फुटबलको राष्ट्रिय टोलीमा हेटौंडाका विष्ट र घलान
हेटौंडा-आज बुधवारबाट काठमाडौंमा सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार थ्री नेसन्स कप फुटबलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । राष्ट्रिय टोलीमा हेटौंडाका अञ्जन विष्ट र आयुष घलान परेका छन् । अञ्जन र घलान यसअघि पनि राष्ट्रिय टोलीमा सदस्य थिए । विगतको राष्ट्रिय टोलीमा हेटौंडाका तीन जना खेलाडी थिए । सुनिल बल विदेशीएसँगै विष्ट र घलान मात्रै भएका छन् ।
अञ्जन हेटौंडा–१०, भुटनदेवी मन्दिर निवासी हुन भने घलान हेटौंडा–१८ हर्नामाडी मूल घर भएका हुन् । तर, घलान भने काठमाडौंमै जन्मिएर उतै फुटबल खेल्दै हुर्किएको मकवानपुरका पूर्वफुटबलर सुबिन घिमिरेले बताए । घलानको बाबु हर्नामाडीबाट काठमाडौं बसाई सरेका थिए ।नागरिकतामा मकवानपुर स्थायी ठेगाना भएकाले मकवानपुरले उनलाई जिल्लाको गौरवको रुपमा लिने गरेको छ । यसैगरी, राष्ट्रिय टिममा प्रशिक्षक अल्बर्टोले सात जना नयाँ खेलाडीलाई प्रवेश दिएका छन् । नयाँ खेलाडीमा भने मकवानपुरका कोही परेनन् ।
राष्ट्रिय टोलीमा पदम भट्टराई, दीपकराज सिंह ठकुरी, मणिकुमार लामा, अभिषेक बराल, सुमित श्रेष्ठ, नवीन लामा र सनिश श्रेष्ठ पहिलो पटक समावेश भएका हुन् । चैत ८ गते बुधबार उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ । ११ गते शनिबार भुटान र लाओसबीच खेल हुनेछ । नेपालले १४ गते भुटानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् । राष्ट्रिय टिमको गोलरक्षकमा किरण कुमार लिम्बु, दीप कार्की र अभिषेक बराल छन् ।
डिफेन्डरा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान्त खड्का, मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास तथा फर्वाडमा हेटौंडेली अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी अटाएका छन् ।
नवनियुक्त प्रशिक्षक अल्बर्टोले काठमाडौंमा जारी ए डिभिजन लिगमा खेलिरहेका खेलका आधारमा पनि नयाँ खेलाडीलाई टिममा राखेका हुन् । मकवानपुरका २० जना खेलाडी एक डिभिजन लिग खेलिरहेका छन् । फुटबलको उर्बर भूमिका रुपमा चिनिँदै आएको मकवानपुरका दुई दर्जन युवा खेलाडीहरुले ए डिभिजन लिग खेल्ने मौका पाएका थिए । अञ्जन चर्चब्वाइज क्लबमा आवद्ध छन् । घलान संकटा क्लबमा आवद्ध छन् ।
विमल पाण्डे, विकु तामाङ पनि लिगमा आवद्ध छन् । हर्नामाडी घर भएका पाण्डे त्रिभुवन आर्मी क्लब र हेटौंडाको ४ नम्बर वडास्थित कर्राका तामाङ नेपाल एपीएफ क्लबबाट खेलिरहेका छन् ।मकवानपुरका छिरिङ लामा, समिरराज थोकर र अनिस देउला जवलाखेल युथ क्लबमा रहेका छन् । खुमलटार फुटबल क्लबका रोशन दोङ, फ्रेन्ड्स क्लबका सुजल श्रेष्ठ, फ्रेन्ड्सकै एञ्जल महर्जन र अस्मिर गोङ्बा मकवानपुरे खेलाडी हुन् । हेटौंडाको विजय युथ क्लबदेखि पिप्ले युवा क्लबबाट मोफसलमा खेलेका डिफेन्डर सुरज विष्ट लिग सुरु हुनु अगाडि हिमालयन शेर्पामा आवद्ध भएका हुन् ।
हिमालयन शेर्पामा आवद्ध विश्व लामा, थ्रीस्टार क्लबमा रहेका प्रताब तामाङ, नेपाल एपीएफ क्लबबाट खेल्ने विशाल स्याङ्तान, नेपाल पुलिस क्लबका ऋषि मगर, पुलिसकै अनुराग लामिछाने मकवानपुरे हुन् । मकवानपुरे ललित चौलागाईं र अनिष महर्जन संकटा क्लबबाट लिग खेलिरहेको फुटबल संघ मकवानपुरले जनाएको छ ।