वर्ष खेलाडीको मनोनयनमा हेटौंडेली अञ्जन

साझाकुरा
२०७९ फाल्गुन १७, बुधबार ०९:५७

हेटौंडा-नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को वर्ष खेलाडी पुरुषतर्फ फुटबलबाट हेटौंडेली अञ्जन विष्ट मनोनयनमा परेका छन् ।वर्ष खेलाडीमा पुरुषतर्फ क्रिकेट र फुटबलका समान दुई र ब्याड्मिन्टनका एक खेलाडी गरी पाँच जना मनोनयनमा परेका थिए । जसमध्ये फुटबलबाट हेटौंडा–१० घर भएका फुटबल स्टार अञ्जन पनि मनोनयनमा परेका हुन् । मञ्चले मंगलबार एक कार्यक्रमकाबीच वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । जसमा पुरुषतर्फ क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, फुटबलका अञ्जन बिष्ट र किरण चेम्जोङ परेका हुन् । यसैगरी, मनोनयनमा ब्याड्मिन्टनका प्रिन्स दाहाल परेका छन् ।

अञ्जन अवार्डको पिपल्स च्वाइस विधामा समेत मनोनयनमा परेका छन् । अञ्जनले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बी मा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलंका र बंगलादेशविरुद्ध गोल गरेका उनी नेपाल सुपर लिग (एनएसल)मा सर्वश्रेष्ठ फरवार्ड घोषित भएका थिए । अञ्जन राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन् । उनी हाल भारतमा फुटबलखेलिरहेका छन् ।यसैगरी, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत थप चार विधाको मनोनयन सार्वजनिक गरिएको थियो । एनएसजेएफले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिकगरेको हो ।

उत्कृष्ट वर्ष खेलाडीमा महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी रुबिना क्षेत्री, सीता राना मगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन् । यस्तै, वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी, प्रिति राई, बक्सिङका छिरिङ शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् । वर्ष प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अल्मुताइरी, क्रिकेटका डेभ वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयन परेका छन् । यसअघि मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको थियो । पिपल्स च्वाइस अवार्डमा क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, फुटबलका अन्जन विष्ट, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट परेका थिए । पिपल्स च्वाइस अवार्डका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुन्ने गरिन्छ । यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा पिपल्स च्वाइस अवार्डसँगै ९ विधामा अवार्ड प्रदान गरिने अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलेटिक सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड वितरण गरिनेछ । लाइफटाइम, स्पेशल अवार्ड, पारा एथलेटिक र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड घोषणा फागुन २३ मै गरिनेछ । वर्ष खेलाडी पुरुष र महिला, वर्षका युवा खेलाडी, पिपल्स च्वाइस र प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । अरु विधाका विजेतालाई भने जनही ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चले जानकारी दिएको छ । स्पोर्ट्स अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा फागुन २३ मा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*