१३ र्औं जीतपुर–सिमरा गोल्डकप वीरगञ्ज यूनाईटेड क्वाटरफाइनलमा

साझाकुरा
२०७९ चैत्र ११, शनिबार १३:२०

हेटौंडा- वागमती यूवा क्लबविरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुर सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमती विरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमती विरुद्ध खेलको ५४ औं मिनटमा विवेक चौधरीले अग्रता लिए । वागमतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डि एरिया बाहिरैबाट गोल पोष्टको दिशा दिएका थिए ।

१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनटमा विवेक चौधरीको क्रसबललाई कृपाले गोलमा परिणत गरे । खेल अवधिभर नै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो । खेलको ८४ औं मिनटमा विवेकले व्यक्तिगत दोश्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।

बी डिभीजन क्लब बीरगञ्ज सामु निरहि देखिएको बागमतीले खेलमा सम्झनलायक अवसर बनाउन सकेन । यद्यपी बागमतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगञ्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए ।खेलको आठौं मिनटमा कृपा चौधरीको उत्कृष्ट प्रहार वागमतीका गोलरक्षकले विफल पारेका थिए । २६ औं मिनटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा वागमतीका गोलरक्षक गच्छदारले उत्कृष्ट बचाउ गरे ।

खेलको ३४ औं मिनटमा कृपा चौधरीको प्रहार वागमतीका आफ्रिकी डिफेण्डर मौसाले गोल लाइनबाट क्लिएर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा वीरगञ्जका कृपाको प्रहार विफल भयो । त्यस लगतै खेलको ३८ औं मिनटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डिबक्स भित्रबाट गरेको सशक्त प्रहार वागमतीका गोल रक्षकले विफल पारेका थिए ।

वीरगञ्जको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद र ट्रफि हात पारे । प्रतियोगिताअन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शनिबार केविए ग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ विच प्रतिष्पर्धा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै
क्वाटरफाइनलमा स्थान बनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*