक्ती महर्जनको थियो । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अबसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको बताए ।एपीएफको बलियो डिफेन्स लाइन तोड्न असफल भएको आर्मीले आधा दर्जन गोल गर्ने राम्रा अबसर खेले फाल्यो । आर्मीका शेशेहाङ आङदेम्बेले खेलको १७ औं मिनेटमा डिबक्स लाइनबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलपोष्ट नजिकैबाट बाहिरियो । ७८ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा डिबक्सभित्र बल अगाडि बढाउँदै गरेका आर्मीका कप्तान नवयुगको खुट्टाबाट एपीएफका डिफेण्डरले बल क्लियर गरिदिए । आर्मीका गोलरक्षक विकेश कुथु गोलपोष्ट छोडेर अगाडि बढेको बेला एपीएफका नवीन लामाले गोल गर्ने अबसरबाट चुक्न पुगेका थिए । एपीएफलाई दबाबमा राखेर खेलेको आर्मीले आशा दर्जन सुनौला अबसर फाल्यो ।

बिहीवारको खेलमा म्यान अफ दी म्याच एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । नगद १० हजार पुरस्कार नगरकोटीले पेनाल्टी सुटआउटमा दुई उत्कृष्ट बचाउ गरेका थिए । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट हुने खेलाडी र खेलाडीले नगद २५–२५ हजार प्राप्त गर्नेछन् । १० फागुनमा गोल्डकपको फाइनल खेल हुनेछ ।

मनाङविरुद्ध आयोजक मकवानपुरलाई कठिन

मकवानपुर गोल्डकप अन्तर्गत् आज शुक्रबार दिउसो आयोजक मकवानपुर–११ र ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङदी आमनेसामने हुँदैछन् । राष्ट्रिय टिमबाट खेलि– सकेका अधिकांश खेलाडी मैदान उतार्ने तयारी गरेको मनाङसँग जित निकाल्न आयोजक मकवानपुरलाई ‘फलामको चिउरा चमाए जस्तै’ हुने देखिन्छ । अनुभवी खेलाडी नभएको र फिनिसिङ लाइनमा कमजोर देखिएको मकवानपुरले यसअघि उद्घाटन खेलमा मोफसलकै नव जनजागृति क्लब सिमरालाई हराएर क्वाटरफाइनल पुगेको थियो । गोल्डकपको विगतका संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दा ताकाका उत्कृष्ट खेलाडी हाल मकवानपुरमा छैनन् । मकवानपुरले ए डिभिजन लिग खेलिसकेका गोलरक्षक अशोक बरालसहित ३ जना अफ्रिकन खेलाडीलाई उद्घाटन खेलमा उतारेको थियो ।

मनाङसँगको खेलमा भने ए डिभिजन लिग खेलेका थप २ खेलाडी मैदानमा उत्रिन लागेको प्रशिक्षक विजयलाल श्रेष्ठले बताए । मकवानपुरमा अधिकांश खेलाडी मोफसलमै जमेका र बी तथा सी डिभिजन खेलेका खेलाडी छन् । मनाङले १९ फागुनदेखि काठमाडौंमा सुरु हुने ए डिभिजन लिगको नयाँ सिजनका लागि अनुबन्ध गरेका दुई नयाँ विदेशी खेलाडीलाई पनि मकवानपुरविरुद्ध उतार्ने सम्भावना छ । ए डिभिजन किर्तिमानी ८ पल्टको च्याम्पियन मनाङले नयाँ सिजनको लागि सन् २०१४÷१५ मा बार्सिलोनाको सिनियर टोलीबाट खेलेका सेनेगलका डिफेन्डर दिवान्दु डियाग्ने नियाङ र उज्वेकिस्तानका विंगर सेडजामोललाई अनुबन्ध गरेको छ ।सेट मिलाउनका लागि पनि मनाङले दिवान्दु डियाग्ने र विंगर सेडजामोललाई मकवानपुरविरुद्ध खेलाउन सक्ने सम्भावना रहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*