मकवानपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

साझाकुरा
२०७९ चैत्र १२, आईतवार १२:२४

हेटौंडा-सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपमा जीत निकाल्दै मकवानपुर–११ सेमिफाइनल पुगेको छ ।शनिवार साँझ भएको क्वाटरफाइनल खेलमा मकवानपुरले भरतपुर युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराएको हो । मकवानपुर र भरतपुरले निर्धारित समयमा ३–३ गोल बराबरी खेलेका थिए । खेलमा मकवानपुरका लागि मनिष पौडेल, सुजन गुरुङ र मनोज घलानले गोल गरेका हुन् । पेनाल्टी सुटआउटमा मनिष पौडेल, सुजन गुरुङ, सञ्जिव अर्याल र सुदीप श्रेष्ठले गोल गर्दै मकवानपुरलाई गोल्डकपको सेमिफाइनलमा पु¥याएका हुन् । मकवानपुरले सिमरा गोल्डकपमा शनिवार पहिलो खेल खेलेको थियो ।

मकवानपुर–११ को टिम शुक्रबार मात्रै तयार पारिएको हो । हेटौंडामा भएको अन्तरपालिका फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरी गोल्डकप खेल्न लगिएको थियो । मकवानपुर–११ मा खेलाडीहरु रेनजे· थिङ, विक्रम नेगी, पाल्देन लामा, संजीव अर्याल, सुदीप सापकोटा, मनिष पौडेल, अविनाश खड्का, राजन गोले, सुन गुरुङ, नवराज घलान, अभिषेक भ्लोन, छेवा· लामा, सुदीप श्रेष्ठ, सरोज राई, अमित भ्लोन र आकाशबहादुर राना छनोट भएका थिए । टिमको प्रशिक्षकमा क्षेत्री र व्यवस्थापकमा अतुल बर्मा रहेका छन् । मकवानपुर–११ को प्रशिक्षणमा विजयलाल श्रेष्ठ र सुबिन घिमिरेले पनि सहयोग गर्ने भएका छन् ।

यसअघि हेटौंडाका क्लबहरुको प्रतिनिधित्व हुने गरेकोमा यसवर्षको सिमरा गोल्डकपमा जिल्लाको टिमले प्रतिस्पर्धा गरेको हो । चैत्र १८ गतेसम्म संचालन हुने प्रतियोगितामा ए डिभिजन पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर–११, बागमती युवा क्लब, भरतपुर फुटबल क्लब र आयोजक सहभागी छन् ।

एनआरटी प्रतियोगिताको साविक विजेता र एपीएफ उपविजेता हो । जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले नगद १५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*