सरकार निरन्तरता खोज्दै जम्कट्टेलले लिए दोस्रोपटक विश्वासको मत

साझाकुरा
२०७९ चैत्र १०, शुक्रबार १६:३६

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिँदै सरकार निरन्तरताको योजनामा सफल बनेका छन् ।वर्तमान सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरिरहँदा जम्कट्टेलले शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत पाए । कांग्रेसले जम्कट्टेल मुख्यमन्त्री फरक गठबन्धनबाट नियुक्त भएको भन्दै अबको सरकार वर्तमान गठबन्धनको भागबण्डाअनुसार अगाडि बढ्नुपर्ने बताउँदै आएको थियो । कांग्रेसले गठबन्धनको शिर्ष तहमा ७ वटै प्रदेश भागबण्डा हुँदा बागमती कांग्रेसले पाउनु पर्ने सन्देश दिइरहेको थियो । यसअघि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले पनि बागमतीमा कांग्रेसको मुख्यमन्त्रीमा स्वभाविक दावी रहेको बताउँदै आएका थिए ।

दोस्रोपटक विश्वासको मत लिएर मुख्यमन्त्रीमा टिकिराख्ने जम्कट्टेलको रणनीतिबाट तर्सिएको कांग्रेसकै कारण ८ चैतको प्रदेशसभा बैठक शुक्रबारलाई सारिएको थियो । उनले ८ चैतमै विश्वासको मत लिन प्रदेशसभा बैठक राखेका थिए । तर, कांग्रेसका सांसदहरु हेटौँडा नआएपछि बैठक १० चैतलाई सारिएको हो । कांग्रेसले विश्वासको मत लिनुअघि कुनै छलफल नगरेको र गठबन्धनका दलहरुसँग राजनीतिक सहमतिको प्रयास पनि नगरेको भन्दै असन्तुष्ट जनाएको थियो । जम्कट्टेलसँगको आवश्यक छलफल तथा सहमति पछि शुक्रबार विश्वासको मत दिएको कांग्रेस मुख्य सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

नेपाली कांग्रेसले सरकारको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भइरहँदा बागमती कांग्रेसले पाउनुपर्ने बताउँदै आएको हो । तर, नेकपा एमाले र राप्रपासँगको गठबन्धनबाट जम्कट्टेल २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । सत्ता समिकरणमा फेरबदल आएसँगै बागमती प्रदेश सरकारको नेतृत्वमा पनि परिवर्तन हुनसक्ने सम्भावनाका बीच जम्कट्टेलले विश्वासको मत लिएका हुन् । राप्रपाले १३ फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका थिए ।

प्रदेशसभा सदस्यहरुका अनुसार दोस्रोपटक पनि विश्वासको मत लिएर जम्कट्टेल मुख्यमन्त्रीमा सुरक्षित भएका हुन् । कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरिरहेका बेला विश्वासको मत पाएपछि गठबन्धनमा माओवादीले बागमती भागबण्डा गर्न नमान्ने विश्लेषण छ । गठबन्धनभित्र प्याकेजमा भागबण्डा हुँदा बागमती माओवादीको स्वभाविक दाबीमा
रहन्छ । जसकारण जम्कट्टेलको मुख्यमन्त्री पद जोगिन पुग्छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त
गरेका छन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा प्रदेशसभाको शुक्रबारको बैठकमा उपस्थित ९१ जना सांसदमध्ये ६७ जना सांसदले हस्ताक्षर गरेका हुन् । उनको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसका थिए । जम्कट्टेललाई माओवादीसहित, कांग्रेस, नेकपा एस र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको हो । नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विश्वासको मत दिएनन् ।

जम्कट्टेलले यसअघि ३ माघमा पहिलोपटक विश्वासको मत लिएका थिए। उनलाई त्यतिबेला प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका थिए । प्रदेश सभामा १ सय १० जना सदस्य रहेकोमा मतदानमा १ सय ९ जना सहभागी थिए । मुख्यमन्त्री जम्कट्टेलका पक्षमा १ सय ५ मत आएको थियो । बागमती प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ । मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिएका थिए । कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा थियो ।

नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएसँगै सरकार गठनमा बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ मत छ । एकसय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद चाहिन्छ । जम्कट्टेलले सरकार विस्तारको तयारी पनि गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*