थाहानगरको अभियान

साझाकुरा
२०७९ चैत्र ६, सोमबार ११:२७

थाहा नगरपालिकाको ग्रामीण सडकहरुको अवस्था नाजुक बन्दै गएपछि स्थानीय बेरोजगार युवाले आफ्नो वरपरका सडक मर्मत गरेका छन् । थाहा नगपालिका रोजगार सेवा केन्द्रका अनुसार बेरोजगार युवाले रोजगारीका लागि सडक मर्मत गरेर सजिलै मोटर गुड्न सक्ने बनाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीयको सडक सफा बनाउने काम गरेको हो । छनोटमा परेका बेरोजगार युवालाई न्यूनतम रोजगारी प्रदान गरेर सडक मर्मत गर्न लगाइएको हो । बेरोजगार व्यक्तिले काम र दाम दुवै पाएका छन् । थोरै बजेट र श्रमबाट हुने कामका लागि यो कार्यक्रम निकै सहयोगी भएको छ ।

यहाँनिर आफ्नै घर आँगनका सडक सफा गर्न पनि सरकारको श्रोत साधनको प्रयोग गर्नु परेको सवाल उठ्न पनि सक्छ । तर, अहिले जमाना परिबर्तन भएको छ । पछिल्लो समयमा सार्बजनिक कामका लागि समय निकाल्ने र खट्ने जनशक्ति अभाव भएको छ । थाहानगर मात्र होइन कि देशभरि नै आफ्नो दैनिक जीवन गुजारो गर्नका लागि उपयोग हुने सडक, पुलपुलेसा, गोरेटो मर्मत गर्ने अभ्यास केवल दन्त्यकथा झैं बनेको छ ।

साँच्चै भन्ने हो भने हाम्रो समाजमा अहिले मानबीय समबेदना घट्दै गएको छ । हाम्रा पितापूर्खाको पालामा जस्तो सामाजिक उत्तरदायित्व अहिलेको पुस्तामा भेटनै मुस्किल पर्न थालेको छ । चोक चौतारो र स्थानीय चियापसलमा बसेर भएभरका गफ चुट्ने समय र जाँगर मिल्ने तर, आफैंले प्रयोग गर्ने गोरेटोमा खाल्डाखुल्डी भयो भने त्यो अर्कैले आएर पुरिदिनु पर्ने अवस्था सृजना भएको छ ।

यस्तै यस्तै कारणले प्रधानमन्त्री स्वरोजगार अभियान ल्याइएको हो भन्दा अत्युक्ति नहोला । यहाँ थाहानगरको अभियानको चर्चा गर्दैगर्दा यो खालको परिस्थिति देशैभरि ब्याप्त छ । थाहानगरले आफ्ना नगरबासीलाई सहज बनाउनका लागि सुरु गरेको अभियानलाई सकारात्मक मान्नै पर्छ । हाम्रो समाजको बदलिएको स्वरुपका कारण अहिले जनप्रतिनिधिलाई पनि काम गर्न निकै चुनौती थपिएको छ ।

जननिर्वाचित प्रतिनिधिलाई आफ्नो मतदाता रिाझाउनका लागि भएपनि सानातिना योजनाहरु संचालन गर्नु परेको छ । आफ्ना कार्यकर्ता वा निर्वाचनको समयमा सहयोग गरेका युवा दस्तालाई अल्मल्याउनका लागि पनि यस्ता खालका कार्यक्रम जरुरी रहेको छ । समाजको विकासक्रमसँगै जनप्रतिनिधि पनि चल्नै पर्ने हुन्छ । धेरै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै लोकप्रिय बनेको छ । केही पालिकामा यो कार्यक्रम केवल कार्यकर्ता अल्मल्याउने मेसो मात्र बनेको पनि छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*