कांग्रेसको बाटो हेर्दाहेर्दै मुख्यमन्त्रीको ‘हातमा लाग्यो शुन्य’

१० चैतमा सारियो प्रदेशसभा बैठक, एमाले बैठकमा आउन नभ्याउने
साझाकुरा
२०७९ चैत्र ९, बिहीबार १२:२१

हेटौंडा-बागमती प्रदेशमा पूर्वनिर्धारीत मितिअनुसार बुधवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिन सकेनन् । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सांसद विश्वासको मत दिन हेटौंडा नआएपछि अन्ततः मुख्यमन्त्री जम्कट्टेल प्रदेशसभा बैठक सार्न बाध्य भए । ८ चैत बुधवार विश्वासको मत लिन जम्कट्टेलको पत्रपछि प्रदेशसभा सचिवालयले ३ बजेलाई प्रदेशसभा बैठक बोलाएको थियो । तर, जम्कट्टेलको विश्वासको मत लिने योजना जब तुहियो जतिबेला नेपाली कांग्रेसका सांसद काठमाडौंबाट हेटौंडा नै आएनन् ।

जम्कट्टेलले बिहानदेखि दिउसोसम्म पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै कांग्रेसका सांसदहरु हेटौंडा आएर विश्वासको मत दिनेमा ढुक्क देखिन्थे । ‘कांग्रेसका साथीहरुसँगको कुरामा १२, १ बजे हिँड्ने कुरा छ । उहाँहरुले आजै विश्वासको मत दिनुहुन्छ’, उनले पत्रकारहरुलाई भनिरहेका थिए ।तर, कांग्रेसका सांसदहरुको बाटो हेर्दाहेर्दै मुख्यमन्त्री जम्कट्टेलको ‘हातमा लाग्यो शुन्य’ भएको छ । सत्ता गठबन्धनको प्रमुख दलसँग कुनै छलफल नै नगरी विश्वासको मत लिने मिति एकतर्फी रुपमा तय गरेको भन्दै कांग्रेस रुष्ट बनेको थियो । कांग्रेसले मुख्यमन्त्रीसँग कुनै सहमति हुन नसकेको अवस्थामा विश्वासको मत दिन नसक्ने स्पष्ट बताइरहँदा पनि जम्कट्टेलले वेवास्ता गरेको जनाइएको छ । अन्ततः मुख्यमन्त्री जम्कट्टेलको प्रदेश भागबण्डा लाग्नु अगावै विश्वासको मत लिएर सरकार टिकाउने योजनामा कांग्रेसले ब्रेक लगाएको छ । वर्तमान सत्ता गठबन्धनको शिर्ष तहमा देशका ७ प्रदेशको नेतृत्व भागबण्डा लाग्नु अगाडि नै विश्वासको मत लिने जम्कट्टेलको रणनीतिले कांग्रेस निरन्तर तर्किएर हिँडिरहेको बुझिन्थ्यो ।

कांग्रेसले भने जम्कट्टेल मुख्यमन्त्री हुँदाको परिस्थति र वर्तमान सत्ता समिकरणको अवस्था फरक रहेको भन्दै सरकार गठनमा नयाँ सिराबाट अघि बढ्नुपर्ने धारणा
राखेको छ । यसको अर्थ, कांग्रेसले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरिरहेको प्रष्ट बुझ्न सकिन्छ । कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरिरहँदा जम्कट्टेल भने भागबण्डा लाग्नु अगावै विश्वासको मत लिएर सरकार टिकाइराख्ने रणनीतिमा लागेका हुन् । जसको परिणाम बुधवार उनले विश्वासको मत पाउन नसकेको चर्चा चलेको छ । उनले विश्वासको मत लिने मिति १० चैतलाई सारेका छन् । गठबन्धनका दलहरुसँगको सहमतिमा दुई दिनपछि विश्वासको मत दिने मिति तय गरेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिएका छन् ।

