मकवानपुर क्याम्पसमा ४१ वर्षपछि अनेरास्ववियुको हार

जिल्लाका ८ क्याम्पसमा क–कसले जीते ?
साझाकुरा
२०७९ चैत्र ७, मंगलवार १२:२३

हेटौंडा-जिल्लाको सबैभन्दा ठूलो शैक्षिक संस्था मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) विजयी भएको छ ।मकवानपुर क्याम्पसको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक अखिल क्रान्तिकारी विजयी भएको हो । आइतबार भएको निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुका सभापति उम्मेदवार नवराज शर्मा पौडेललाई हराउँदै क्रान्तिकारीका छोइसाङ लामा विजयी भए । सोमबार बिहान आएको मतपरिणाम अनुसार लामाले ८ सय १३ मत ल्याउँदा पौडेलले ६ सय ८२ मत पाएका छन् । क्रान्तिकारीले नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ) बीच गठबन्धन बनाएको थियो ।

अनेरास्ववियुले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल (क्रान्तिकारी)बीच गठबन्धन बनाएको थियो । मकवानपुर क्याम्पसमा एक कोषाध्यक्ष र पाँच जना सदस्य भने अनेरास्ववियु प्यानलले जितेको छ । सचिवमा अखिल क्रन्तिकारीबाट बर्षाद घिमिरे र कोषाध्यक्षमा अनेरास्ववियुकी हिमानीकुमारी सुवेदी निर्वाचित भएकी हुन् । उनीहरुले क्रमशः ७ सय ६७ र ८ सय ४ मत प्राप्त गरे । सदस्यहरुमा अनेरास्ववियुका ५ जना र अखिल क्रान्तिकारीका ३ जना विजयी भएका हुन् । कुल ३ हजार ९१ मतदाता रहेकोमा १ हजार ५ सय ७४ मत खसेको थियो । त्यसैगरी समानुपातिकतर्फ अनेरास्ववियुसहितको गठबन्धनले ७ सय ६९ मत र अखिल क्रान्तिकारी सहितको गठबन्धनले ७ सय ८० मत प्राप्त गरेको छ ।

क्याम्पसमा अखिल क्रान्तिकारीका लामाले जीत निकालेसँगै अनेरास्ववियुको ४१ वर्षसम्मको बिरासत ढलेको छ । मकवानपुर बहुमुखी क्याम्पस नेकपा एमालेको नेता उत्पादन गर्ने कारखानको रुपमा परिचित थियो । यही क्याम्पसमा दुई पटक स्ववियु सभापति भएका महेश बर्तौला एमालेको प्रतिनिधिसभा सचेतक छन् । क्याम्पसमै राजनीति गरेका अधिकांश नेता यतिबेला एमाले मकवानपुरको नेतृत्वदायी भूमिका छन् । २०३८ सालदेखि स्ववियुमा जित्दै आएको अनेरास्ववियुले २०७९ को निर्वाचनमा आएर पहिलोपटक हार व्यहोरेको हो । २०३८ सालमा रामकृष्ण श्रेष्ठ सर्वसम्मत स्ववियु सभापति भएका थिए ।

२०६० सालमा नवीन सिग्देल (हाल पार्टी सचिव तथा ४ नम्बर वडाध्यक्ष) सभापति भएका थिए । सिग्देलको नेतृत्वमा स्ववियु गठन भएपछि २९ दिनसम्म निरन्तर आन्दोलन गरेर क्याम्पस समितिमार्फत घोषणा गर्न लगाइएको थियो । माओवादीको द्वन्द्वकालीन अवस्थामा क्याम्पस समितिले स्ववियु घोषणा गर्न डराउँदा अनेरास्ववियु २९ दिनसम्म निरन्तर आन्दोलन गरेको सिग्देलले सम्झिए । २०६० सम्म जिल्लाका कुनैपनि सामुदायिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैनथ्यो । मकवानपुर क्याम्पसकै आन्दोलनले जिल्लाका क्याम्पसहरुमा पनि स्ववियु निर्वाचन गर्ने बाटो तय गरेको सिग्देल बताउँछन् । मकवानपुर क्याम्पसमा २०६२ र २०६५ मा गरेर दुईपटक महेश बर्तौला स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

