‘अल नेपाल नोभिस बक्सिङ’ सुरु

साझाकुरा
२०७९ चैत्र १, बुधबार १०:४०

हेटौंडा- हेटौंडामा मंगलबारबाट ‘अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता’ सुरु भएको छ । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रतियोगिताको उद्घाटन गरेकी छन् ।हेटौंडामा १२ वर्षपछि राष्ट्रियस्तर बक्सिङ प्रतियोगिता भएको हो । हेटौंडा–४, पारिजातपथस्थित नवनिर्मित कभर्ड हलमा भएको बक्सिङ प्रतियोगिता ४ चैतसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा २३ जिल्लाका १७ वर्षदेखि २१ वर्षसम्मका युवा खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा २३ जिल्लाको ३७ क्लबका एकसय ७८ जना खेलाडीको सहभागिता रहेको हो ।

उद्घाटन खेलमा भएको ५४ केजी तौल समूहबीचको प्रतिस्पर्धामा अछामका नरसिं बुढा विजयी भए । उनले दमकका दिपक विश्वकर्मालाई पराजित गरेका छन् । मंगलबार विभिन्न केजी तौल समूहका २५ वटा खेल खेलाइएको आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत् पुरुषतर्फ नौ र महिलातर्फ सात वटा तौल समूहमा खेल सञ्चालन भइरहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री मोक्तानले प्रदेश खेलकुद विकास परिषद् बागमतीलाई राष्ट्रिय खेल हेटौंडामै आयोजना गर्न आग्रह गरिन् । उनले प्रदेशस्तरीय खेल प्रतियोगिता यसवर्ष हेटौंडामै आयोजना गर्न निर्देशन दिइन् ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले अल नेपाल नोभिस बक्सिङ प्रतियोगितालाई हरके वर्ष निरन्तरता दिने बताए । देश संघीय संरचनामा गएपछि नेपालको खेलकुद क्षेत्रको नतिजा सकारात्मक आउन थालेको उनको भनाई छ ।उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडाका निवर्तमान मेयर हरिबहादुर महत, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्यलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा प्रत्येक तौल समूहका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुने २ खेलाडीले क्रमशः दश हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम, बेष्ट रेफ्री र बेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष जोशीले बताए । बक्सिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका हेटौंडा–५ का वडाअध्यक्ष सुशील घिमिरेले प्रत्येक खेलको म्यान अफ द म्याचलाई वडा कार्यालयको तर्फबाट ३ हजार रुपैयाँ उपलब्ध
गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*