बागमतीलाई हराउँदै मकवानपुरगढी फाइनलमा

साझाकुरा
२०७९ चैत्र १०, शुक्रबार ११:४७

हेटौंडा-हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताअन्तर्गत् बिहीवारको खेलमा मकवानपुरगढी गाउँपालिकाले जित निकालेको छ ।
प्रतियोगिताअन्तर्गत् हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा दोस्रो सेमिफाइनल खेलमा मकवानपुरगढीले बागमती गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । निर्धारीत समय २–२ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरगढीले ५ गोल गर्दा बागमतीले ४ गोल मात्रै गर्न सक्यो । खेलको १७ औं मिनेटमा सरोज राईको गोलबाट बागमतीले अग्रता लिएको थियो । तर, बागमतीको अग्रता धेरै समय टिक्क पाएन । मकवानपुरगढीका सुरेन नेपालीले २३ औं मिनेटमै बराबरी गोल फर्काए । मकवानपुरको अग्रता दोब्बर बनाउन सुजन थिङले ५३ औं मिनेटमा गोल गरे ।

तर, मकवानपुरगढीको अग्रता पनि बागमतीले १ मिनेटमै बराबरीमा ल्यायो । बागमतीको लागि दोलखबहादुर थापा मगरले ५४ औं मिनेटमा गोल फर्काएका थिए । पेनाल्टी सुटआउटमा मकवानपुरगढीबाट सुजन भोम्जन, विवश थिङ, सञ्जिव घिसिङ, सुरेन नेपाली र अनिष घिसिङले गोल गरे । बागमतीको लागि दोलखबहादुर थापा मगर, किरण बजू, नवीन भोम्जन र अमन राईले गोल गर्दा कप्तान आकाश राना मगर भने चुके । उनको प्रहारलाई मकवानपुरगढीका गोलरक्षक अमर गोलेले रोकेका थिए ।

मकवानपुरगढीलाई फाइनल पु¥याउन निर्णायक भूमिका खेलेका गोले खेलको म्यान अफ दी म्याच चुनिएका छन् ।उनलाई जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान, मकवानपुरगढीका अध्यक्ष दोर्जे स्याङ्तान, हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपाने, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी र नगर खेलकुद समिति अध्यक्ष चन्द्र शाहीले ट्रफी प्रदान गरे । यसअघि प्रतियोगिताको फाइनलमा हेटौंडा उपमहानगरपालिका पुगेको छ । हेटौंडा उपमहानगरपालिका बुधवार भएको खेलमा भीमफेदी गाउँपालिकालाई एउटै खेलमा ७ गोल गर्दै उपाधि नजिक पुगेको हो । भीमफेदीले १ सान्त्वना गोल मात्रै फर्काउन सकेको थियो ।

प्रतियोगिताले नयाँ विजेता पाउने भएको छ । पहिलो संस्करणमा थाहा नगरपालिकाले उपाधि जितेको छ । थाहा यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको पहिलो संस्करणमा हेटौंडा उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताको फाइनल खेल भोली शनिवार हुने भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले जानकारी दिए । प्रतियोगिताको आयोजना जिल्ला समन्वय समिति मकवानपुर र व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गरेको हो । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*