शिवशिखर सहकारीमा ताला लागेपछि बचतकर्ता आन्दोलित

साझाकुरा
२०७९ फाल्गुन ११, बिहीबार ०९:२१

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४, पारिजातपथस्थित शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ता आन्दोलित बनेका छन् । शिवशिखर सहकारीमा ताला लगाएर सञ्चालकहरु सम्पर्क विहीन भएपछि बचतकर्ताहरुले बुधबार सहकारीद्वारा सञ्चालित डिपार्टमेन्ट स्टोरमा पनि ताला लगाएका थिए । शिवशिखरका सञ्चालकहरु सम्पर्क विहीन बनेपछि हेटौंडाका बचतकर्ताहरु तनावमा पर्नुकासाथै सरोकारवाला निकायसँग जोखिममा परेको बचत रकम संरक्षणका लागि अनुरोधगरेका छन् । सहकारीमा ताला लागेपछि करोडौं रुपैयाँ बचत जोखिममा परेको हो । सहकारीमा हेटौंडाका स्थानीयहरुले १० हजारदेखि एक करोड रुपैयाँसम्म बचत गरेको पाइएको छ । शेयर सदस्य बिमल उप्रेतीका अनुसार एक बचतकर्ताले ८६ लाख रुपैयाँसम्म रकम जम्मा गरेका थिए ।

बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरुले ढोकामा ताल्चा लगाएको देखेपछि अन्य शेयर सदस्यहरुलाई बोलाएर आन्दोलन गरेका हुन् । हेटौंडामा पुस २०७७ मा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो । हेटौँडामा यो सहकारीको १६ औं शाखा हो । सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायत वस्तु बिक्री हुने गरेको छ । सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरुले मार्ट घेराबन्दी
गरिरहेका छन् ।

शिवशिखर सहकारीले बचत फिर्ता मागेपछि करिब एक महिना अगाडि नै ताला लगाएको थियो । बचतकर्ताहरुको दबाबपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो । रकम फिर्ता गर्ने सहमतिको म्यादसमेत गुज्रिइसकेको र हाल सञ्चालकहरु फरार रहेको अर्का बचतकर्ता सुवास चौलागाईले बताए । आफूले १०–१० हजार रुपैयाँ जम्मा गरेर डेढ लाख बचत गरिसकेको चौलागाईको भनाइ छ ।

सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीच अफ रहेको बचतकर्ता उप्रेतीले साझाकुरालाई जानकारी दिए । ‘हामी यहाँ आएर फोन गरेको सबैको फोन स्वीचअफ छ । सबै भागिसके भन्ने सुन्नमा आएको छ’, उनले भने– ‘एउटै व्यक्तिको ८६ लाखसम्म छ । १० लाखदेखि ३० लाखसम्म बचत गर्ने त धेरै हुनुहुन्छ’, उप्रेतीले सुनाए । आन्दोलित बचतकर्ताहरुले बुधबार डिमार्टमेन्ट स्टोर बन्द गरेका छन् । स्टोरको सामान पनि बिक्री गरेर सकिएपछि थोरै रकम पनि उठ्न नसक्ने भन्दै उनीहरुले बन्द गरेको बताए । बचतकर्ताहरुले सहकारीमा लगानी गरेकाहरुको नामावली तयार पारेर हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयमा बुझाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*