१० नम्बर वडाले जित्यो अध्यक्षकपको उपाधि

साझाकुरा
२०७९ चैत्र २, बिहीबार ११:३४

हेटौंडा- कैलाश गाउँपालिकामा भएको अन्तर वडास्तरीय अध्यक्षकप रनिङशिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि १० नम्बर वडाले जितेको छ । कैलाश–९, स्थित नामटारमा भएको फाइनल खेलमा १० नम्बर वडाले ५ नम्बर वडालाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता वडा नम्बर १० ले ६३ तोला चाँदीको रनिङशिल्डसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ५ ले भने ४० हजार रुपैंया नगद पुरस्कार पाएको छ । वडा नम्बर १० लाई उपाधि जिताउन सुमन स्याङ्तनले व्यक्तिगत दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच पनि चुनिएका छन् ।

वडा नम्बर ५ का लागि हिरा सिंतानले एक गोलमात्रै गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर १० का सूर्य थिङ घोषित भए । प्रतियोगितामा वडा नम्बर १० का भुपेन्द्र महर्जन उत्कृष्ट गोलरक्षक, वडा नम्बर ५ का अम्बरसिंह पाख्रिन उत्कृष्ट डिफेन्डर, वडा नम्बर १० का साजन जिम्बा उत्कृष्ट मिडफिल्डर, वडा नम्बर १० का अजय गुरुङ उत्कृष्ट फरवार्ड, वडा नम्बर ३ का सुविन थिङ उदीयमान खेलाडी, वडा नम्बर १० का रेशम थिङ उत्कृष्ट प्रशिक्षक र वडा नम्बर ५ का निर्जल लामा उत्कृष्ट म्यानेजर घोषित भए ।
विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिएको प्रतियोगिताका सहसंयोजक रविन्द्र थिङले जानकारी दिए । कैलाश गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाको सभाध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन समारोह भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपप्रमुख बालकुमार मल्ल ठकुरी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*