अन्जन सुरक्षा मास्क लगाएर प्रशिक्षणमा

साझाकुरा
२०७९ चैत्र १२, आईतवार १२:३५

हेटौंडा- हेटौंडेली स्टार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट अनुहारमा सुरक्षा मास्क लगाएर प्रशिक्षणमा फर्किएका छन् ।सहिद स्मारक ए डिभिजन लिगका दौरान चर्च ब्वाइज युनाइटेडका लागि खेल्दा चोट बोकेका अन्जनलाई प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लाओसविरुद्ध खेल विश्राम दिइएको थियो । लिगअन्तर्गत एन्फा कम्प्लेक्समा संकटाविरुद्ध भएको चौथो खेलमा उनको अनुहारमा चोट लागेको थियो । त्यसपछि उनले च्यासल मैदानमा पाँचौ खेलमा मच्छिन्द्रविरुद्ध खेलेनन् । चोटका कारण अन्तिम खेल गुमाएपछि त्यसबेला चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले अन्जन ६ सातासम्म विश्राम लिनुपर्ने बताएका थिए । तर, राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले उनलाई टोलीमा समेटेका थिए ।

लाओसविरुद्ध खेलको अघिल्लो दिन भिन्सेन्जोले अन्जन फिट रहेको र लाओसविरुद्ध खेल्ने सम्भावना रहेको बताएका थिए । तर, लाओस विरुद्ध अन्जनले खेलेनन् । खेलपछि भने अनेसेले अन्जनलाई खेलाउन हतार नगर्ने बताएका थिए । अन्जन यसै महिना मात्र भारतबाट फर्केका हुन् । आइ लिगमा केन्क्रे एफसीका लागि खेलेका उनले चर्च ब्वाइजसँग अनुबन्धन गरेका थिए । अन्जनले ए डिभिजन लिगमा एक खेल मात्र खेलेका छन् । उनले शनिबार पूर्ण प्रशिक्षणमा सामेल भए । अनुहारमा लागेको चोटबाट बच्न अन्जनले सुरक्षा मास्क लगाएका हुन् । नेपालले थ्री नेसन्स कप अन्तर्गत मंगलबार भुटानको सामना गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*