दीपक सिंह ३९ दिनमै सरकारबाट बाहिरिए

साझाकुरा
२०७९ फाल्गुन १४, आईतवार ०९:२१

हेटौंडा- नयाँ सत्ता समीकरण बनेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार दिएको समर्थन फिर्ता लिँदा मकवानपुरका दीपकबहादुर सिंह सरकारबाट बाहिरिएका छन् । मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचित सिंह नेकपा माओवादी केन्द्र नेतृत्वको संघीय सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका थिए । ३ माघमा नियुक्त भएका सिंहले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएका हुन् । सिंहसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना मन्त्रीहरुले संयुक्तरुपमा राजीनामा बुझाएका हुन् ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी ऊपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंह थिए ।यसअघि बसेको राप्रपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । मकवानपुरका सिंह प्रतिनिधिसभामा निर्वाचन जितेको पहिलो पटकमै मन्त्री बनेका थिए । तर, उनले ३९ दिनमात्रै सरकारमा बसेर काम गर्ने अबसर पाए । मकवानपुरमा लगातार चार पटकसम्म संघीयदेखि स्थानीय तह निर्वाचन हारेका सिंहको पहिलो सरकार यात्रा छोटो रहन गयो ।

प्रतिनिधिसभामा सिंहले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र नेकपा एमालेको सूर्य चिन्हबाट लडेका राप्रपा नेपाल अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गरेका थिए । सिंहले चुनाव जित्दा डीना दोस्रो र थापा तेस्रो भएका थिए । सिंहले कांग्रेस सहमहामन्त्री डीनालाई २ हजार ३ सय ८२ मतान्तरले हराएका हुन् । सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा डीनाले २५ हजार ५ सय ३४ मत पाएकी थिइन् भने थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचन लड्नुअघि सिंहले हेटौंडाको मेयर पदका लागि पनि प्रतिस्पर्धा गरेका थिए । मेयरमा सिंहले २० हजार ५ सय ३१ मत ल्याएर पनि चुनाव जित्न भने सकेनन् । स्थानीय तह निर्वाचन हारेलगत्तै संघीय निर्वाचनको तयारीमा होमिएका सिंहले पाँचौ पटकको प्रयासमा विजय हासिल गरेका थिए । मकवानपुरबाट मन्त्री हुनेको सूचीमा सिंह पाँचौ नम्बरमा परेका थिए ।
मकवानपुरबाट यसअघि मन्त्री हुनेमा कमल थापा, एमालेका हिरण्यलाल श्रेष्ठ, कांग्रेसबाट महालक्ष्मी उपाध्याय डीना, इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा हुन् । जसमध्ये थापा र खतिवडा मन्त्री भए भने अन्य राज्यमन्त्री बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*