कांग्रेसले प्रदेशका गठबन्धन दलसँग सरकारका सम्बन्धमा सहमति नभएसम्म विश्वासको मत नदिने अडान लिएको थियो । कांग्रेसलाई नेकपा (एकीकृत समाजवादी) ले पनि साथ दिएको छ । बुधवार सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमाले पनि तत्काल निर्णय नगर्ने भन्दै सर्त अगाडि सारेको छ । कांग्रेस, नेकपा एस र एमालेको पछिल्लो गतिविधिले मुख्यमन्त्री जम्मकट्टेल थप चेपुवामा परेका छन् । विश्वासको मत लिने पहिलो प्रयासमा असफल भएपछि तनावमा परेका जम्मकट्टेललाई सरकारमै रहेको नेकपा एमालेले पनि सर्त अगाडि सारेको हो ।

प्रमुख सर्तका रुपमा एमालेले सरकारबाट बाहिरिनु अघि प्रदेशसभामा सम्बोधन गर्ने निर्णय गरेको छ ।एमालेले भने १२ चैतमा प्रदेशसभा बैठक राखेर विश्वासको मत लिन प्रस्ताव गर्ने निर्णय गरेको छ । हेटौंडामा बसेको एमाले संसदीय दलको बैठकले १२ चैतमा प्रदेशसभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक मधूसुदन पौडेलले बताए । एमालेले सरकारबाट बाहिरिनु अघि प्रदेशसभामा सम्बोधन गर्ने निर्णय गरेको उनले बताए । जसका लागि १० गते बैठकमा सहभागी हुन नसक्ने एमालेको भनाई छ । जम्मकट्टेलले १० गते नै विश्वासको मत लिने तयारी गरेका बेला एमालेले पार्टीको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै १२ गतेलाई बैठक बोलाउन निर्णय गरेको हो ।

संवैधानिक व्यवस्था अनुसार जम्कट्टेलले १३ चैतभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । कांग्रेसले भने गठबन्धनमा प्रदेशको भागवण्डा गराएर मुख्यमन्त्री लिने दाउमा छ । जम्मकट्टेल पनि भागवण्डा लाग्नु अगावै विश्वासको मत लिएर सरकारमै टिकिराख्ने रणनीतिमा छन् । जम्मकट्टेलको यो चाल बुझेपछि कांग्रेस निरन्तर तर्किएर हिँडिरहेको हो । उनलाई विश्वासको मत पाउन र सरकार गठनका लागि कांग्रेसको साथ अपरिहार्य छ । नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएसँगै
सरकार गठनमा बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ । एकसय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद् चाहिन्छ ।

कांग्रेसले अब बन्ने प्रदेश सरकार नयाँ सिराबाट अगाडि बढ्ने कांग्रेस मुख्य सचेतक कुन्दनराज काफ्ले बताउँछन् । बागमती प्रदेशमा कांग्रेस ३७ सिटसहित सबैभन्दा ठूलो दल रहेकोले मुख्यमन्त्रीमा स्वभाविक दाबी रहेको संसदीय दलको नेता बहादुरसिंह लामाले बताए । ‘हामी सबैभन्दा ठूलो दल हो । निर्वाचनपछि बन्ने सरकारमा पनि हाम्रो मुख्यमन्त्री दावी स्वभाविक थियो । अब पनि दाबी हाम्रै हुन्छ’, लामाले भने । उनले गठबन्धनको निर्णयअनुसार कांग्रेस अगाडि बढ्ने बताए । लामाको भनाईमा गठबन्धनको प्रदेश भागबण्डाको टुंगो नलाग्दासम्म विश्वासको मत दिन नसक्ने आशय व्यक्त भएको बुझिन्छ । तर, विश्वासको मत दिएपनि कांग्रेससँग जम्कट्टेलले लिखित सहमति गर्नुपर्ने उनको अडान छ ।

बागमतीमा कांग्रेसको मत बिना जम्कट्टेललाई विश्वासको मत पाउन मुस्किल छ । उनलाई सरकार गठनका बेला समर्थन गरेका नेकपा एमाले र राप्रपाले सहयोग गर्ने अवस्था करिब शुन्य छ । यद्यपि, नेपाली कांग्रेस प्रदेश कार्यसम्पादन समितिको मंगलबार काठमाडौंमा बसेको बैठक र बुधवार मध्यान्ह १२ बजे काठमाडौंमै बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय भने गरिसकेको छ । यसअघि २५ पुसमा नेकपा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरकार गठन हुँदाको राप्रपाले भने सरकारलाई दिएको समर्थन १३ फागुनमै फिर्ता लिइसकेको छ । एमाले अझै सरकारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*