हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख
हेटौंडा- मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही एक–एक लाख रुपैयाँ क्षतिपूर्ति दिने मंगलबार बसेको मन्त्रिपरिषद्बाट निर्णय गरेको छ । जंगली हात्तीको आक्रमणबाट मकवानपुर मनहरी गाउँपालिका–४ का ६४ वर्षीया राधा अधिकारी र बकैया–५ का सन्तलाल माझीको मृत्यु भएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । हात्तीको आक्रमणबाट मकवानपुरमा २ जना र सिन्धुलीमा एक जनाको मृत्यु भएको थियो । सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय दण्डपाणि पौडेलको मृत्यु भएको जनाइएको छ । मन्त्रिपरिषद् बैठकले मृतकका परिवारजनलाई राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख रुपैयाँ क्षतिपूर्ति रकम दिलाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।
हात्तीको आक्रमणबाट भौतिक क्षति भएको विषयलाई सम्बोधन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तथ्यांक संकलन गरी आगामी बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशन विमल पोखरेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले कृषि मन्त्रालयमार्फत स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शीर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णय भएको उनले बताए ।