मुख्यमन्त्रीले आज विश्वासको मत लिनेमा अन्यौल

साझाकुरा
२०७९ चैत्र ८, बुधबार ११:०८

हेटौंडा-बागमती प्रदेशमा वर्तमान सत्ता गठबन्धनको सरकार गठनअगावै असन्तुष्टि सुरु भएपछि आज बुधवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लिने विश्वासको मत अन्यौलमा परेको छ ।८ चैत बुधवारका दिन जम्कट्टेलले विश्वासको मत लिने मिति यसअघि नै तय भइसकेको छ । प्रदेशसभा सचिवालयले पनि बैठक आज ३ बजे बस्ने गरी बोलाएको छ । तर, गठबन्धनको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले आज बुधवार नै ११ बजे काठमाडौंमा संसदीय दलको बैठक बोलाएको छ । ११ बजे संसदीय दलको बैठक बोलाएपछि जम्कट्टेलले आज नै विश्वासको मत पाउनेमा आन्यौलता देखिएको हो । विश्वासको मत लिनु अघि गठबन्धनको प्रमुख दलसँग कुनै छलफल नै नगरेको भन्दै कांग्रेस रुष्ट छ ।

मंगलबार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा, प्रदेश सांसद कुन्दनराज काफ्लेलगायता नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर विश्वासको मतको विषयमा छलफल गरेका छन् । देउवाले प्रदेशमा आन्तरिक विषय छलफलबाट टुंग्याउन निर्देशन दिएको बुझिएको छ । ‘सभापतिज्यूले आन्तरिक विषय छलफलबाट टुंग्याउनु भन्नु भएको छ । बाँकी गठबन्धनको निर्णयअनुसार अगाडि बढ्नुपर्छ भन्नु भएकोले आज ११ बजे काठमाडौंमा प्रदेश संसदीय दलको बैठक छ,’ कांग्रेस सांसद कुन्दनराज काफ्लेले भने ।

उनको भनाईअनुसार मुख्यमन्त्रीलाई आज बुधवार नै विश्वासको मत दिने वा नदिनेमा निश्चित भइनसकेको हो । ‘विश्वासको मत दिने कुरामा हामी निश्चित छौं । विश्वासको मत दिएर सरकारमा जाने कुरा हो । तर, भोली नै विश्वासको मत दिने वा नदिने संसदीय दलको बैठकबाट निर्णय हुन्छ’, काफ्ले भन्छन्, ‘समय सीमाभित्र विश्वासको मत दिन भ्याए भ्याइन्छ, नत्र पर्सी दिउला ।,’ उनले मुख्यमन्त्रीसँग सरकार सम्बन्धमा सहमति नभएसम्म कुरा अगाडि नबढ्ने बताए । बागमती प्रदेशमा नयाँ सिराबाट कुरा अगाडि बढ्ने बताए । कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलसँग सरकारको नेतृत्व गर्ने विषयमा र भागबण्डाका लागि सहमति खोजेको छ ।

तर, जम्कट्टेल भने सहमतिबाट भाग्न खोजेको देखिन्छ । विश्वासको मत लिनु अघि गठबन्धनमा कुनै छलफल नै नगरेको भन्दै मुख्यमन्त्री जम्कट्टेलसँग गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) असस्तुष्ट बनेका हुन् । विश्वासको मत लिनु २४ घण्टा अघिसम्म मुख्यमन्त्री र दुई दलसँग सम्बन्धमा चिसोपना आउनुले जम्कट्टेललाई संकट देखिएको छ । यद्यपि, नेपाली कांग्रेस प्रदेश कार्यसम्पादन समितिको मंगलबार काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय भने गरिसकेको छ । तर, उक्त निर्णय भोली नै दिने वा नदिने भन्ने सम्बन्धमा लागू नहुने पार्टी प्रदेश महामन्त्री राजु श्रेष्ठ बताउँछन् ।

‘विश्वासको मत दिने र सरकारमा सहभागी हुने पार्टीले निर्णय गरेपनि भोली नै नदिन पनि सकिन्छ । छलफलबाट टुंगिएला’, श्रेष्ठले भने । बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा जम्कट्टेलले सरकारको नेतृत्व गरेका थिए । उनी यसअघिको नेकपा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सरकार गठन हुँदाको राप्रपाले भने सरकारलाई दिएको समर्थन १३ फागुनमै फिर्ता लिइसकेको छ । एमाले भने सोमबारसम्म सरकारमै सहभागी छ ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले ८ चैतमा विश्वासको मत लिँदैछन् ।कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने भएकाले जम्कट्टेलले १३ चैतभित्र विश्वासको मत लिनुपर्ने अन्तिम म्याद हो । तर, कांग्रेस र नेकपा एसले विश्वासको मत लिने मिति सार्नुपर्ने अडान लिएका छन् । सरकारका सम्बन्धमा आवश्यक सहमति गरेपछि ११ वा १२ गते विश्वासको मत दिन सकिने कांग्रेस र नेकपा एसले स्पष्ट बताइसकेका छन् । गठबन्धनका दलहरुसँग कुनै छलफलसमेत नगरी विश्वासको मत लिने मिति तय गरेको विषय कांग्रेसका लागि स्वीकार्य नहुने संसदीय दलका नेता बहादुर सिं लामाले बताएका छन् । सोमबार बिहान दलका नेता लामा, उपनेता रामकृष्ण चित्रकारलगायतका नेताहरुले पार्टी सभापति देउवा भेटेका थिए ।

भेटमा सभापति देउवालाई मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुअघि छलफल नगरेको र कुनै सहमति नजनाएको अवस्थामा विश्वासको मत नै नदिने चेतावनी दिएका थिए । कांग्रेस र नेकपा एसले आ–आफ्ना पार्टी नेतृत्वसँगको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने मिति सार्नुपर्ने र त्यसबीचमा सरकारमा सहभागिताको विषयलाई सहमति गर्नुपर्ने बटमलाइन बनाएका हुन् । यता, मुख्यमन्त्री जम्कट्टेल भने पर्ख र हेरको रणनीतिमा छन् । यसअघि प्रदेश सभाका दुईतिहाइ भन्दा बढी सांसदको विश्वासको मत पाएका जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । गत २५ पुसमा एमाले, राप्रपासहित ५ दलका ७० जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका तीनजना सांसदबाहेक एक सय पाँचजना सांसदले विश्वसको मत दिएका थिए ।

बागमती प्रदेशसभामा कूल ७ वटा दलको प्रतिनिधित्व छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ । एकसय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद् भए पुग्छ । नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएसँगै सरकार गठनमा बहुमत पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*