तीन महिनामै बागमती सरकारमा फेरबदल आउँदै
हेटौंडा-राजनीतिक अस्थिरताका कारण नागरिकहरुमा राजनीतिप्रति वितृष्णा बढिरहेका बेला बागमती प्रदेशमा फेरि सरकार फेरबदल सुरु हन थालेको छ । केन्द्रीय सत्ता समिकरणमा परिवर्तन आएसँगै बागमतीमा सरकार फेरबदल हुने निश्चित भएता पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ मन्त्री थप्ने तयारीमा छन् । उनले नयाँ मन्त्री थप्नु अगाडि विश्वासको मत लिने तयारी गरिसके । ८ चैतमा विश्वासको मत लिने निर्णय गर्दै प्रदेशसभा सचिवालयलाई जम्कट्टेलले पत्र लेखिसकेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका १० दलीय वर्तमान गठबन्धनमामा कुनै फेरबदल नआए जम्कट्टेलले विश्वासको मत पाउँछन् । तर, राजनीतिक अस्थिरताका कारण जम्कट्टेलले विश्वासको मत पाए पनि नागरिकहरुले भने विश्वास पाउन सकेका छैनन् ।
तर, यसरी महिना दिनमै सरकार फेरबदल हुने कार्यप्रति भने नागरिक खुशी छैनन् । ‘सरकार बनेको ३ महिना भएको छैन, फेरि नयाँ मन्त्रीहरु आउने कुरा सुनिएको छ । यस्तो राजनीतिले देशलाई कहाँ पु¥याउँला,’ हेटौंडाका सुरेन्द्र हुमागाईले भने । एउटा सरकार पाँच वर्षसम्म निरन्तर सञ्चालन हुन सकेमा मात्रै विकासको काम गतिमा अगाडि बढ्ने उनको तर्क छ । हुमागाईले देशमा समग्र विकास नभएकै राजनीतिक अस्थिरताको कारण रहेको बताए । हुमागाई जस्ता धेरैले सरकार पाँच वर्षसम्म नियमित चल्नुपर्ने बताए । उनीहरुले केन्द्र सरकारमा आएको फेरबदलले स्थानीय सरकारलाई कुनै असर नपारेको भन्दै प्रदेश तहलाई पनि स्थानीय सरकारकै मोडलमा लैजानुपर्ने बताउँछन् । स्थानीय सरकार स्थायी भएकै कारण गाउँमा विकास देखिएको उनीहरुको भनाई थियो ।
केन्द्रीय सरकारकै राजनीतिक खिचातानीको डुब्लिकेट प्रदेशमा पनि देखिएको भन्दै विगतका सरकारहरु धेरै आलोचनामा फसेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि नेकपा एमालेसँग गरेको गठबन्धन दुई महिनाभित्रै भत्काएर कांग्रेससहित पुरानै गठबन्धनमा मिसिन पुगेका थिए । एमालेसँग प्रचण्ड मिलेर सरकार बनाउँदा बागमतीमा पनि माओवादी केन्द्रका जम्कट्टेलले प्रदेश सरकारको नेतृत्व गरेका थिए । प्रचण्डले केन्द्रमा गठबन्धन फेरबदल गरेपछि बागमतीमा सरकार पनि परिवर्तन हुने निश्चित छ । हाल जम्कट्टेल नेतृत्वको सरकारमा नेकपा एमालेका ४ जना मन्त्रीहरु पनि छन् । तर, जम्कट्टेलले विश्वासको मत लिँदा भने एमालेका मन्त्रीहरुले सरकार छोड्ने लगभग पक्का छ ।
एमालेले सरकार छाड्ने बित्तिक्कै मुख्यमन्त्री जम्कट्टेलले गठबन्धनका नेपाली कांग्रेस, एकीकृत समाजवादीबाट मन्त्रीहरु थप्ने तयारी गरिसकेको जनाइएको छ । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने जानकारी दिए । जम्कट्टेलले रिक्त ३ वटा मन्त्रालय आफैंसँग राखेका छन् । १३ फागुनमा राप्रपाका तीन जना मन्त्रीहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रालयहरु रिक्त थिए । उनले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गरेका छैनन् । जम्कट्टेलले विश्वासको मत लिएपछि एमालेले छोड्ने ४ वटासहित रिक्त ३ वटा मन्त्रालयमा एकैपटक मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।
राप्रपाले १३ फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत ८ मा विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुखसचिव कृष्णहरि खड्काले जानकारी दिए । मुख्यमन्त्री जम्मकट्टेलले संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेशसभामा विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई पत्र लेखेका हुन् । २५ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका थिए ।
सरकारलाई नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले समर्थन गरे पनि मुख्यमन्त्री जम्मकट्टेलले सरकारमा सहभागी भने गराएका थिएनन् । जम्मकट्टेलले यसअघि ३ माघमा विश्वासको मत लिएका थिए । उनलाई त्यतिबेला १ सय १० सदस्यीय प्रदेशसभा बैठकमा उपस्थितमध्ये १ सय ५ सांसदले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टीका तीन सांसदले विपक्षमा मत हालेका थिए । एक जना सांसद भने अनुपस्थित भएका थिए । मुख्यमन्त्री जम्मकट्टेलको सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी तथा प्रतिपक्षमा रहेको कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।
बागमती प्रदेशसभामा कुल सातवटा दलको प्रतिनिधित्व छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाको ३, हाम्रो नेपाली पार्टीको २ सांसद छन् । बागमतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ । एकीकृत समाजवादीको मत थप हुन आउनेछ ।