तालिम दिएर रोजगारीमा लगाउने युवा परिषद्को योजना

साझाकुरा
२०७९ चैत्र ३, शुक्रबार ११:५६

हेटौंडा-बागमतीको प्रदेश युवा परिषद् हेटौंडाले सीप मुलक तालिम दिएर युवायुवतीलाई रोजगारीको तहसम्मै सहयोग गर्ने योजना ल्याएको छ । बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) भित्र बस्ने ५ सय जना युवाहरुलाई तालिम दिएर रोजगारी दिने योजना कार्यालयले ल्याएको हो । प्रदेशको काठमाडौं उपत्यका भन्दा बाहेकका दश जिल्लामा रहेका युवाहरुलाई रोजगारी दिन परिषद्ले सुरु गरिसकेको छ । तालिमका लागि तालिम भन्दा पनि रोजगारी दिने गरी तालिमका कार्यक्रमहरु भइरहेको प्रदेश युवा परिषद् हेटौंडाका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए । जिल्लाहरुमा ३ सय ९० घण्टाको तालिम दिएर सीप सिकाउँदै रोजगारीतर्फ युवाहरुलाई लैजान लागिएको उपाध्यक्ष चौलागाईंले बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको परिषद्ले जिल्ला युवा समितिमार्फत तालिम दिएर रोजगारीको सृजना गर्न लागेको हो । परिषद्ले चितवनमा ३ सय ९० घण्टाको ब्युटिसियन र इन्डस्ट्रियल इलेक्ट्रिसियन तालिम दिइरहेको छ । धादिङमा मोबाइल मर्मत र टेलरिङ सम्बन्धि ३ सय ९० घण्टाको तालिम भइरहेको चौलागाईंले बताए । यसैगरी नेवाकोटमा मन्टेस्वरी र टेलरिङ सम्बन्धि तालिम, काभ्रेमा होमस्टे सम्बन्धि तालिम, सिन्धुलीमा ब्युटिसियन तालिम, मकवानपुरमा इन्डस्ट्रियल इलेक्ट्रिसियन र मन्टेस्वरी सम्बन्धि तालिम, रसुवामा मोबाइल मर्मत र मन्टेस्वरी सम्बन्धि तालिम, सिन्धुपाल्चोकमा होमस्टे सम्बन्धि तालिम, दोलखा र रामेछापमा होमस्टे सम्बन्धि तालिम दिन भइरहेको चौलागाईंले जानकारी दिए ।

१० जिल्लाका पाँच सय जनाले तालिम लिइसकेपछि २ सय ५० जनालाई पूर्ण रोजगार गराउने र अन्य २ सय ५० जनालाई तालिमपछिको रोजगारीका लागि सीप परिक्षण समेत गराएर तालिम अनुसारको काम गर्नका लागि सम्पूर्ण सामग्री परिषद्ले उपलब्ध गराएर रोजगारीको सृजना गर्न लागिएको जनाइएको छ । हरेक व्यक्तिलाई ५० हजार मुल्य
बराबरको सामग्री हस्तान्तरण गरेर काम गर्नका लागि प्रोत्साहित गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*