मनाङले जित्यो मकवानपुर गोल्डकपको उपाधि

साझाकुरा
२०७९ फाल्गुन ११, बिहीबार ०९:१६

हेटौंडा- हेटौंडामा जारी पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको उपाधि ए डिभिजन क्लब मनाङ मस्र्याङ्दीले जितेको छ । मनाङले हेटौंडा उपमहा नगरपालिका–५, स्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले निरीह बनायो । मनाङको जीतमा रोशन रानामगर नायक बने । उनले खेलको ७८ औँ मिनेटमा मनाङलाई अग्रता दिलाए । उज्वेकिस्तानका विंगर सेडजामोल डेबुलेशनको कर्नर प्रहार हिमालयनका डिफेन्डरले क्लियर गर्ने क्रममारिबाण्ड भएर आलेको खुट्टामा पुगेको बललाई उनले फष्ट बार नजिकैबाट जाली चुमाए ।

मनाङले उपाधिसँगै १५ लाख रुपैयाँ पाएको छ । उपबिजेता हिमालयन शेर्पाले १० लाख प्राप्त गरेको छ । प्रतियोगितामा राष्ट्रिय टिमका सदस्यसमेत रहेका मनाङका कप्तान गोलरक्षक दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको रोयल इन्फिल्ड बुलेट मोटरसाइकल पाए । उत्कृष्ट गोलरक्षक उनै कार्की हुँदा उत्कृष्ट फरवार्ड शेर्पाका योउमी, मिडफिल्डर मनाङका कमल थापा, डिफेन्डर हिमालयन शेर्पाका अमृत श्रेष्ठ र प्रशिक्षक मनाङका किरन श्रेष्ठ चुनिए । उनीहरुले जनही २५–२५ हजार हात पारे । फाइनल खेलको म्यान अफ दी म्याच चुनिँदै गोल कर्ता मगरले १० हजार पाए ।

मनाङ र हिमालयन शेर्पाले पहिलो हाफ बराबरी खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको ९ औं मिनेटमा हिमालयनका फरवार्ड योउमीले डिबक्सभित्र वान भर्सेज वानको अवस्थामा प्रहार गरेको बल मनाङका गोलरक्षक दीप कार्कीको खुट्टामा लागेर बाहिरिएको थियो । खेलको ४४ औं मिनेटमा मनाङका भिषण गुरुङले करिब १६ यार्डबाट प्रहार गरेको शक्तिशाली प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

मकवानपुर गोल्डकपको पाँचौ संस्करसम्म आइपुग्दा फाइनल पुगेको पहिलोपटक मनाङले उपाधि उचालेको छ । २०६४ सालमा दोस्रो जनआन्दोलन सहिद स्मृति गोल्डकपका रुपमा आयोजित प्रतियोगिता थ्रीस्टारले जितेको थियो । प्रतियोगिताको दोस्रो संस्करण २०७५ सालमा आयोजक मकवानपुर विजयी बन्दा त्यसपछिका दुई गोल्डकप संस्करण विभागी टोली त्रिभुवन आर्मीले जितेको थियो । हिमालय शेर्पा पनि मकवानपुर गोल्डकपको फाइनलमा पहिलोपटक पुगेको थियो ।

डिफेन्डिङ च्याम्पियन आर्मी क्वाटरफाइनलबाटै बाहिरिएसँगै मकवानपुर गोल्डकपले मनाङलाई नयाँ बिजेता पाएको हो । मनाङसँग बार्सिलोनाका पूर्वडिफेन्डर सन् २०१४–०१५ मा बार्सिलोनाको सिनियर टोलीबाट खेलेका सेनेगलका दिवान्दु डियाग्ने नियाङ उज्वेकिस्तानका खेलाडी सिडजामोल डेबुलेशन जस्ता अनुभवी खेलाडी थिए । हिमालयनसँग पनि माउसालगायतका नेपालमा यसअघि विभिन्न प्रतियोगिता खेलिसकेका दुई अफ्रिकन खेलाडी थिए । तर, हिमालयनले फाइनलमा डिफेन्डर माउसालाई खेलाएको थिएन । माउसावको स्थानमा दिवास उराउले डिफेन्स लाइन सम्हालेका थिए । कप्तान विश्वास श्रेष्ठ पनि खेलको बीचमै मैदान बाहिरिएका थिए ।

मनाङले सेमिफाइनल खेलमा एपीएफ क्लब र हिमालयनले क्यामरुनी टोली एभिनियर एफसीलाई पाखा लगाउँदै उपाधि नजिक पुगेका थिए । नेपाली फुटबलमा मनाङ र हिमालयन शेर्पाको प्रतिस्पर्धा भने रोमाञ्चक छ । मनाङ र हिमालयन शेर्पा करिब १ वर्षपछि भेट्दै छन् । विगतका प्रतिस्पर्धालाई हेर्दा हिमालयन शेर्पाको स्थापना र उसले माथिल्लो डिभिजनमा खेल्न थालेदेखि मनाङ मस्र्याङदीको बलियो प्रतिद्वन्द्वी भएर अगाडि आएको छ । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा यिनै दुई टिम भिडेका थिए । जसमा मनाङले जितेको थियो । फागुन २०७८ मै मनाङ मस्र्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा हिमालयन शेर्पालाई हराएर पुगेको थियो । हिमालयन शेर्पाले वर्ष ०६८ देखि ए डिभिजनमा खेल्न थालेको थियो ।

हालसम्म मनाङ र हिमालयनबीच ए डिभिजन लिगमा कूल ६ भेट भएकोमा मनाङले धेरै जितेको छ । यी ६ खेलमा मनाङ चारपटक विजेता रहेको छ भने एकपटक हिमालयन शेर्पाले जीत निकालेको थियो । २०६८ मा लिग खेलेपछिको पहिलो भेटमै हिमालयन शेर्पा मनाङसँग १–२ ले पराजित बनेको थियो । मनाङ वर्ष २०६९ मा १–० गोलले विजयी बन्यो । २०७५ मा मनाङ २–१ ले विजयी रह्यो । वर्ष ०७० मा भने हिमालयन शेर्पाले मनाङलाई २–१ ले हराएको थियो । २०७६ मा हिमालयनले मनाङलाई गोलरहित बराबरीमा रोकेको थियो ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको समापन कार्यक्रममा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो । संघका अध्यक्ष टीकाराम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, निवर्तमान बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, बागमती गाउँपालिका अध्यक्ष शर्केस घलान, अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, हेटौंडाका वडाअध्यक्षहरु सविन न्यौपाने, दीपक खड्का, सुनिल मोक्तान, सुशील घिमिरे, फुर्वा दोर्जे लामा, दामोदर गौतम, विष्णुबहादुर दाहाल, विष्णुगोपाल महर्जनलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*