आज मकवानपुरका ७ क्याम्पसमा स्ववियु निर्वाचन

पालुङ क्याम्पसमा सर्वसम्मत
साझाकुरा
२०७९ चैत्र ५, आईतवार ११:४९

हेटौंडा-त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त देशभरका क्याम्पसहरुमा आज आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । मकवानपुरका ७ वटा क्याम्पसमा निर्वाचन हुने भएको छ ।स्ववियु कमिटी रहेका जिल्ला ८ वटा क्याम्पसमध्ये पालुङ बहुमुखी क्याम्पसबाहेक ७ वटा क्याम्पसमा निर्वाचन हुन लागेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थायी कमिटी सदस्य किशन घिमिङले जानकारी दिए । चुनावका लागि गत शनिवार नै मकवानपुरका सबै क्याम्पसहरुमा उम्मेदवारी दर्ता भइसकेको छ । चुनावका लागि विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका सबैभन्दा ठूलो शैक्षिक संस्था मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, पालुङ क्याम्पस, हटियाको जनप्रिय, चौघडाको वंशगोपाल, मनहरीको मनहरी क्याम्पस, वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्रि क्याम्पस) र बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । यसअघि मकवानपुर बहुमुखी क्याम्पसबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण निर्वाचन प्रक्रिया अगाडि बढेको छ । मकवानपुर बहुमुखी क्याम्पसमा भने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ मकवानपुरको आन्तरिक विवाद अदालतसम्म पुगेपछि शुक्रबार दिउसोसम्म निर्वाचन हुने वा नहुने कुनै टुंगो थिएन । अदालतले क्याम्पसमा निर्वाचन रोक्न नमिल्ने परमादेश जारी भएपछि स्ववियु निर्वाचन रोकिन्छ वा रोकिँदैन ? भन्ने आमविद्यार्थीको कौतुहलता हटेको थियो ।

उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेरिना श्रेष्ठको संयुक्त इजलाशले शुक्रबार मकवानपुर बहुमुखी क्याम्पसमा ५ चैतमा हुने स्ववियुको निर्धारित निर्वाचन प्रक्रियालाई अवरुद्ध हुने गरी निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने परमादेश जारी गरेको हो । नेविसंघ मकवानपुरभित्र दुईवटा समूह बनेपछि मकवानपुर बहुमुखी क्याम्पसमा निर्वाचनको आधिकारिकतासम्बन्धी उत्पन्न विवाद अदालतसम्म पुगेको हो । नेविसंघमा कांग्रेस पार्टी जिल्ला समितिले बनाएको सुवास सापकोटा समूह र नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ३ महिनाभित्र जिल्ला अधिवेशन गर्ने उद्देश्यले अध्यक्ष तोकेका भिषण
ठकुरीको समूह छ ।

क्याम्पसको निर्वाचन समितिले स्ववियु निर्वाचनका लागि ठकुरी समूहले नेविसंघको तर्फबाट गरेको उम्मेदवारीलाई आधिकारिता नदिई सापकोटा पक्षलाई आधिकारिक बनाएपछि लफडा सुरु भएको थियो । अदालतबाट मकवानपुर क्याम्पसमा पनि निर्वाचनअवरुद्ध गर्न नमिल्ने परमादेश जारी भएपछि आज निर्वाचन हुने तय भइसकेको छ । मकवानपुरमा स्ववियु निर्वाचनका लागि नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र एमालेबाटै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बीच तालमेल भएको छ । यी दुई संगठनसँग जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन पनि मिलेको छ ।

यसैगरी, एमाले निकट अनेरास्ववियुले ८ वटा क्याम्पसमध्ये ४ वटा क्याम्पसमा सभापति लिएको छ । नेकपा एस निकट अनेरास्ववियूले २ क्याम्पसमा सभापति लिँदा विप्लव निकट विद्यार्थी संगठनले एउटा क्याम्पसमा सभापति लिएको हो । एमाले निकटको अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वनविज्ञान र निर्मल बहुमुखी क्याम्पसको सभापति लिएको छ । नेकपा एस निकट अनेरास्ववियूले मनहरी बहुमुखी क्याम्पस, वंशगोपाल क्याम्पस लिँदा क्रान्तिकारीले हटियाको जनप्रिय क्याम्पस पाएको हो ।

