बर्तौलाले नियमापत्ति जनाएपछि खड्काले मागे माफी

साझाकुरा
२०७९ चैत्र १३, सोमबार १२:०२

हेटौंडा- मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले सचेतक महेशकुमार बर्तौलाले नियमापत्ति जनाएपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् ।खड्काले प्रतिनिधिसभा नियमावली आफूले उल्लघंन गरेको स्वीकार गर्दै सदनमा माफी मागेका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिएपनि सत्तापक्षका माननीयबाट त्यसको उल्लंघन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएका थिए । लगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन् ।

बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको भन्दै नियमापत्ति जनाए । ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलिका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटकपटक मर्यादा विपरीत काम भइरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन । पटकपटक यो संसदको गरिमा र महत्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरुबाट यस प्रकारको काम भइरहेको छ । सत्तापक्षका माननीयज्यूहरुबाट यस प्रकारको काम भइरहेको छ ।,’

सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराएका थिए । सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भने, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नुभए अनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उल्लघंन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।,’ प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नहुने उल्लेख गरिएको छ । हेर्दा सानो तर अर्थपूर्ण कमजोरीलाई बाहिर ल्याएकोमा बर्तौला र खड्काले आफूले गरेको कमजोरीमा राजनीतिक नैतिकता देखाउँदै क्षमा मागेको भन्दै दुवैको प्रशंसा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*