मकवानपुर क्याम्पसमा स्ववियु निर्वाचन नरोकिने

साझाकुरा
२०७९ चैत्र ४, शनिबार १४:०७

हेटौंडा-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ मकवानपुरको आन्तरिक विवाद अदालतसम्म पुगेपछि स्ववियु निर्वाचन रोकिन्छ वा रोकिँदैन ? भन्ने आमविद्यार्थीको कौतुहलता हटेको छ ।शुक्रबार उच्च अदालत पाटन हेटौंडा इजलाशले मकवानपुर बहुमुखी क्याम्पसमा ५ चैतमा हुने स्ववियुको निर्धारित निर्वाचन प्रक्रियालाई अवरुद्ध हुने गरी निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने परमादेश जारी भएपछि विद्यार्थीको कौतुहलता मेटिएको हो । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेरिना श्रेष्ठको संयुक्त इजलाशले स्ववियु निर्वाचन रोक्ने गरी अन्तरिम आदेश दिन नमिल्ने उत्प्रेषणयुक्त परमादेश जारी गरेको हो । नेविसंघ मकवानपुरभित्र दुईवटा समूह बनेपछि मकवानपुर बहुमुखी क्याम्पसमा निर्वाचनको आधिकारिकतासम्बन्धी उत्पन्न विवाद अदालतसम्म पुगेको हो ।

नेविसंघमा कांग्रेस पार्टी जिल्ला समितिले बनाएको सुवास सापकोटा समूह र नेविसंघको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ३ महिनाभित्र जिल्ला अधिवेशन गर्ने उद्देश्यले अध्यक्ष तोकेका भिषण ठकुरीको समूह छ । स्ववियु निर्वाचनमा यी दुवै समूहले आधिकारिकता पाउन लडाईं लडेका थिए । २८ फागुनमा क्याम्पसको स्ववियु निर्वाचन समितिले सापकोटा पक्षलाई आधिकारिकता प्रदान गरेपछि ठकुरी पक्षले तीब्र बिरोध गरेको थियो । ठकुरीको समूहले निर्वाचन समितिले पूर्वाग्रही ढंगबाट सापकोटा समूहलाई आधिकारिकता मानेको आरोप लगाउँदै मकवानपुर बहुमुखी क्याम्पसमा तोडफोड र टायर बालेर आन्दोलन गरेका थिए ।

क्याम्पसको निर्वाचन समितिले ठकुरी पक्षलाई २८ फागुन ५ बजेभित्र स्वतन्त्र उम्मेदवारी दिन सक्ने सुविधा पनि दिएको थियो । तर, ठकुरी पक्षबाट आकाश भट्टराईले क्याम्पसलाई विपक्षी बनाई उच्च अदालत पाटनमा आधिकारिता सम्बन्धी विवाद निरुपण नहुञ्जेलसम्म मकवानपुर बहुमुखी क्याम्पसमा निर्वाचन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । रिटउपर अधिवक्ताहरुको बहस सुनेपछि न्यायाधीशद्वय मुसलमान र श्रेष्ठको संयुक्त इजलाशले निवेदकले उठाएको आधिकारिता सम्बन्धी विवाद तथा विधानको व्याख्यालगायतको प्रश्नमा प्रस्तुत निवेदनको अन्तिम फैसला हुँदाको बखत न्याय निरुपण हुने भन्दै निर्वाचन अवरुद्ध हुने गरी अन्तरिम आदेश जारी गर्न नमिल्ने परमादेश जारी भएको अधिवक्ता मदनकुमार दाहालले जानकारी दिए ।

ठकुरी पक्षले पार्टी र संगठनको विधानमा पार्टी कमिटीमा रहेका व्यक्ति नेविसंघको अध्यक्ष हुन नमिल्ने, सापकोटालाई चयन गर्ने अधिवेशन विधिसम्मत नभएको लगायतका मुद्दा उठाउँदै आएको छ । निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले पनि सापकोटा पार्टीको सभापति रहेको र विधानअनुसार संगठनको अध्यक्ष हुन नमिल्ने तर्क
राखेको अधिवक्ता कृष्णप्रसाद अर्यालले बताए । सापकोटा मकवानपुरगढीको ४ नम्बर वडाको पार्टी सभापति हुन् । यता, अदालतले सापकोटाले निर्वाचनका लागि संगठन दर्ता
गराएको प्राप्त निर्वाचन सम्बन्धी फाइल र मिसिल संलग्न मकवानपुर बहुमुखी क्याम्पसको निर्वाचन समितिको २८ गतेको निर्णयबाट देखिन आएको जनाएको छ ।

‘त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०७९ को दफा ७(१) मा तोकिएको समयभित्र संघ÷संगठन दर्ता नगराएमा मान्यता नपाउने उल्लेख भई मिति २०७९।११।१९ पछि मात्र निवेदकहरुले नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यालयको पत्र प्राप्त गरेको र सो बमोजिम आफ्नो संघ संगठन दर्ता गराएको नदेखिएको’ पदरमादेशमा उल्लेख छ । संघका केन्द्रीय अध्यक्ष शेर्पाले ठकुरीलाई १९ फागुनमा मात्रै अध्यक्ष तोकेका थिए । सापकोटालाई भने पार्टी जिल्ला समितिले करिब एक महिना अघि नै अध्यक्ष बनाएको थियो ।

निवेदककातर्फबाट वरिष्ठ अधिवक्ता गणेशप्रसाद दाहाल, कृष्णप्रसाद अर्याल, अज्मीर केसी, चन्द्रप्रसाद पौडेल, शिवप्रसाद बन्जारा, मनप्रसाद भट्टराई, राधाकृष्ण
मैनाली र विसम अधिकारीले बहस गरेका थिए । विपक्षीकातर्फबाट अधिवक्ताहरु मदनकुमार दाहाल, अमृतकुमार लामा, मुकुन्दप्रसाद अधिकारी र रमा चौलागाईले बहस गरेका थिए ।यसैगरी, लामो समयको पर्खाइपछि ५ चैतमा हुन लागेको स्ववियु निर्वाचनको मुखमै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरमा आन्तरिक कलह मच्चिँदा निर्वाचनमै असर पुग्ने देखिएको छ । स्ववियु निर्वाचनको संघारमा नेपाली कांग्रेसनिकट नेविसंघ मकवानपुरमा दुई धार बनेपछि विद्यार्थीहरू अन्योलमा परेका छन् । नेविसंघको विवादले पार्टी जिल्ला समिति र नेविसंघ केन्द्रबीच राजनीतिक संघर्षसमेत चलेको थियो । ठकुरीलाई अध्यक्ष तोक्ने नेविसंघका अध्यक्ष शेर्पाविरुद्ध पार्टी समितिले शेरबहादुर देउवालाई पत्र लेख्दै बर्खास्त गर्नुपर्नेसम्मको माग राखेको थियो ।

शेर्पाले भने कांग्रेस जिल्ला समितिलाई बोधार्थ दिँदै नेविसंघ मकवानपुरमा अध्यक्ष पद रिक्त रहेको र ३२ वर्ष उमेर हद म्याद आकर्षित भएको भन्दै ठकुरीलाई अध्यक्षको जिम्मेवारी दिएको पत्र पठाएका थिए । त्यसको जवाफमा पार्टी मवानपुरका सभापति बुद्ध लामाले सभापति देउवालाई पठाएको पत्रमा कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सापकोटालाई बर्खिलाप गरी स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै त्यसतर्फ कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*