मुख्यमन्त्री जम्कट्टेलसँग कांग्रेस र नेकपा एस असन्तुष्ट

साझाकुरा
२०७९ चैत्र ७, मंगलवार १२:४५

हेटौंडा-बागमती प्रदेशमा वर्तमान सत्ता गठबन्धनको सरकार गठनअगावै असन्तुष्टि सुरु भएको छ । गठबन्धनभित्रै खटपट देखिन थालेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) असस्तुष्ट बनेका छन् । बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा जम्कट्टेलले सरकारको नेतृत्व गरेका थिए । उनी यसअघिको नेकपा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सरकार गठन हुँदाको राप्रपाले भने सरकारलाई दिएको समर्थन १३ फागुनमै फिर्ता लिइसकेको छ । एमाले भने सोमबारसम्म सरकारमै सहभागी छ ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले ८ चैतमा विश्वासको मत लिँदैछन् ।कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने भएकाले जम्कट्टेलले १३ चैतभित्र विश्वासको मत लिनुपर्ने अन्तिम म्याद हो । उनले ८ चैतमा विश्वासको मत लिने तयारी गरेपछि गठबन्धनका कांग्रेस र नेकपा एसले असन्तुष्ट जनाएका हुन् । गठबन्धनका दलहरुसँग कुनै छलफलसमेत नगरी विश्वासको मत लिने मिति तय गरेको भन्दै दुई पार्टी रुष्ट बनेका छन् । जम्कट्टेललाई विश्वासको मत लिएपछि सरकार विस्तार गर्नुपर्ने हुन्छ । उनले विश्वासको मत पाएपछि सरकार विस्तारको तयारीसमेत गरेका छन् । तर, सरकारमा सहभागिता हुनुपर्ने विषय विश्वासको मत अगाडि नै टुंग्याउनुपर्नेमा कांग्रेस र एकीकृत समाजवादी छन् ।

विश्वासको मत लिनु ४८ घण्टासम्म मुख्यमन्त्री र दुई दलसँग सम्बन्धमा चिसोपना आउनुले जम्कट्टेललाई संकट देखिएको छ । जम्कट्टेलले गठबन्धनका दुई प्रमुख दलसँग कुनै छलफल नै नगरी विश्वासको मत लिन खोजेको, सरकार गठनको प्रक्रिया र सहभागिताका सम्बन्धमा कुनै चासो नदेखाएको भन्दै कांग्रेस र नेकपा एस बागमती प्रदेशसभाका नेतृत्वले पार्टी शीर्षतहसँग छलफल चलाएका छन् । सोमबार बिहान कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा, उपनेता रामकृष्ण चित्रकारलगायतका नेताहरु पार्टी सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका थिए ।

भेटमा सभापति देउवालाई मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुअघि छलफल नगरेको र कुनै सहमति नजनाएको अवस्थामा विश्वासको मत नै नदिने चेतावनी दिएको स्रोतले जानकारी दिएको छ । ‘हामीसँग कुनै छलफल भएको छैन । विश्वासको मत लिनुअघि सरकारमा सहभागी हुने दलहरुसँग कुनै छलफलसमेत भएन । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस हो, कांग्रेससँग छलफल गर्नुपर्नेमा उहाँ एक्लै हिँड्न खोज्नु भएको छ’, देउवासँगको भेटमा रहेका एक नेताले साझाकुरासँग भने । सभापति देउवालाई जम्कट्टेलले गठबन्धनभित्र सहमति नगरे विश्वासको मत दिन्नौं भनेकोसमेत उनले बताए ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामाले भने देउवा भेट्न बुढानिलकण्डस्थित देउवा निवास पुगेको स्वीकार गरे । उनले विश्वासको मत लिने विषयमा मुख्यमन्त्रीसँग कुरा भएको तर, प्रसंगले कुरा हुन पुगेको बताए । बजेटको विषयमा कुरा गर्दा मुख्यमन्त्रीले विश्वासको मत ८ गते लिनपर्छ भनेको स्मरण गर्दै लामाले भने, ‘मैले छलफल र दलभित्र कुरा नभई निर्णय दिन नसक्ने र आफ्नै हिसाबले मिति तोक्नु भनेको हुँ । पछि त ८ गते विश्वासको मत लिने भनेर सुनेँ ।’, जम्कट्टेलले १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । कांग्रेसले भने १२ गते विश्वासको मत लिने मिति तय गर्नुपर्ने बटमलाइन बनाएको छ ।

‘विश्वासको मत लिने मिति सर्नुपर्छ । त्यसबीचमा भागबण्डाको विषय पनि छन्, सहमति हुनुपर्छ ।’, कांग्रेसका नेता लामाले भने । नेकपा (एस) का एक प्रदेशसभा सदस्यले भने मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनु अगावै राजनीतिक सहमति गर्नुपर्ने बताए । ‘मुख्यमन्त्रीज्यू विश्वासको मत लिन असफल हुनुभयो भने के हुन्छ ? सहमति नभएसम्म विश्वासको मत दिँदैनौं । कमसेकम गठबन्धनका दलसँग पनि छलफल गर्नुपर्छ नि । हाम्रो पार्टीसँग कुनै छलफल नै भएको छैन्’, ती सांसदले भने । उनले कांग्रेससँग निरन्तर छलफल भइरहेको र एउटै एजेण्डामा अडिक रहेको पनि जानकारी दिए ।कांग्रेस र नेकपा एसले आ–आफ्ना पार्टी नेतृत्वसँगको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने मिति सार्नुपर्ने र त्यसबीचमा सरकारमा सहभागिताको विषयलाई सहमति गर्नुपर्ने बटमलाइन बनाएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलका राजनीतिक सल्लाहकार डीपी ढकालले गठबन्धनका दलहरुसँग विश्वासको मत लिने विषयमा छलफल भएको बताए । बागमती प्रदेशसभामा कूल ७ वटा दलको प्रतिनिधित्व छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ । एकसय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद् भए पुग्छ । नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएसँगै सरकार गठनमा बहुमत पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*