अन्तरपालिका फुटबलः थाहा र हेटौंडाको जित

साझाकुरा
२०७९ चैत्र ६, सोमबार ११:२२

हेटौंडा-हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगितामा थाहा नगरपालिका र हेटौैंडा उपमहानगरपालिकाले जित निकालेका छन् ।आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर –५, पिप्लेस्थित क्याम्पा रंगशालामा भएको खेलमा थाहा नगरपालिकाले राक्सिराङ गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको छ । आइतबार भएको दोस्रो खेलमा हेटौंडा उपमहानगरपालिकाले बकैया गाउँपालिकालाई २–० गोलअन्तरले निरीह बनाएको हो । थाहा नगरपालिका प्रतियोगिताको डिफेन्डिङ च्याम्पीयन हो भने हेटौंडा साविक उपविजेता । थाहाका लागि सन्दीप श्रेष्ठले खेलको ५१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । थाहाका राजन गोलेले ५४ र ७२ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । राक्सिराङले गोल गर्ने अबसर पाए पनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु प¥यो ।

हेटौंडाले खेलको ३३ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लियो । हेटौंडाका लागि दोस्रो गोल खेलको ६८ औं मिनेटमा रितेश श्रेष्ठले गरे । क्वाटरफाइनल पुगेको थाहा नगरपालिकाले अन्तिम चार प्रवेशका लागि मंगलबार बामगती गाउँपालिकासँग खेल्नेछ । बागमतीले पनि ‘बाइ’ पाएको थियो । हेटौंडाले अब ८ चैतमा मनहरी र भीमफेदीबीचको विजेतासँग खेल्नेछ । भीमफेदीले शनिवार उद्घाटन खेलमा पेनाल्टी सुटआउटबाट कैलाश गाउँपालिका विरुद्ध जित निकालेको थियो । निर्धारित समयमा २–२ को बराबरी खेलेका भीमफेदी र कैलाशले पेनाल्टी सुटआउटमा ४–२ को नतिजा आएको थियो ।

प्रतियोगिता अन्र्तगत आज सोमबार मकवानपुरगढी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुने जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले जानकारी दिए । अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता ११ चैतसम्म हुनेछ । प्रतियोगिताको आयोजना जिल्ला समन्वय समिति मकवानपुर र व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गरेको हो । प्रतियोगिता अन्तर्गत् सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्गीले जानकारी दिए । मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा प्रवेश निःशुल्क गराइएको छ । अन्तरपालिका प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी प्रदेशस्तरीय खेलकुदमा जिल्लाको प्रतिनिधित्व गर्दै टिम लैजाने खेलकुद समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*