प्रतिनिधिसभामा सचेतक बन्ने मकवानपुरको पहिलो सांसद् बर्तौला

साझाकुरा
२०७९ फाल्गुन २९, सोमबार ११:१४

हेटौंडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौला नेकपा एमालेको सचेतक मनोनित भएका छन् ।नेकपा एमाले संसदीय दलको निर्णयले आइतबार प्रतिनिधि सभाका लागि पार्टीको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा बर्तौलालाई चयन गरेको हो । देशको कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभामा ठूलो पार्टीको सचेतकमा जिम्मेवारी पाउने बर्तौला मकवानपुरका पहिलो सांसद् हुन् । प्रतिनिधिसभामा सचेतकको भूमिका पार्टीको प्रतिनिधित्वका रुपमा हुनेछ । मकवानपुरको नामटारमा जन्मिएका बर्तौलाले विद्यार्थी राजनीतिहुँदै पार्टी राजनीतिक र संसदीय राजनीतिमा पनि निरन्तर फड्को मारिरहेका छन् । प्रतिनिधिसभामा यसअघि मकवानपुरका कुनैपनि सांसद् दलको सचेतक भएका थिएनन् ।

मकवानपुरबाट निर्वाचित सांसद्मध्ये थोरैमात्रै मन्त्री हुन सकेका छन् । ३९ वर्षीय महेश बर्तौला संघीय संसद्मा नयाँ अनुहार हुन् । प्रतिनिधि सभा चुनावमा नेकपा एमालेबाट ७८ जना निर्वाचित भएका थिए । त्यसमध्ये अधिकांश नयाँ अनुहार छन् । संसदमा आफ्नो भूमिका देखाउन सबै सांसद्हरु प्रयासरत् छन् । त्यसमध्ये मकवानपुर २ बाट निर्वाचित महेश बर्तौला छोटो समयमै तुलनात्मकरुपमा आफूलाई अग्र स्थानमा राख्न सफल भएका हुन् । विद्यार्थी राजनीतिबाट उनी पहिलो पटकमै एमालेको बागमती प्रदेश कमितिको उपमहासचिवको जिम्मेवारीमा पुगेका थिए । पार्टी राजनीतिमा लागेको १ वर्षको अन्तरालमै उनी पहिलो प्रयासमै सांसद् बनेका थिए । बर्तौलाले चारपटकसम्म सांसद्
भएका हाल नेकपा (एकीकृत समाजवादी)का नेता बिरोध खतिवडालाई हराएका थिए ।

नेतृत्वले गरेको भरोसालाई ख्याल राखेर संसदीय मूल्यमान्यतालाई उचो राख्ने गरी काम गर्ने बर्तौलाको भनाइ छ । पार्टी नेतृत्वले युवालाई अगाडि बढाउन खोजेको उनको निष्कर्ष छ । ‘युवा अगाडि बढोस् भन्ने नेतृत्वको चाहना हो । अब सिनियरसँग रहेर काम गर्नु पर्नेछ’, उनले भने । एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि बर्तौलालाई नै अगाडि सारेको थियो । राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै जसपाका उम्मेदवार रामसहाय यादवको उम्मेदवारीविरुद्ध उनले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर उजुरी दिएका थिए ।

नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको चर्चा छ । बर्ताैलाले पाएको भूमिका यतिमा सीमित भने छैन । उनले अर्काे महत्वपूर्ण भूमिका प्रतिनिधिसभाको नियामवली बनाउँदा पनि पाएका थिए । नियमावली मस्यौदा समितिमा पनि उनी एमालेको तर्फबाट सदस्य थिए । नियमावलीको मस्यौदा बनाउँदा उनले आफ्नो स्पष्ट अडान तर्कका साथ राख्ने गरेका थिए । उनी नियामवली मस्यौदा समितिमा प्रभावकारी देखिएका थिए । समितिमा रहँदा उनले राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुउपर लाग्ने महाअभियोगउपर निर्णय गर्नुपर्ने समयसीमा तोक्नुपर्ने विषय उठाएका थिए । सभामुखले अनन्तकालसम्म महाअभियोग लम्ब्याउन सक्ने अवस्था अन्त्य गर्न समय सीमा राख्नुपर्ने अडान उनको थियो ।

जसकारण समयसीमा पाँच महिना राखिएको छ । बर्तौला कानुनको समेत विद्यार्थी हुन् । बर्तौलाले २०६९ सालमा अधिवक्ताको लाइसेन्स लिएका थिए । तर, उनी वकालतमा भन्दा विद्यार्थी राजनीतिमा केन्द्रित भए । उनले राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । व्यवस्थापनमा मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर
गरेका छन् । उनी मकवानपुर बहुमुखी क्याम्पसको दुईपटक पूर्वस्ववियु सभापति हुन् । त्यसयता उनी अनेरास्ववियुको केन्द्रीय सदस्य, मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख हुँदै अनेरास्ववियुको केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्षसम्म भए ।

उनी विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षमै प्रतिनिधिसभा सदस्यको रुपमा संघीय सांसद् छिरेका हुन् ।४ मंसिरमा सम्पन्न चुनावपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । यसबीचमा प्रतिनिधिसभाका १२ वटा बैठक बसे । यसबीचमा बर्तौलाले एकपटक ढ्यापढ्यापे र एकपटक शून्य समयको सदुपयोग गरे । ढ्यापढ्यापेमा किसानले रासायनिक मल पाउन नसकेको विषय उठाएका थिए । शून्य समयमा मकवानपुरको मनहरीमा हात्तीले स्थानीयबासिन्दालाई दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । उनी हरेक महिना आफ्नो निर्वाचन क्षेत्र आइरहन्छन् । निर्वाचन क्षेत्रका गाउँगाउँ पुगेर बर्तौलाले स्थानीयहरुसँग समस्या पहिचान गर्ने र सुझाव लिने काम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*