अनेरास्ववियुले विगतका हरेक निर्वाचनमा एक्लै लड्दै आएको थियो । तर, २०७९ को स्ववियु निर्वाचनमा दुई संगठनको साथ पाउँदा पनि अनेरास्ववियुले हार व्यहोरेको छ । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसबाहेक मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, हटियाको जनप्रिय, चौघडाको वंशगोपाल, मनहरीको मनहरी क्याम्पस, वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) र बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा आइतबार स्ववियु निर्वाचन भएको हो । ६ संगठनले जिल्लाका ८ वटा क्याम्पसमध्ये पालुङ क्याम्पसबाहेक ७ वटामा गठबन्धन बनाएर निर्वाचन लडेका थिए । पालुङ क्याम्पसमा भने अनेरास्ववियु, क्रान्तिकारी, नेविसंघ र राप्रविसंघ मिलेर एकल प्यानल बनाउँदै उम्मेदवारी दिएपछि निर्वाचन समितिले सर्वसम्मत गरेको थियो ।

यसैगरी, वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस)को आइतबार राति आएको मतपरिणाम अनुसार सभापति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जितेको छ । त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस वन विज्ञान अध्ययन संस्थानमा नेविसंघका दीपेन्द्र कंडेल सभापतिमा निर्वाचित भएका हुन् । उनले अनेरास्ववियुका उम्मेदवार अरुण अधिकारीलाई पराजित गरे । कंडेलले २ सय १४ मत ल्याउँदा अधिकारीले १ सय २ मत पाए । स्ववियु सचिवमा अनेरास्ववियुका किस्मत रेग्मी र कोषाध्यक्षमा क्रान्तिकारीकी दिपना खड्का मगर विजयी भएका छन् । उनीहरुले क्रमशः २ सय ६ र २ सय १३ मत पाएका छन् ।

सदस्यहरुमा क्रान्तिकारीका छत्र शाही, प्रेम बस्नेत र रोशनी परियार तथा नेविसंघबाट सुमित्रा रजान मगर र कृष्णप्रसाद सुवेदी भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. ललितकुमार लालदासले जानकारी दिए ।पाँच क्याम्पसमा वामविद्यार्थी गठबन्धनको जीतस्ववियु निर्वाचनअन्तर्गत मकवानपुरको ८ वटा क्याम्पसमध्ये ५ वटा क्याम्पसमा वामविद्यार्थी गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।जिल्लाका पाँच क्याम्पसहरु हेटौंडा क्याम्पस, चौघडाको बंशगोपाल बहुमुखी क्याम्पस, हटियाको जनप्रिय बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस र बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको अखिल क्रान्तिकारी बीचको वामविद्यार्थी गठबन्धन विजयी भएका हुन् ।

वामविद्यार्थी गठबन्धनले हेटौंडा क्याम्पस, वंशगोपाल, जनप्रिय र निर्मलमा विपरीत गठबन्धनलाई ‘क्लिन स्वीप’ गरेका हुन् । नेविसंघले वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) र अखिल क्रान्तिकारीले मकवानपुर क्याम्पसमा जितेको हो । जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी क्याम्पसमा भने सचिव नेविसंघबाट निर्विरोध हँदा सभापतिसहित बाँकी पदमा पनि बामविद्यार्थी गठबन्धनको प्यानल नै विजयी बनेको छ ।एमाले निकट अनेरास्ववियुले ८ वटा क्याम्पसमध्ये ४ वटा क्याम्पसमा सभापति लिएको थियो । नेकपा एस निकट अनेरास्ववियूले २ क्याम्पसमा सभापति लिँदा विप्लव निकट विद्यार्थी संगठनले एउटा क्याम्पसमा सभापति लिएको हो । एमाले निकटको अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वनविज्ञान र निर्मल बहुमुखी क्याम्पसको सभापति लिएको हो ।

नेकपा एस निकट अनेरास्ववियूले मनहरी बहुमुखी क्याम्पस, वंशगोपाल क्याम्पस लिँदा क्रान्तिकारीले हटियाको जनप्रिय क्याम्पस पाएको हो । यसैगरी, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, नेपाली कांग्रेस निकट सुवास सापकोटा अध्यक्ष रहेको नेविसंघ र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले आठवटै क्याम्पसमा भागबन्डा गरेर साझा उम्मेदवार खडा गरेका थिए । नेविसंघ, क्रान्तिकारी र राप्रविसको गठबन्धनमा सापकोटा पक्षको नेविसंघले ४ वटा क्याम्पसमा, अनेरास्ववियु क्रान्तिकारीले तीनवटामा र राप्रपाले १ वटा क्याम्पसमा सभापति लिएर भागबण्डा गरेका थिए । पालुङ बहुमुखी क्याम्पसको सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीले पाइसकेको छ । नेविसंघले हेटौंडा क्याम्पस, वनविज्ञान, मनहरी, जनप्रिय लिएको थियो । क्रान्तिकारीले मकवानपुर बहुमुखी, पालुङ, निर्मलको सभापति लिँदा राप्रविंसले वंशगोपालमा सभापतिमा भागबण्डा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*