प्रदेश राजधानीको ट्राफिक व्यवस्थापनमा उल्झन

भानुभक्त आचार्य
२०७९ चैत्र ७, मंगलवार १२:३५

हेटौंडाका विभिन्न सडकमा सवारी साधन अव्यवस्थित रुपमा पार्किङ गरिएकोले नगरको सुन्दरतामा आँच पुगेको भन्दै चोक चौतारो वा चियापसलमा बहस हुने गरेको छ । प्रदेशको राजधानी कायम भएपछि पहिलो चुनौती नै सवारी पार्किङको बनेको छ । हेटौंडाको मेनरोड साँघुरो छ । सडकको दायाँवायाँ क्षेत्राधिकार (राइट अफ वे) २५ मिटर हुनुपर्ने थियो । सडक फराकिलो पार्ने कार्यमा दृष्य, अदृष्य शक्तिले अवरोध गरिरहेकै छ ।

सडक फराकिलो पार्नका लागि घर भत्काउन पनि नदिने र सडक चौडा पनि चाहिने यो आफैंमा द्वैधचरित्र देखिन्छ । सडक फराकिलो चाहिने भए सडक क्षेत्राधिकारसम्बन्धी कानूनको पालना गरौं । हेटौंडालाई मानव बस्ती घोषणा गर्ने भन्दै चास्नी चटाउने काम गरियो । यो सबै राजनीति थियो भन्ने कुरा अहिले आएर बुझिएको छ । आजभन्दा २५ बर्षअघि हेटौंडाको तत्कालीन महेन्द्रचोक हालको बुद्धचोकमा चारैतर्फ ट्राफिक लाईट प्रयोगमा थियो । सडक पार गर्ने पैदलयात्रुलाई ट्राफिक लाइटले निकै सहज बनाएको थियो । जतिबेला सडकमा सवारी साधन पनि धेरै थिएन र पैदलयात्रु पनि थोरै थिए ।

२५ बर्षयता आएर सवारी साधन पनि सयौं गुना बृद्धि भयो र जनघनत्व पनि तीब्र रुपमा बृद्धि भयो । पञ्चायती कालमा मुख्यचोकमा मात्र राखिएको ट्राफिक लाइट अहिले कम्तिमा हेटौंडाको अलि भिडभाड हुने धेरै चोकहरुमा राखिएको हुनु पर्दथ्यो । तर, त्यो बुद्धचोकमा भएको एकमात्र ट्राफिक लाइटको साख पनि हेटौंडाबासीले जोगाउन सकेनन् । पछिल्ला दिनमा दैनिक जसो मुख्य चोकहरुमा अव्यवस्थित सवारीका कारण जाम हुने गरेको छ । बजार क्षेत्रमा पार्किङ गरिएको सवारीलाई बजार क्षेत्रभन्दा वरपर खुला स्थानमा पार्किङका व्यवस्था गर्न सकिएको छैन ।

हेटौंडामा पार्किङ व्यबस्थापनबारे धेरै पटक अन्तत्र्रिmया भएका छन् । अन्तक्रियामा सहभागीले तीनपांग्रे सवारीले बजार क्षेत्रको पार्किङ अस्तव्यस्त भएका बताएका छन् । मोटरसाइकलको चाप पनि कम्ता छैन । यतिबेला मोटरसाइकल अत्यावश्यक साधन भएको छ । पछिल्लो दसकमा साना सवारी साधन (चारचक्के) चढ्नेको संख्या पनि बढेकै छ । बसपार्क क्षेत्रभन्दा बाहिर पार्किङगरिएका सवारीलाई चारै क्षेत्रबाट बजार भित्रने स्थानमा निश्चित पार्किङ क्षेत्र तोकिनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

तीनपांग्रे सवारी साधनलाई क्रस गर्ने निश्चित स्थान तोकिदिने र मुख्य बजारक्षेत्रमा प्रवेश गर्न नदिने हो भने हेटौंडाको सुन्दरतालाई कुरुप हुनबाट जोगाउन सकिने उपाय पनि स्थानीयसँग छ । ठूला सवारीलाई उत्तरतर्फबाट आउनेलाई चौकीटोलबाट, पश्चिमबाट आउनेलाई राप्तीपुलबाट, पूर्बतर्फबाट आउनेलाई पिप्लेतिर व्यबस्थापन गर्न सकिए मुख्य बजार क्षेत्रमा चाप हुने थिएन । ढुंगा, गिट्टी, बालुवा बोक्ने सवारीलाई साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मको निश्चित समय तोकिदिने, सामान ढुवानीसाधनलाई लोड÷अनलोड गर्न साँझ र विहानको समय तोकिदिने हो भने पनि बजार क्षेत्रमा टूाफिक जाम कम हुने थियो । हेटौंडाको सीमाचोक, बुद्धचोकमा रहेको म्याजिक स्टेशनलाई अन्त सार्न सकिए बजारको सुन्दरता जोगाउन सकिने सुझाव आएको छ ।

