कर्मकाण्डी सहकारी दिवस

साझाकुरा
२०७९ चैत्र ९, बिहीबार १२:२५

बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवस–२०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । दिवस मनाउने समितिमा प्रदेशका बिद्वत बर्गको सहभागिता रहेको छ । तर, सहकारी दिवस केवल कर्मकाण्डी रुपमा मनाउने तयारी भएको देखिन्छ । दिग्गज बर्गका बिद्वान ब्यक्तिहरु बसेर सहकारी दिवस मनाउन समिति गठन गरिएको छ । प्रभातफेरी, रक्तदान, प्रबचन, साँझ दीपावली गरेर मनाउनु भनेको कर्मकाण्डी बिधि बाहेक केही होइन । यसवर्ष ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो । नेपालको पहिलो सहकारी चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइँदै आएको छ । नेपालमा सबैभन्दा शक्तिशाली र ग्रामीण तहसम्म नेटवर्क भएको भनेको सहकारी क्षेत्र नै हो । तर, सहकारी संस्थाले जे गर्नु जरुरी थियो त्यो गर्न सकेको छैन ।

सहकारी संस्थामा आवद्ध भएका सदस्यमध्येबाट केही सदस्यलाई उत्पादनमूखी ब्यवसायमा आबद्ध गराउने अभियानसहित सहकारी दिवस मनाउन किन सकिंदैन ? स्थानीय कच्चापदार्थको प्रयोगबाट उत्पादन गर्ने र सो उत्पादन सहकारी संस्थाले बजारीकरण गर्ने अभियान सहित सहकारी दिवस मनाउन के कुराले रोकेको छ ? भन्ने बेलामा तीनखम्बे अर्थनीति भन्ने तर, ब्यवहारमा भने सहकारीले घरजग्गामा लगानी गर्ने अभ्यासले सहकारीप्रतिको धारणा नै परिबर्तन भएको छ । प्रत्येक सहकारीले आफ्ना केही उत्साही सदस्यलाई भारतीय मुलुकका औद्योगिक ग्राममा अवलोकन भ्रमण गराउने र त्यहाँको प्रबिधि हाम्रो गाउँघरमा भित्राउने अभियान गर्न जरुरी छ । हाम्रो अर्थतन्त्र पूरै आयातमूखी भएको अवस्थालाई केही हदसम्म समाधान गर्न सक्ने भनेको सहकारी क्षेत्रले हो । उत्पादनमूलक ऋण लगानी गर्दा ब्याजमा अनुदान दिने र उत्पादित बस्तुले सहजै बजार पाउने वातावरण सृजना गर्न सहकारी संस्थाको भूमिका हुनुपर्दछ ।

तर, हामीकहाँ भएका सहकारी संस्थाले गरेको ८० प्रतिशत लगानी भनेको घर बनाउने र जग्गा किन्ने शीर्षकमा मात्र छ । हिन्दु परम्परामा जन्मदेखि मृत्युपर्यन्त चाहिने दुनाटपरी पनि भारतीय बजारबाट आयात गर्नु परिरहेको अवस्था छ । दाँत कोट्याउने सिन्का कोरिया र जापानबाट आयात भइरहेको छ । यो केवल उदाहरण मात्र हो । यस्ता सानातिना उपभोग्य बस्तु सहकारीमार्फत् हामी हाम्रै समाजमा उत्पादन गर्न किन सकिरहेका छैनौं । हामी भारतीय र तेस्रो मुलुकको उपभोक्तामुखी मात्र हौं त ? हामी गुन्द्रुक र सिन्की पनि आयात गर्ने अवस्थामा पुगिसकेका छौं ।

३÷४ दसक अगाडि हाम्रो सामाजिक संरचना कस्तो थियो ? अहिले कस्तो बन्दैछ ? अब पनि हामीले गंभीर भएर नसोच्ने ? एक दिन अस्पतालका बिरामीलाई फलफूल बितरण र साँझ दीपावली गरेरै दिवस मनाउनुको अर्थ के रहला ? परिबर्तनको नारा भाषण गर्नका लागि मात्र हो त ? यो बर्ष सहकारी दिवसमा एउटा नयाँ अभ्यासको थालनी किन नगर्ने ? सहकारी संस्थाले लाखौं परिवार समेटेको छ । गाउँगाउँसम्म नेटवर्क छ । नागरिकले दैनिक, साप्ताहिक, मासिक बचत गरिरहेका छन् । त्यो बचतलाई उत्पादनसँग किन नजोड्ने ? हामी जो जुन पदीय हैसियतमा छौं त्यहीँबाट परिबर्तनको सुरुवात किन नगर्ने ?

यसमा तपाइको मत

Your email address will not be published.


*