मुख्यमन्त्रीलाई कांग्रेसले आज विश्वासको मत दिने

साझाकुरा
२०७९ चैत्र १०, शुक्रबार ११:४९

हेटौंडा-बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई आज सत्ता साझेदार दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ ।नेपाली कांग्रेसले आफ्नो अडान नछोडेपछि ८ चैतमै विश्वासको मत लिएर सुरक्षित हुन खोजेका मुख्यमन्त्री जम्कट्टेलको प्रयास विफल भएको थियो । कांग्रेसले विश्वासको मत लिनुअघि गठबन्धनको ठूलो दलसँग जम्कट्टेलले कुनै छलफल नगरेको भन्दै कांग्रेस असन्तुष्ट बनेको थियो । जसकारण ८ चैतमा प्रदेश सभामा विश्वाको मत लिने बैठकको तयारी भइरहँदा कांग्रेसका प्रदेश सांसदहरु भने काठमाडौंमै थिए । कांग्रेस सांसदहरु हेटौंडा नआएपछि जम्कट्टेल अन्ततः प्रदेशसभा बैठक सार्न बाध्य भएका थिए । जम्कट्टेलसँग छलफल गरेर आज शुक्रबार विश्वासको मत दिने भएको कांग्रेसका मुख्य सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

उनले मुख्यमन्त्री जम्कट्टेलसँग कांग्रेसले छलफल गरेको र आज विश्वासको मत दिनेमा कुनै शंका नभएको बताए । उनले जम्कट्टेलसँग राजनीतिक सहमति पनि भएको जानकारी दिए । तर, सहमति अहिले नै बाहिर ल्याउन नमिल्ने भन्दै सांसद काफ्लेले गठबन्धनका दलहरुको छलफलबाट विश्वासको मत दिन कांग्रेस तयार भएको बताए । ‘कांग्रेसले छलफल, सल्लाह र सहमति हुनुपर्छ भनेको थियो । गठबन्धनकै ठूलो दलको हैसियतले मुख्यमन्त्रीसँग सहमति भइसकेको छ । अहिले नै बाहिर ल्याउने कुरा भएन’, उनले भने ।

सत्ता गठबन्धनको प्रमुख दलसँग कुनै छलफल नै नगरी जम्कट्टेलले विश्वासको मत लिने मिति एकतर्फी रुपमा तय गरेको भन्दै कांग्रेस रुष्ट हुँदै पार्टी सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । संसदीय दलका नेता बहादुरसिं लामा, उपनेता रामकृष्ण चित्रकार, मुख्य सचेतक काफ्लेलगायतका नेताहरुले देउवालाई गत मंगलबार भेटेर जम्कट्टेललाई विश्वासको मत नदिने बताएका थिए । कांग्रेसले आफ्नो अडान नछोड्दा जम्कट्टेलको विश्वासको मत लिएर सरकार सुरक्षित गर्ने पहिलो योजनामै ब्रेक लाग्न पुगेको थियो । शुक्रबार विश्वासको मत पाएको अवस्थामा जम्कट्टेल थप सुरक्षित हुनेछन् ।

यसअघि २५ पुसमा नेकपा एमाले, माओवादी र राप्रपाको गठबन्धनबाट जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरकार गठन हुँदाको राप्रपाले भने सरकारलाई दिएको समर्थन १३ फागुनमै फिर्ता लिइसकेको छ । एमाले अझै सरकारमै छ । जम्कट्टेल नेतृत्वको सरकारलाई नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले समर्थन र विश्वासको मत दिएका थिए । कांग्रेसले भने सरकारलाई समर्थन नगरे पनि ३ माघमा विश्वासको मत भने दिएको थियो । नेपाल मजदुर किसान पार्टीले भने समर्थन र विश्वासको मत दिएको थिएन । सरकारबाट राप्रपाले समर्थन गरेपनि जम्कट्टेल सुरक्षित थिए ।

तर, राजनीतिक नैतिकता देखाउँदै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । उनलाई कतिपयले विश्वासको मत नलिए पनि फरक नपर्ने सुझाव दिएका छन् । नैतिकताका आधारमा विश्वासको मत लिने उनको निर्णयलाई भने धेरैले प्रशंसनीय मानेका छन् । संवैधानिक व्यवस्था अनुसार जम्कट्टेलले १३ चैतभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएसँगै सरकार गठनमा बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ । एकसय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद चाहिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*