मकवानपुरगढीमा चैते धान लगाउन थालियो

साझाकुरा
२०७९ चैत्र १, बुधबार १०:४९

हेटौंडा-कृषि प्रधान गाउँपालिका मकवानपुरगढीमा चैते धान लगाउन सुरु गरिएको छ । मकवानपुरगढीको ६ नम्बर वडाको डुम्रेकुना, ३ नम्बर वडाको धमिले र ५ नम्बर वडाको धादिङ फाँटमा चैते धान लगाउन सुरु भएको हो । गाउँपालिकाको ८ वटा वडाका खेतियोग्य क्षेत्रमध्ये डुम्रेकुना, धमिले र धादिङ फाँट धान उत्पादनको पकेट क्षेत्र हो । हिउँदे वर्षा नहुँदा चैते धान लगाउन पनि किसानहरुलाई समस्या परिरहेको छ । हिउँदमा खोला, खोल्सी, कुलो सुक्ने भएकाले सहज सिचाईं सुविधा नपुगेको स्थानका किसानहरु समस्यामा परेका छन् ।

मकवानपुरगढीमा चैते धान लगाउन सुरु गरिएको र विगतका वर्षमा भन्दा धान रोपाई कमी हुने गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । उनले चैतमा लगाएको धान असारमा पाक्ने हुँदा असारे वर्षाले धानमा क्षति हुने र पानीले भिजेपछि बिक्रीसमेत नहुने समस्याले चैते धान रोपाई घटेको बताए । अघिल्ला वर्ष मकवानपुरगढीको ५० हेक्टर क्षेत्रफलमा चैते धान रोपाई हुने गरेको थियो ।

यसवर्ष करिब ४० हेक्टरमा मात्रै चैते धान रोपाई हुने चौधरीको भनाई छ । किसानहरु चैते धान भन्दा मकै खेतीतर्फ आकर्षित भएको बताए । चैते धानमा जोखिम बढेको र मकै खेतीमा झन्झन पनि नहुने भएकाले किसानहरुले मकै खेतीमा जोड दिएको चौधरी बताउँछन् । मकैमा किसानहरुले राम्रो आम्दानी समेत गरिरहेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*