बागमती सरकारबाट एमालेको साढे दुई महिनामै बर्हिगमन

साझाकुरा
२०७९ चैत्र ११, शनिबार १३:००

हेटौंडा-नेकपा एमाले साढे दुई महिनामै बागमती प्रदेश सरकारबाट बर्हिगमन भएको छ । २५ पुसमा एमाले, राप्रपाको समर्थनमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनपछि दुईपटक गरेर एमालेकामन्त्रीहरु सरकारमा नियुक्त भएका थिए । २६ पुसमा एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको नियुक्ति र सपथ एकैपटक लिएका थिए । बाँकी एमालेका ३ जना मन्त्रीहरु केशव पोख्रेल, रामेश्वर श्रेष्ठ र एकालाल श्रेष्ठले भने ११ माघमा पद तथा गोपनीयताको सपथ खाएका थिए । सरकारमा सहभागी भएको ७४ दिनमा एमालेले शुक्रबार सरकारबाट हात धुनु परेको हो । केन्द्रीय सत्ता समिकरणमा फेरबदल आएसँग एमाले बागमती सरकारबाट पनि बाहिरिने निश्चित थियो । तर, मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत लिने दिन कुरेर एमाले बसेको थियो ।

जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने प्रदेशसभा बैठकमै एमालेले राजिनामा बुझाएको हो । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ४ मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा पत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग इमान्दारिता नदेखाएको भन्दै प्रदेश सरकारलाई समर्थन गरिरहनु आवश्यक नरहेको जनाएको थियो ।

एमाले संसदीय दलका नेता थपलियाले शुक्रबारको प्रदेशसभालाई सम्बोधन गर्दै सरकारबाट बाहिरिएको र सशक्त प्रतिपक्षको भूमिकामा रहने घोषणा गरेका थिए । नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहेका थिए । एमालेबाट एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*