शिक्षण छोडेर राजनीति गरेका यादव उपराष्ट्रपति

साझाकुरा
२०७९ चैत्र ४, शनिबार १४:१२

हेटौंडा-किसान हुँदै शिक्षण पेशा गर्दागर्दै राजनीतिमा होमिएका रामसहायप्रसाद यादव देशको उपराष्ट्रपति बनेका छन् ।तेस्रो उपराष्ट्रपतिको रुपमा जसपाका यादव शुक्रबार निर्वाचनबाट विजयी भएका हुन् । उनी ४ मंसिरमा भएको निर्वाचनमा बाराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जसपाले उनलाई उपराष्ट्रपति बनाएर उपचुनावबाट नेता उपेन्द्र यादवलाई संसद छिराउने रणनीति लिएको छ । यादव उपराष्ट्रि बनेपछि बारामा उपनिर्वाचन हुनेछ । उपेन्द्रले सिरहाबाट सिको राउतसँग चुनाव हारेका थिए । शुक्रबार भएको चुनावमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति बनेका हुन् ।

उनले संघीय सांसदको १ सय ८४ मतको १४ हजार ५ सय ३६ मतभार र प्रदेश सांसदको ३ सय २९ मतको १५ हजार ७ सय ९२ मतभार पाएका छन् । उनले पाएको कुल मतभार ३० हजार ३ सय २८ छ । प्रतिद्वन्द्वी शाक्यले प्रदेशसभाका १ सय ६९ मत पाइन् भने उनलाई संघीय संसदका १ सय ४ जना सांसदले मत दिएका थिए । ममता झाले प्रदेशका १५ र संघीय संसदका २३ सांसदको मत पाइन् । उम्मेदवारी निष्क्रिय भएको घोषणाा गरेकी प्रमिला यादवले १ जना प्रदेश सांसदको मत पाइन् । उनलाई संघीय सांसदले भने मत दिएनन् ।

निर्वाचित यादवलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र स्वतन्त्र सांसदको समर्थन थियो । सत्ता गठबन्धनमै
रहेका जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीले भने जनमतकी झालाई समर्थन गरेका थिए । उपराष्ट्रपति निर्वाचित हुने यादव दोस्रो मधेसी समुदायका हुन् । यसअघि मधेसी समुदायबाट २०६५ मा परमानन्द झा पहिलो उपराष्ट्रपति बनेका थिए । यादव र उनको परिवार सामान्य जीवनयापन गर्दै आइरहेको छ । बाराको सिम्रौनगढ बसवरियामा उनकी श्रीमतीले गाईपालन गरिरहेकी छिन् । यादव भने काठमाडौंमा छोराहरुको डेरामा बस्दै आएका छन् ।

२०७८ सालमा उनी वन तथा वातावरणमन्त्री बनेका थिए । आफू एकदिन उपराष्ट्रपति बन्छु भन्ने कहिल्यै नसोचेको बताए । आफ्नो सामान्य किसान परिवार रहेको र आफू पनि हलो जोतेर नै हुर्किएकोले यति ठूलो सोच नराखेको बताए । यादवले २०४३ सालमा बाराको कांकाली माविबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनी थप अध्ययनका लागि भारत गएका थिए । भरतको सीतामढी कलेजबाट बीएस्सी गरेर वीरगन्जबाट बीएडको अध्ययन पूरा गरेको यादवको भनाई छ । विज्ञान र गणितमा अब्बल रहेका उनी २०४८ सालमा अस्थायी शिक्षको रुपमा स्थानीय पन्नादेवी कन्या माविमा काम थालेका थिए ।

१२ वर्षसम्म उनले अस्थायी शिक्षक भएर पढाएका थिए । यादवले २०६० सालमा स्थायी शिक्षकमा नाम निकालेका थिए । शिक्षणा पेशा गर्दागर्दै राजनीतिमा प्रवेश गरेका थिए । २०६४ मा आएर उनले शिक्षकबाट राजीनामा दिएका थिए । राजीनामा दिनुको कारण भने पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक उम्मेदवार थिए । उनको भूमिगत नाम चन्द्रगुप्त थियो । शिक्षक रामसहाय यादव नै चन्द्रगुप्त हुन् भन्ने कसैलाई थाहै नभएको उनी सुनाउँछन् । परिवारलाई समेत आफूले नभनेको उनले बताए । तत्कालीन फोरम पार्टीमा लागेपछि यादवले उपेन्द्र यादवको पनि साथ छोडेनन् । पार्टी टुटफुट हुँदा पनि यादवको साथ उनले नछोडेकै कारण उपराष्ट्रपतिसम्म बनायो ।

यसमा तपाइको मत

Your email address will not be published.


*