हेटौंडामा विद्युतीय तार भूमिगत गर्ने, चारवटा शौचालय बनाउने निर्णय

साझाकुरा
२०७९ चैत्र १, बुधबार १०:५८

हेटौंडा- व्यवस्थित सहर निर्माणको अभियानमा जुटेको हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा असरल्ल रहेका विद्युतीय तार भूमिगत गर्ने भएको छ ।
जथाभावी खुला रुपमा देखिएका विद्युतीय तारका कारण बजार क्षेत्रको सौन्दर्यमा कमि आएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको उपमहानगरको २० औं कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको रुपमा रहेको १, २, ४, १० र ५ को केही भागका पोलमा रहेको तारलाई भूमिगत गर्ने निर्णय भएको हो । तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणलाई कार्यपालिकाको बैठकको निर्णयसँगै सिफारीस पत्र पठाउने तयारी भएको उपमहानगरले जनाएको छ ।

बैठकले हेटौंडा उपमहा नगरलाई उज्यालो सहरको रुपमा विकास गर्नका लागि नगरका विभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाइटको व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल भइरहेको जनाएको छ । बजारसहित नगरका सबै वडालाई समेटेर लाइटको व्यवस्थापनका लाग्ने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन् । ‘पहिले बजार केन्द्रित व्यवस्थापनको कुरा
गरिएको थियो तर अहिले नगरका सबै वडामा आवश्यकता अनुसार लाईट राख्ने तयारी गरेका छौं,’ उनले भनिन् । लाइट राख्ने ठाउँ र संख्या बारे अध्ययन भइरहेको छ ।
लाइटका लागि विद्युत प्राधिकरणसँग सामान्य सहमति बनिसकेको बताइएको छ ।

सहमति अनुसार ४० प्रतिशत अनुदान प्राधिकरणले दिने छ भने ६० प्रतिशत लगानी उपमहानगरले गर्ने भएको छ । पहिलो चरणमा उपमहानगरले हाइ मास्ट लाइटका लागि ६० लाख रुपियाँ बजेट छुट्याएको सहरी पुर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए । पहिलो चरणमा २५ वटा १० देखि १६ मिटर उचाई भएका लाइटको माग गर्ने तयारी उपमहानगरले गरेको उनले बताए ।कार्यपालिका बैठकले उपमहानगर प्रवेशको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ । बैठकले नगरको पुर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पायक पर्ने स्थानमा आवतजावत गर्नेका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने निर्णय गरेको हो ।

त्यस्तै न्यून आय भएका गरिब तथा विपन्न परिवारका ६ सय ६३ जनाको निःशुल्क स्वास्थय बीमा गर्ने निर्णय गरेको छ । नगरस्तरीय स्वास्थ्य बीमा लाभग्राही छनौट समितिले २०७९ फागुन ११ गते गरेको निर्णयबाट भएको सिफारिस अनुसार उनीहरुको स्वास्थ्य बीमा गरिने निर्णय भएको उपमहानगरका प्रवक्तासमेत रहेका १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*