‘हेटौंडा सिमेन्ट कपडा उद्योगको अवस्थामा पुग्नु हुँदैन’

साझाकुरा
२०७९ फाल्गुन १०, बुधबार १३:१०

हेटौंडा- बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले हेटौंडा औद्योगिक क्षेत्रभित्र अवशेषमात्रै बाँकी रहेको हेटौंडा कपडा उद्योगलाई सम्झिँदै चालू हालतको हेटौंडा सिमेन्टलाई कपडा उद्योगको अवस्थामा पुग्नु दिन नहुने बताएका छन् । समग्र उद्योग ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले हेटौंडा सिमेन्टलाई निजी सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धा गर्ने गरी अगाडि बढाउनु पर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले सम्झिएको कपडा उद्योग वर्षौं अगाडि नै बन्द भइसकेको हो । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योगले स्थानीय करिब १ हजार जनालाई प्रत्यक्ष, अप्रत्यक्ष
रोजगारी दिएको थियो ।

तत्कालीन सरकारको कमजोरीका कारण चिनियाँ प्रविधिको कपडा उद्योग बन्द हुन पुगेको थियो । मकवानपुरमा रहेका सरकारी स्वामित्वका उद्योगहरुमध्ये हेटौंडा सिमेन्ट हालसम्म पनि सञ्चालनमा छ । तर, हेटौंडा सिमेन्टलाई पूर्ण क्षमतमा सञ्चालन गर्न सरकारले सकेको छैन । पुराना प्रविधि र ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानसँग मिल्दाजुल्दा काम गर्ने शैलीले हेटौंडा सिमेन्ट थप धराशायी बन्दै गइरहेको छ । जीर्ण अवस्थामा पुगेको हेटौंडा सिमेन्टलाई निजी सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धा गर्नसक्ने गरी सञ्चालन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका हुन् । उनले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।

‘स्वर्णीम इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो अवस्था व्यहोर्न हुँदैन’, मन्त्री श्रेष्ठले भने । हेटौंडा सिमेन्ट उद्योगमा रहेका समस्यालाई सुधार गर्दै उद्योललाई बजारमा आएका प्राईभेट उद्योगसँग प्रतिस्पर्धी गर्ने क्षमता बिस्तार गर्नुपर्ने उनको भनाइ छ । हेटौंडा सिमेन्ट जस्तो प्रतिष्ठित उद्योगको कारण हेटौंडलाई देशभर औद्योगिक नगरको रुपमा चिनिएको भन्दै उनले सिमेन्ट उद्योगलाई जोगाएर प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सहकार्य गरेर अघि बढने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*