मुख्यमन्त्री सभाहल अलपत्र म्याद थप्न ठेकेदारको दौडधुप

साझाकुरा
२०७९ चैत्र २, बिहीबार १०:५०

हेटौंडा- बागमती प्रदेश सरकारले चार वटा मुख्यमन्त्री पाइसक्यो । प्रदेशसभाको पहिलो कार्यकालमा डोरमणि पौडेलदेखि राजेन्द्र पाण्डेसम्म गरी तीन मुख्यमन्त्रीले प्रदेश चलाए ।दोस्रो कार्यकालमा प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा शालिकराम जम्मकट्टेलले हाल सरकारको नेतृत्व गरिरहेका छन् । तर, प्रदेशले चार जना मुख्यमन्त्री पाइसक्दा पनि एउटा सभाहल निर्माण भने पूरा हुन सकेन । १३ जिल्ला समेटिएको बागमती प्रदेशले ४ जना मुख्यमन्त्री र करिब ४० जना मन्त्री पाइसक्दा पनि त्यही सरकारको एउटा सभाहल भने निर्माण हुन नसक्नु देशको बिडम्बनासँग नागरिकले चित्रण गरिरहेका छन् । प्रदेश राजधानी हेटौंडामा सरकारको आफ्नै सभाहल छैन । जसकारण कुनै औपचारिक कार्यक्रम गर्न कार्यालयकै साँघुरा सभाहलमा कोचाकोच गर्नुपर्ने बाध्यता तथा होटल र रिसोर्टहरुमा भाडावापत लाखौं खर्चिरहनु परेको छ ।

सरकारको आफ्नै सभाहल निर्माण गर्ने योजना ठेकेदारले अलपत्र पारिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुविधासम्पन्न सभाहल निर्माण गरिसक्नुपर्ने समयावधि ठेकेदारले पहिल्यै गुजारिसकेका छन् । तर, न ठेकेदारलाई कारबाही हुन्छ, न सभाहल निर्माण नै । सरकारभन्दा ठेकेदार बलियो हुँदा पनि प्रदेशका शासकहरुलाई कुनै चिन्ता र चासो नदेखिएको नागरिक समाजको गुनासो छ । हेटौंडा–२, स्थित हेटौंडा उपमहानगरपालिका कार्यालयको पछाडितर्फ खाली जग्गामा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले सभाहल निर्माणको शिलान्यास गरेका थिए । उनले मुख्यमन्त्री छोडेर पनि तीन जना मुख्यमन्त्री बनिसक्दा सभाहलको खम्बामात्र ठडिएको छ ।

ठेकेदारले वर्षौ लगाएर जग हाल्ने र केही समय अघि फलामे खम्बामात्र हालेका थिए । संरक्षक निर्माण सेवा र सेभ इन्जिनियरि· कन्स्ट्रक्सन जेभीले २०७७ सालको सुरुवातमै ठेक्का लिएको हो । नाम संरक्षण रहेको निर्माण कम्पनीले नामभन्दा विपरित काम गरेपछि प्रदेश सरकारमात्र नभई हेटौंडा उपमहानगरपालिकालाईसमेत तनाव परेको हो । उपमहानगरपालिकाले विगतदेखि नै की सभाहल निर्माण गर कि जग्गा खाली गर भन्दा पनि ठेकेदार चितवनका भिष्म अधिकारी डेक चलेका छैनन् । निर्माण कम्पनीले २०७९ वैशाख १९ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने गरी ५ करोड २६ लाख रुपैयाँमा सभाहलको ठेक्का सकारेको थियो ।

सभाहल निर्माण गरिसक्नु पर्ने म्याद नाघेर एक वर्ष हुन लाग्दा ठेकेदार अधिकारी भने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत्को हेटौंडास्थित सहरी विकास तथा भवन कार्यालयमा असारसम्मको म्याद थप्न दौडधुप गरिरहेका भेटिन्थे । सभाहल निर्माणको काम भवन कार्यालयले हेरिरहेका छ । तर, भवन कार्यालयको ठेकेदार पक्षसँगको साँठगाँठ पनि लुक्न सकेको थिएन । यसअघिका भवन कार्यालयका प्रमुखले काम नै नगरी मोबिलाइजेशनवापतको रकम १ करोड भन्दा बढी दिइसकेको भन्दै महालेखा परीक्षक कार्यालयले प्रश्न उठाएको थियो । मोबिलाइजेशन खर्च बुझ्दा ठेकेदार पक्षले खाल्डोमात्रै खनेको र जगसमेत हालेको थिएन ।

सहरी विकास तथा भवन कार्यालय मकवानपुरका निमित्त प्रमुख इन्जिनियर घनश्याम श्रेष्ठले ठेकेदारकै कारण सभाहल समयमै निर्माण हुन नसकेको बताए । श्रेष्ठ सभाहल अलपत्र रहेकै अवस्थामा सरुवा भएर मकवानपुरमा आएका थिए । उनले आफू पछि मकवानपुर सरुवा भएर आएको र विगतको कुरामा जानकारी नभएको भन्दै ठेकेदारले म्याद थप गर्न दौडधुप गरिरहेको बताए । उनका अनुसार ठेकेदार भिष्म अधिकारी यसअघि पनि म्याद थप गर्न भन्दै कार्यालय धाउने गरेका थिए । तर, आफूले म्याद थप नगरेको र अब असारसम्म जसरी पनि सक्छु भनेपछि सभाहल निर्माण होस् भन्ने उद्देश्यले म्याद थप गर्दिन खोजेको श्रेष्ठले बताए । ‘मैले पहिला म्याद थप नगरेकै हो । अब भने असारभित्र काम सक्छु भनेको छ, म्यान थप्दिन पर्छ होला’, उनले भने ।

भवन कार्यालयमै भेटिएका ठेकेदार अधिकारीले आफ्नै कारण सभाहल निर्माण अलपत्र भएको स्वीकारे । कोभिडलगायत समस्या देखाएर प्राविधिक कारण भन्दै काम गर्न नसकेको बताए । ‘मैले पहिला प्राविधिक कारणले काम गर्न नसकेको हो । काम नभएकै हो । अब असारभित्र जसरी पनि सक्छु’, अधिकारीले भने । उनले काम आफूले गर्ने भएरै म्याद थप लिन आएको भन्दै समाचार नलेख्न पनि आग्रह गरे । ‘मैले अब काम जसरी पनि गर्छु । समाचार नलेख्दिनू न’, उनको भनाइ थियो ।

सभाहल निर्माणका लागि तयार पारिएको प्लिन्थ लेभलको ढलान गर्न विछ्याइएको रडहरु खिया लागेकै अवस्थामा जग ढलान गरिएको थियो । वैज्ञानिक प्रविधिको उक्त सभाहल निर्माणपश्चात् हलको सम्पूर्ण व्यवस्थापन हेटौंडा उपमहानगरपालिकामा रहने भनिएको छ । उपमहानगरपालिकाको पनि आफ्नै सभाहल भने छैन । निर्माणाधीन सभाहल चारसय जना क्षमताको हो । सभाहलको हालसम्म २० प्रतिशत भौतिक प्रगति छ । ठेक्का सम्झौता गरेको १५ महिनामा सभाहलको प्लिन्थ लेभलको काम पनि सम्पन्न नहुँदा १५ प्रतिशतमात्र भौतिक प्रगति भएको थियो । सभाहल स्याण्डबीच इपीएस स्याण्डबीच प्रविधिबाट प्यानल बोर्डको ट्रस्टबाट निर्माण गर्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*