यसैगरी, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, नेपाली कांग्रेस निकट सुवास सापकोटा अध्यक्ष रहेको नेविसंघ र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले आठ वटै क्याम्पसमा भागबन्डा गरेर साझा उम्मेदवार खडा गरेका छन् । नेविसंघको सुवास सापकोटा पक्ष क्रान्तिकारी र राप्रविसंसँग मिलेको हो । नेविसंघ, क्रान्तिकारी र राप्रविसको गठबन्धनमा सापकोटा पक्षको नेविसंघले ४ वटा क्याम्पसमा, अनेरास्ववियु क्रान्तिकारीले तीन वटामा र राप्रपाले १ वटा क्याम्पसमा सभापति लिएर भागबण्डा गरेका थिए ।
पालुङ बहुमुखी क्याम्पसको सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीले पाइसकेको छ । नेविसंघले हेटौंडा क्याम्पस, वनविज्ञान, मनहरी, जनप्रिय लिएको नेविसंघका अध्यक्ष सुवास सापकोटाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र निकट क्रान्तिकारीले मकवानपुर बहुमुखी, पालुङ, निर्मलको सभापति लिएको हो । राप्रविंसले वंशगोपालमा सभापति पाएको छ ।

पालुङ क्याम्पसमा सर्वसम्मत
जिल्लाको उत्तरी क्षेत्रस्थित पालुङ क्याम्पसमा भने सबै संगठनले मिलेर एकल प्यानलको उम्मेदवारी दर्ता गराएका थिए । आवश्यक भन्दा बढी पदमा उम्मेदवारी नपरेपछि ३० फागुनमा क्याम्पसको निर्वाचन समितिले सबै जनालाई सर्वसम्मत चयन भएको घोषणा गरिसकेको निर्वाचन अधिकृत कुमान नेगीले जानकारी दिए । सर्वसम्मत चयन भएकाहरु सबैलाई आज आइतबार प्रमाणपत्र वितरण गरिने नेगीले बताए । गत शनिवार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको थियो । जसमा निर्वाचनमा भाग लिन दर्ता भएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन बाहेक ४ वटा सबै संगठनहरु मिलेर एकल उम्मेदवारी दिएका हुन् । पालुङ बहुमुखी क्याम्पसमा निर्वाचनमा सहभागी हुन एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), माओवादी केन्द्रको क्रान्तिकारी, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) र राप्रपा नेपाल निकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ र नेकपा एस निकट अनेरास्ववियूले दर्ता गराएका थिए ।

पालुङ क्याम्पसमा एमाले निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेबिसंघ र राप्रबिसंघको एकल प्यानल बनेको हो । क्रान्तिकारीलाई अध्यक्ष, अनेराववियुलाई सचिव र कोषाध्यक्ष तथा नेविसंघ र राप्रविसंघलाई सदस्य पद बाँडफाँड गरेर चार दलले एकल उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा पुस्कल श्रेष्ठ, सचिवमा दिलिप रुम्बा, कोषाध्यक्षमा आयाम नापित तथा सदस्यहरुमा मेनुका देउला, मोनिका खत्री र पुष्पा कार्की सर्वसम्मत भइसकेका छन् ।

यसैगरी, समानुपातिक तर्फ अखिल क्रान्तिकारीबाट सविता केसी, नेबिसंघबाट रोशनी गोपाली र नविना अधिकारी, अनेरास्ववियुबाट सुस्मिता श्रेष्ठ र राप्रबिसंघबाट पुष्पा पाख्रिन पनि सर्वसम्मत भए । पालुङ बहुमुुखी क्याम्पसमा संस्थापन स्ववियु सर्वसम्मतीका आधारमा चयनगरिएको थियो भने त्यसपछिकोस्ववियु कार्यकाल क्रान्तिकारीले जित्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*