पार्किङ व्यबस्थापनबारे हालसम्म भएका छलफलले मात्र सार्थकता नपाउने निश्चित छ । सम्बन्धित पक्षले कडाइसाथ कार्यान्वयन गर्न सकेमात्रै समस्या हल हुनेछ । ट्राफिक प्रहरी, उपमहानगरपालिका, यातायात व्यबसायी संघ, स्थानीय सरकार, यातायात व्यबस्था कार्यालय, व्यबसायी, सवारीचालक सबै पक्ष जिम्मेवार हुनसके यो समस्या हल हुने हो । भित्री सिंगल सडकमा चारचक्के सवारी चल्न रोक लगाउन सके पनि पार्किङ व्यबस्थापन गर्न सहज हुने थियो ।

सडकमा सवारी बढ्यो तर, सडक बढ्न सकेन । त्यसले गर्दा हेटौंडामा पार्किङ व्यबस्थापन हुन नसकेको हो । हरेक रोडमा एक साइडमात्र पार्किङ गर्न सकियो भने पनि सवारी चाप नियन्त्रण गर्न सकिने छ । प्रहरीले मात्र पार्किङ व्यबस्थापन गर्न सक्ने अवस्था छैन । सर्वसाधारणले पनि बिनाबर्दीको प्रहरीको भूमिका निभाउन सके त्यो सम्भव हुनेछ । हेटौंडालाई व्यबस्थित गर्न सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै उपमहानगरपालिकाले कठोर निर्णय लिनैपर्छ ।

हेटौंडाको सौन्दर्य बढाउन उपमहानगरपालिकाले थप योजना बनाइरहेको भनिएको छ । तर, त्यस्ता योजनाका बारेमा जति ब्यापक मात्रामा बहस–पैरबी हुनुपर्ने हो त्यो हुन सकेको छैन । निजी सवारीलाई पार्किङका लागि आगामी वर्षमा प्रत्येक घरले निर्माणका क्रममा पार्किङका लागि अन्डरग्राउण्ड बनाउनै पर्ने मापदण्ड निर्माण गर्न लागिएको चर्चा छ । वनविज्ञान अध्ययन संस्थानको अगाडि रहेको मेनरोडको भागलाई पार्किङकै लागि ठाउँ खाली गर्दै गरेको जानकारी उपमहानगरले दिएको छ ।

बजारलाई व्यबस्थित गर्न हाम्रो प्रतिवद्धता र व्यबहारलाई परिवर्तन गर्न जरुरी छ । व्यक्तिमा आडम्बरी पना र देखावटी प्रवृत्तिले गर्दा बजार व्यबस्थापनमा समस्या छ । जो शक्तिमा छ, त्यो पक्षले उचित ध्यान दिन नसकेकोले पनि समस्या भइरहेको छ । समयको आवश्यकताअनुसार चल्न नसक्नु पनि अर्को समस्या हो । हेटौंडा, प्रदेशको राजधानी भएसँगै सवारीचाप बढ्यो तर, ट्राफिक दरबन्दी नबढ्नु अर्को समस्या हो ।

हरेक सवारी चालकले लेन अनुसाशन पालना नगर्दा हुने दुर्घटना पनि समस्याकै रुपमा देखिको छ । सवारी चालक अनुसाशित नभएको खण्डमा ट्राफिक प्रहरीको दर्बन्दी जति बढाएपनि समस्या समाधान हुनेवाला छैन । नेपाल सरकारले राजश्व उठाउने नाममा नेपालको सडकमा गुडाउनै नसकिने मोटरसाइकल पनि आयात गर्न दिएको छ ।
नेपालको सडक र नेपालीको आयश्रोतलाई मध्यनजर गर्दै मोटरसाइकल आयात गर्ने हो भने १५० सीसी क्षमता भन्दा माथिका मोटरसाइकल आवश्यक छ या छैन ? भन्ने बिषयमा बहस गर्न ढिलो भइसकेको छ ।

देशको अर्थतन्त्र नै आयातमुखी भएको समयमा हामीले गम्भीर भएर सोच्नै पर्छ कि वास्तवमै न्यूनतम आवश्यकताको परिपूर्ति गर्ने कामलाई प्राथमिकता दिने र बिलासितालाई निरुत्साहित गर्ने ।तर, सरकारले राजश्व उठाउनकै लागि भएपनि जुनसुकै ब्राण्डका जुनसुकै क्षमताका सवारी साधन पनि निर्बाध नेपाल भित्राउन दिएको छ । यो अर्को समस्या हो । त्यसैले समस्यामाथि समस्या थपिएको अवस्थामा कुनैपनि ब्यक्तिले जादु गरेको जस्तै ट्राफिक जामको समस्या समाधान गरिहाल्ने अवस्था पनि छैन । बहस धेरै पटक गरियो । अब साँच्चै काम गरौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*