बागमतीको सत्ताबाट राप्रपा बाहिरिए पनि सरकार सुरक्षित

साझाकुरा
२०७९ फाल्गुन १४, आईतवार ०९:१५

हेटौंडा- बागमती प्रदेश सरकार गठन भएको करिब दुई महिना हुनै लाग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै बागमतीमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । राप्रपाका चार जना पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको संघीय सरकारमा मन्त्री थिए । उनीहरुले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाइकेका छन् । राप्रपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशमा पनि सोहीअनुसार हुने निर्णय गरेको छ । जसकारण बागमती प्रदेशमा पनि राप्रपा
सरकारबाट बाहिरिएको हो ।

राप्रपाले केन्द्र सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिने निर्णय गरेपछि बागमतीमा पनि राप्रपाका मन्त्रीहरुले सरकार छोड्ने निर्णय लिएका छन् । बागमतीमा राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्ट सरकारमा छन् । शनिबार साँझ बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै राप्रपाका संसदीय दलका नेता थापाले प्रदेश सरकारबाट बाहिरिने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा लागेको भागबण्डाअनुसार बागमतीमा सभामुख राप्रपाले पाउनुका साथैसरकारमा ३ जना मन्त्री लिएको थियो । सभामुख राप्रपाका भुवन पाठक छन् । प्रदेशसभामा १३ सिट रहेको राप्रपाबाट थापा विना विभागीय मन्त्रीका रुपमा २५ पुसमा नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ११ माघमा मात्रै खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिएका थिए । तामाङ र विष्ट ११ माघमा मन्त्रिपरिषद् विस्तार गर्दा नियुक्त भएका थिए ।

राप्रपा संसदीय दलका नेता तथा मन्त्री थापाले पार्टीको निर्णयअनुसार बागमती सरकारबाट बाहिरिएको बताए । बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा सरकार गठन भएको थियो । मुख्यमन्त्री जम्मकट्टेलले सरकारमा एमाले र राप्रपालाई मात्रै सहभागी गराएका थिए । जम्मकट्टेललाई नेपाली कांग्रेससहित सरकारलाई समर्थन गरेका सबै दलले विश्वासको मत दिएका थिए । प्रदेशसभामा ३ सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने निरन्तर प्रतिपक्षीको भूमिका छ ।

एमालेले भने तत्काल बागमती सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजन मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । उनले हाल राष्ट्रिपति निर्वाचनको तयारीमा जुटिरहेकोले सरकारको विषयमा के गर्ने भनेर निर्णय लिइनसकेको बताए । थपलियाले पार्टीको केन्द्रीय निर्णयअनुसार नै प्रदेशसभामा भूमिका निर्वाह गरिने बताए । उनको भनाइअनुसार बागमतीमा पनि एमालेले २५ फागुनसम्म सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । बागमतीमा एमालेले ४ वटा मन्त्रालय भागबण्डामा लिएको थियो ।

बागमती प्रदेशसभामा कूल ७ वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा एमालेको २७, माओवादीको २१ र राप्रपाको १३ सांसद छन् । यी ३ दलको मत जोड्दा ६१ हुन्छ । जुन सरकार गठनको लागि बहुमत थियो । सरकार गठन हुँदा सत्ता गठबन्धनबाहिर रहेको नेपाली कांग्रेससँग ३७, समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत थियो । एकसय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद् भए पुग्छ । नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएसँगै बहुमत पुगेकाले मुख्यमन्त्री जम्मकट्टेल अल्पमतमा पर्दैनन् । उनलाई कांग्रेस र एकीकृत समाजवादीले यसअघि नै विश्वासको मत दिइसकेकाले जम्मकट्टेल सुरक्षित छन् ।

राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ सत्ता समीकरण अनुसार बागमतीका मुख्यमन्त्री जम्मकट्टेल बहुमतमै छन् । उनलाई ३ माघमा प्रदेशसभा बैठकमा उपस्थितमध्ये १ सय ५ सांसदले विश्वासको मत दिएका थिए । वर्तमान सरकारमा नरहेका तर समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी तथा प्रतिपक्षमा रहेको कांग्रेसले पनि मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएको हो । नेपाल मजदुर किसान पार्टीका तीन सांसदले विपक्षमा मत हालेका थिए । एक जना सांसद भने अनुपस्थित भए ।

मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिए पनि कांग्रेसले प्रदेशसभामा प्रतिपक्षको भूमिका रहने जनाएको थियो । अब नयाँ सत्ता समीकरण राष्ट्रपति निर्वाचन पछिसम्म कायम रहे बागमतीमा नयाँ सरकार गठन हुनेछ । नयाँ गठबन्धनमा भागबण्डा टुंगिनसकेकाले बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नै रहन्छन वा रहँदैनन् भन्ने यकिन छैन । गठबन्धनको भागबण्डा अनुसार जम्मकट्टेल नै मुख्यमन्त्री रहने अवस्थामा एमाले र राप्रपाले लिएको मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीको दाबी रहने देखिन्छ । माओवादी केन्द्रका सांसद प्रेमबहादुर पुलामी नयाँ गठबन्धनबाट पनि जम्मकट्टेल नेतृत्वकै सरकार बन्ने दाबी गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*