पाँच क्याम्पसमा बाम विद्यार्थी गठबन्धनको जित

मकवानपुरमा स्ववियु निर्वाचन
साझाकुरा
२०७९ चैत्र ६, सोमबार ११:११

हेटौंडा-स्ववियु निर्वाचनअन्तर्गत् मकवानपुरको ८ वटा क्याम्पसमध्ये ५ वटा क्याम्पसमा बाम विद्यार्थी गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । आइतबार थाहा नगरपालिकास्थित पालुङ क्याम्पस बाहेक जिल्लाका सबैभन्दा ठूलो शैक्षिक संस्था मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, हटियाको जनप्रिय, चौघडाको वंशगोपाल, मनहरीको मनहरी क्याम्पस, वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्रि क्याम्पस) र बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । निर्वाचनमा राती समाचार तयार पार्दासम्म पाँच वटा क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेतृत्वको बाम विद्यार्थी गठबन्धन विजयी भएका हुन् । जसमध्ये चार क्याम्पसमा बाम विद्यार्थी गठबन्धनको प्यानल नै विजयी बनेको छ । अनेरास्ववियुको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियू र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीबीच गठबन्धन थियो । गठबन्धनमा यी तीन संगठनले भागबण्डा गरेर चुनाव लडेका थिए ।

अर्कोतर्फ पनि तीन वटा विद्यार्थी संगठनको गठबन्धन थियो । नेपाली कांग्रेस निकट सुवास सापकोटा पक्षको नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले गठबन्धन गरेका थिए । स्ववियु निर्वाचनमा जिल्लाका पाँच क्याम्पस हेटौंडा क्याम्पस, चौघडाको बंशगोपाल बहुमुखी क्याम्पस, हटियाको जनप्रिय बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस र बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा बाम विद्यार्थी गठबन्धनसँग नेविसंघ, क्रान्तिकारी र राप्रविसंघको विद्यार्थी गठबन्धन पराजित हुन पुगेको हो । मकवानपुर क्याम्पस र फरेष्ट्रि क्याम्पसमा समाचार तयार पार्दासम्म मतगणना जारी थियो ।

बाम विद्यार्थी गठबन्धनले हेटौंडा क्याम्पस, वंशगोपाल, जनप्रिय र निर्मलमा ‘क्लिन स्वीप’ गरेका छन् । मनहरी क्याम्पसमा भने सचिव नेविसंघबाट निर्विरोध हँदा सभापति सहित बाँकी पदमा पनि बाम विद्यार्थी गठबन्धनको प्यानल नै विजयी बनेको छ । जिल्लाको दोस्रो ठूलो क्याम्पस हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली सभापतिमा निर्वाचन भए । सचिवमा अन्जान खड्का, कोषाध्यक्षमा अविना थापा विजयी भएका छन् । सदस्यहरुमा तिलकबहादुर पाख्रिन, गणेश तिमल्सिना, नवीनकुमार चौधरी, भरतमोहन देवकोटा र रन्जिता फुयाँल निर्वाचन भएको जनाइएको छ । हेटौंडा–६, चौघडास्थित वंशगोपालको स्ववियु सभापतिमा नेकपा एस निकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भए । स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने, कोषाध्यक्षमा रुपा राई, सदस्यहरुमा सपना राउत, सुजन गोले विजयी भए ।

हटियाको जनप्रियमा विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले जितेको हो । अखिल क्रान्तिकारीकी मुना गोले स्ववियु सभापतिमा विजयी भइन् । सचिवमा पुष्पा बास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल विजयी भए । सदस्यहरुमा मेनुका दाहाल, पवित्रा अधिकारी तथा विनिता तिमल्सिना निर्वाचित भएका हुन् । यसैगरी, पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका कुमारी घिसिङ सभापतिमा विजयी हुन पुगे । कोषाध्यक्षमा प्रविन रुम्बा, सदस्यहरुमा सिता सापकोटा, शान्ती माया थिङ, माधवप्रसाद अधिकारी निर्वाचित भएका हुन् । सचिवमा भने नेविसंघका गेमराज थिङ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

यसैगरी, बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुका सरोज अर्याल सभापतिमा विजयी भए । सचिवमा सुसन पौडेल, कोषाध्यक्षमा सुर्य बल, सदस्यहरुमा महेशकुरमार सापकोटा, सेसाप प्रजा, सुनिता बल, प्रमिला चौलागाई तथा मिरा विशंखे विजियी भएका छन् ।एमाले निकट अनेरास्ववियुले ८ वटा क्याम्पसमध्ये ४ वटा क्याम्पसमा सभापति लिएको थियो । नेकपा एस निकट अनेरास्ववियूले २ क्याम्पसमा सभापति लिँदा विप्लव निकट विद्यार्थी संगठनले एउटा क्याम्पसमा सभापति लिएको हो । एमाले निकटको अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वनविज्ञान र निर्मल बहुमुखी क्याम्पसको सभापति लिएको हो । नेकपा एस निकट अनेरास्ववियूले मनहरी बहुमुखी क्याम्पस, वंशगोपाल क्याम्पस लिँदा क्रान्तिकारीले हटियाको जनप्रिय क्याम्पस पाएको हो ।

यसैगरी, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, नेपाली कांग्रेस निकट सुवास सापकोटा अध्यक्ष रहेको नेविसंघ र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले आठ वटै क्याम्पसमा भागबन्डा गरेर साझा उम्मेदवार खडा गरेका थिए । नेविसंघ, क्रान्तिकारी र राप्रविसको गठबन्धनमा सापकोटा पक्षको नेविसंघले ४ वटा क्याम्पसमा, अनेरास्ववियु क्रान्तिकारीले तीन वटामा र राप्रपाले १ वटा क्याम्पसमा सभापति लिएर भागबण्डा गरेका थिए । पालुङ बहुमुखी क्याम्पसको सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीले पाइसकेको छ । नेविसंघले हेटौंडा क्याम्पस, वनविज्ञान, मनहरी, जनप्रिय लिएको थियो । क्रान्तिकारीले मकवानपुर बहुमुखी, पालुङ, निर्मलको सभापति लिँदा
राप्रविंसले वंशगोपालमा सभापतिमा भागबण्डा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*