हेटौंडाले जित्यो अन्तरपालिका फुटबलको उपाधि

साझाकुरा
२०७९ चैत्र १२, आईतवार १२:२२

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले दोस्रो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता–२०७९ को उपाधि हात पारेको छ । हेटौंडा–५, स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा हेटौंडाले मकवानपुरगढी गाउँपालिकालाई ४–० को गोलअन्तरले पराजित गरेको हो । खेलमा मकवानपुरगढीविरुद्ध हेटौंडा हाबी देखिन्थ्यो । हेटौंडाको जीतमा विनोद घलान, लक्ष्मण विडारी, सामेल सुनुवार र प्रितम स्याङ्बोले एक–एक गोल गरेका छन् । प्रतियोगिताको पहिलो संस्करणमा उपविजेतामा सीमित रहेको हेटौंडाले दोस्रो
संस्करणमा उपाधि जित्न सफल भयो । हेटौंडाले नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता मकवानपुरगढीले एकलाख रुपैयाँ पाएको छ । विधागततर्फको पुरस्कारमा हेटौंडाका खेलाडीको वर्चश्व रह्यो । हेटौंडाका गोलरक्षक गोपी बर्तौला, डिफेन्डर धिरन भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवार्ड विनोद लामा तथा प्रशिक्षक विजयलाल श्रेष्ठ उत्कृष्ट घोषित भए । विधागतरुपमा उत्कृष्टले नगद ५ हजार, सर्वोत्कृष्ट खेलाडीले दशहजार रुपैयाँ प्राप्त गरेका छन् । हेटौंडाकै मिडफिल्डर सामेल सुनुवार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनी फाइनल खेलको म्यान अफ दी म्याच पनि चुनिए ।

जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्लाका दशवटै पालिकाको टोली सहभागी थिए । प्रतियोगिताको पहिलो संस्करण थाहा नगरपालिकाले जितेको थियो । जारी संस्करणमा भने थाहा नगरपालिका क्वाटरफाइनलबाटै बाहिरियो । प्रतियोगिताको समापन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशलाई खेलकुदमा अब्बल बनाउने कार्य सरकारले गरिरहेको बताए ।

समापन समारोहमा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँ, प्रदेश सांसद लक्ष्मी श्रेष्ठ, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाअध्यक्ष सविन न्यौपाने, वडाअध्यक्ष सुकराम केसी,मकवानपुरगढीका वडाअध्यक्षहरु भागवत घिमिरे, बखानसिं पाख्रिन लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*