राष्ट्रपति निर्वाचनसम्म बागमतीमा सरकार विस्तार नहुने
हेटौंडा-राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रीय सत्ता समिकरण परिवर्तन भएपछि त्यसको प्रभाव बागमती प्रदेशमा पनि परेको छ ।बागमतीमा सत्ता साझेदार दल राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै तीन मन्त्रीले राजिनामा दिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा परेका छन् । तर, नयाँ सत्ता समिकरणका कारण उनलाई सरकार र प्रदेश सभामा संकट भने छैन् । राप्रपा संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा शहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजिनामा बुझाएपछि बागमतीमा ३ मन्त्रालय रिक्त छ । उक्त मन्त्रालय मुख्यमन्त्री जम्कट्टेल आफैंले राखेका छन् ।
रिक्त रहेको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, पर्यटन उद्योग तथा शहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा तत्काल नयाँ मन्त्री नियुक्त नहुने भएको छ । नयाँ सत्ता समिकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी रहेपनि हाल सरकार विस्तार नहुने भएको हो । एमालेले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसम्म सरकारलाई दिएको समर्थन कायम राख्ने एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।
राष्ट्रपति निर्वाचनसम्म नयाँ सत्ता समीकरणमा चामत्कारिक फेरबदल नआए बागमतीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको सरकार गठन हुने लगभग पक्का छ । मुख्यमन्त्री जम्कट्टेलले २५ फागुनमा हुने राष्ट्रपनि निर्वाचनपछि मात्रै सरकार विस्तारको योजना बनाएका छन् । तर, राष्ट्रपति निर्वाचन पछि पनि सम्भावित राजनीतिक घटना क्रमलाई अहिले नै भन्न सकिने सांसदहरु बताउँछन् । २५ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार गठन भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघिको कांग्रेस सहितको पुरानै गठबन्धनमा बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदा बागमती कांग्रेसले पाउनेमा कांग्रेस सांसदहरु ठुक्क थिए ।
तर, प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाएपछि भागबण्डामा बागमतीको नेतृत्व माओवादीले पाएको हो । अबको गठबन्धनमा बागमती कसको भागमा पर्ने भन्न नसकिने कांग्रेस नेताहरुको भनाई छ । ‘बागमतीमा माओवादीले पनि नछोड्ला तर, हाम्रो पनि दाबी रहन्छ । भागबण्डा भएपछि मात्रै टुंगिएला,’ कांग्रेस एक सांसदले भने । अब नयाँ सत्ता समीकरण राष्ट्रपति निर्वाचनपछिसम्म कायम रहे बागमतीमा मन्त्रीमण्डल पुनः गठन हुनेछ । नयाँ गठबन्धनमा भागवण्डा टुंगिइनसकेकाले बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नै रहन्छन् वा रहँदैनन् भन्ने यकिन छैन । गठबन्धनको भागबण्डाअनुसार जम्मकट्टेल नै मुख्यमन्त्री रहने अवस्थामा एमाले र राप्रपाले लिएको मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीको दाबी रहने देखिन्छ ।
माओवादी केन्द्रका सांसद प्रेमबहादुर पुलामी नयाँ गठबन्धनबाट पनि जम्मकट्टेल नेतृत्वकै सरकार बन्ने दाबी गर्छन् । उनले मुख्यमन्त्री जम्कट्टेल नै मुख्यमन्त्री हुने र कांग्रेस तथा एकीकृत समाजवादीलाई
सरकारमा सहभागी गराउने बताए । तर, बागमतीमा कांग्रेसले मुख्यमन्त्री दाबी गरे माओवादी केन्द्रलाई अप्ठेरो पर्ने देखिन्छ । एमालेसँग मिलेरसरकार बनाएको २ महिनामै साथ छोडेको माओवादीलाई आगामी दिनमा कांग्रेसको साथ अपरिहार्य छ । पुनः एमालेसँग मिल्न जाने ढोका तत्काललाई बन्द भएको र सबैभन्दा ठूलो दल कांग्रेसको साथ महत्वपूर्ण रहेकाले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको माग सम्बोधन गर्नुपर्ने दबाब रहन्छ ।
बागमती प्रदेशसभा कुल ७ वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा एमालेको २७, माओवादीको २१ र राप्रपाको १३ सांसद छन् । नेपाली कांग्रेससँग ३७, समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद भए पुग्छ । बागमतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ । एकीकृत समाजवादीको मत थप हुन आउनेछ । मुख्यमन्त्री जम्मकट्टेललाई ३ माघमा प्रदेशसभा बैठकमा उपस्थितमध्ये १ सय ५ सांसदले विश्वासको मत दिएका थिए । वर्तमान सरकारमा नरहेका तर समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी तथा प्रतिपक्षमा रहेको कांग्रेसले पनि मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएको थियो ।