‘हेटौंडा कपडा उद्योग चलाउने गफ भयो, कार्यान्वयन भएन’

साझाकुरा
२०७९ फाल्गुन १६, मंगलवार ११:१७

हेटौंडा- बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको विषयमा केन्द्रीय सरकारका मन्त्रीहरुले ‘गफ’को विषय मात्र बनाएको
आरोप लगाएका छन् ।उद्योग वाणिज्य संघ मकवानपुरले हेटौंडामा गरेको ‘इम्प्लोयर्स मिट’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालकै गौरवको रुपमा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको विषयमा केन्द्रीय सरकारका मन्त्रीहरुले हेटौंडामा आएर प्राथमिकता सहित बोल्ने तर कार्यन्वयनको पक्षमा भने कुनै पहल नगरेको बताए । विश्वव्यापी फैलिएको कोरना, विभिन्न चरणमा भएका युद्धहरुले नेपालको अर्थतन्त्रमा समस्या आएको बताउँदै मन्त्री श्रेष्ठले अर्थतन्त्रमा आएको समस्याले उद्योगहरुमा ठुलो समस्या ल्याएको बताए ।

नेपालमा हुने गरेको अस्थिर राजनीतिक घटनाक्रमले पनि अर्थतन्त्रमा समस्या ल्याएको मन्त्री श्रेष्ठको भनाई छ । जनताहरुले स्थिर राजनीति र सरकार चाहेको भएपनि त्यो हुन नसक्दा समस्या भएको बताए । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक वर्षभित्र १० हजार नागरिकलाई तालिम दिएर दक्ष जनशक्ति बनाउने अभियानमा आफु रहेको भन्दै दक्ष जनशक्ति भएको अवस्थामा आफुहरु अन्य मूलुकका दक्ष कामदारसँग भर पर्न नपर्ने बताए । श्रेष्ठले देशको राजनीतिमा देखिएको अस्थिरताले अर्थतन्त्रमा पनि समस्या आएको बताए ।

स्थिर राजनीतिक अवस्थाको सृजना नहुँदा लगानीकर्ताहरुमा पनि अन्योलता बढेको र अर्थतन्त्रमा समेत नकारत्मक असर परेको उल्लेख गरेका छन् । नेपालमा अझै उद्योगहरुको लागि दक्ष जनशक्ति कम रहेको उनको भनाई छ । उद्योग प्रतिष्ठानहरुको आवश्यकता अनुुसारको दक्ष जनशक्ति उत्पादन एवम् आपूर्ती गरी रोजगारी सृजना गर्ने प्रमुुख उद्देश्यले अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा कार्यस्थलमा आधारित सिप विकास तालिमहरु संचालन गरिरहेको र सोही सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ तथा मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवसीय ईम्प्लोयर्स मिट (रोजगारदाता भेला) कार्यक्रम हेटौंडामा भएको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति उज्वल चौलागाईको सभापतित्व तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा श्रम तथा यातायात कार्यालय हेटौंडाका कारखाना निरीक्षक चन्द्र नारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका विज्ञ खेमराज काफ्ले, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव दिपक उप्रेती, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा एम एम पोलिमर्सका महाप्रवन्धक विजय कुमार वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक तथा परियोजना संयोजक अजित गुप्ता, उद्योगपति बासु कार्कीलगायत विभिन्न उद्योग प्रतिष्ठानका प्रवन्धकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक तथा परियोजना संयोजक अजित गुप्ताले आफ्नो प्रस्तुतिकरण दिएका थिए ।कार्यस्थलमा आधारित तालिम सम्बन्धी प्रस्तुतिकरण नेपाल उद्योग वाणिज्य महासंघका विज्ञ खेमराज काफ्लेले दिए । कार्यक्रमका सहभागीहरुबाट प्रश्नावली अनुसार सूचना संकलन तथा समूहगत कार्य तथा प्रस्तुतिकरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*