नैतिकता हराएको समाज

साझाकुरा
२०७९ चैत्र १३, सोमबार १२:०३

पछिल्ला दिनमा हाम्रो समाजमा नैतिकता हराउँदै गएको छ । एकआपसमा सहयोगको भावना हराउँदै गएको छ । सामाजिक संजालले संसार एकैठाउँमा जोडेको छ तर, आमुन्नेसामुन्ने भएकाहरुबीच भने बोलचालै हुन छोडेको छ । प्रेम सम्बन्ध पनि स्वार्थप्रेरीत बन्दै गएको छ । समाज बिचलनको बाटेमा अगाडि बढेको छ । यो सबै हुनुको पछाडिको प्रमुख कारण भनेको हामीले आर्जन गरेको शिक्षा नै हो । हामी कस्तो खालको शिक्षा आर्जन गर्दैछौं ? विद्यालय तहमा पढाइने नैतिक शिक्षा हटाएकै कारण समाज अराजक बन्दै गएको हो भन्ने कुरामा राजनीतिक दलहरु पनि सहमत हुन थालेका छन् । बिगतमा तिनै दलका नेताहरुले नैतिक शिक्षा हटाउने निर्णय गरेका थिए ।

नेपाली कांग्रेसका उपसभापति एवं संघीय सांसद धनराज गुरुङले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदा मुलुक भ्रष्टाचारतिर गएको दावी गरेका छन् । नैतिकवान मानिसहरुको कमी भएकोतर्फ संकेत गर्दै उनले नेताहरुले पाठ्यक्रमबाट नैतिक शिक्षा झिकेर थन्काइदिए पछि यति धेरै भ्रष्टाचार हुन थालेको बताएका छन् । नैतिक शिक्षाको अभावले भ्रष्टाचार मौलाएको उनको दाबी थियो । नेता गुरुङले स्थानीय तहबाटै अध्ययन अध्यापनमा सुधार ल्याउन सकेमात्र देशको शैक्षिक सुधार हुने बताएका छन् । हेटौंडामा शनिवारबाट सुरु भएको नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले पाठ्यक्रमबाट नैतिक शिक्षा दिनुपर्ने बताउँदै यहाँ नेताहरुमा नैतिकता हराइसकेको बताए । शिक्षक भनेको गुरु हो ।

मातापिता पछि गुरुलाई त्यही दर्जा दिइन्छ । तर, त्यही गुरुलाई झापड हान्न तयार हुने चेलाले समाजलाई कस्तो ब्यवहार गर्ला ? नेपालमा शिक्षा क्षेत्र लथालिङ्ग भएको छ । राजनीति गर्नेहरुलाई गुणस्तरीय शिक्षा चाहिएको छैन । अधिकांश नेताका छोराछोरी विदेशमा पढाएका छन् । हाम्रो समाज बिचित्रको छ । छोराछोरी संस्थागत विद्यालयमा पढाउनेले सामुदायिक विद्यालयमा राजनीति गरिरहेको हुन्छ । पुस्ता निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिक रहन्छ । सामुदायीक विद्यालयमा राजनीति नगर्ने हो भने राम्रो पढाई हुन्थ्यो ।

पछिल्लो समयमा शिक्षा क्षेत्रमा देखिएको अराजकताका कारण अहिले शिक्षकले शीर उठाएर हिड्न सक्ने अवस्था छैन । शिक्षा क्षेत्रमा तीन थरीमा मानिसहरु छन् । एकाथरीका गरी खाने छन् । अर्कोथरीका ठगी खाने छन् र तेस्रो थरीका बिगारी खाने छन् । यो सबै राजनीतिक दलले सिकाएका हुन् । राजनीति सङ्लो हुने हो भने सबै क्षेत्रमा सुधार हुन्छ । तर, राजनीतिक क्षेत्र नै धमिलो भएपछि कस्लाई दोष दिने ? हाम्रो समाजबाट नैतिकता हराउँदै गएकोमा बिषयमा बहस गरौं ।

यसमा तपाइको मत

Your email address will not be published.


*