रैथानेबालीको प्रवद्र्धन गर्न प्रतिवद्ध छु: पोखरेल

साझाकुरा
२०७९ फाल्गुन ५, शुक्रबार ११:१०

हेटौंडा- बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले रैथानेबालीको प्रवद्र्धन गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् । बिहिबार कृषि विकास निर्देशनालय हेटौंडाले आयोजना गरेको रैथानेबाली प्रवद्र्धन सम्बन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले रैथानेबालीको विस्तार र प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताएका हुन् । उनले आफूले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा समेत रैथानेबालीको प्रवद्र्धन र बजारीकरणको विषय समावेश गरेको भन्दै प्रतिवद्धता पूरा गर्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।

रैथानेबालीको प्रवद्र्धन गर्ने मन्त्रालय मातहतका कार्यालयको योजना महिला समुह लक्षित हुनु पर्ने उनको भनाई छ । रैथाने विउ जोगाउन जोन एरिया तोकेर काम गर्नु पर्ने भन्दै उनले त्यसको लागि आवश्यक गृहकार्य गर्न निर्देशनालयलाई मन्त्री पोखरेलले निर्देशनसमेत दिए । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न र निर्वाहमुखी किसानको आय स्रोत बढाउने योजना ल्याउन मन्त्रालयले गृहकार्य गरिरहेको उनको भनाई छ ।हेटौंडामा रहेको मत्स्य विकास केन्द्रलाई प्रदेश मातहत ल्याउन आफुले संघमा पत्रचार गरिसकेको र छिटै नै प्रदेश मातहतमा ल्याएर स्रोत केन्द्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको मन्त्री पोखरेलको भनाई छ ।

त्यस्तै मन्त्रालयका सचिव डा शरण पाण्डेले रैथानेबालीको संरक्षण भन्दा प्रवद्र्धनमा विशेष जोड दिनु पर्ने बताएका छन् । सम्भव भएसम्म आ–आफ्नो भान्छामा रैथाने खानाको प्रयोग गर्नु पर्ने उनले बताए । सचिव पाण्डेले मन्त्रालय बालि प्रवद्र्धन र प्रयोगमा बजेट विनियोजन गर्न तयार रहेको बताए । कार्यक्रम कृषि विकास निर्देशनालय बागमती प्रदेशका प्रमुख भरतप्रसाद विडारीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*